![LP Joshi-Laxmi Prasad Joshi](https://musickhabar.com/wp-content/uploads/Lp-josi-150x150.jpg)
काठमाडौं । सविधानसभाको चुनाव होस, संविधान बनोस, सबै नेपाली चलचित्र सफल होउन् भन्दै चलचित्र ‘राहदानी’ युनिटले बिहिबार काठमाडौंको कलंकी हलमा देउसी खेलेको छ । तिहारको प्रसंग समेटिएको सो चलचित्रको एउटा मारुनी गीतको सार्वजनिक कार्यक्रममा देउसी खेलेर तिहारको स्वागत गरिएको हो । कार्यक्रममा चलचित्रका तीनै नायिकाले देउसेभैलो भट्टाएका थिए । डा. गोबिन्द कुसुमको रचना÷संगीत र निशा देसारको स्वर रहेको सो गीतको भिडियो कार्यक्रममा सार्वजनिक गरिएको थियो । मुलुक जोगाउन संस्कृति जोगाउनु आवश्यक भएको बताउँदै राहदानीको सल्लाहकार एवं गीतकार कुसुमले तिहारको देउसी भैलोसँगै राहदानीमा मारुनी गीत राखिएको बताए ।
सञ्चारकर्मी डब्बु क्षत्रीको निर्देशन रहको यो चलचित्र २७ चैतबाट देशभर प्रदर्शन हुँदैछ । बैदेशिक रोजगारीमा जाने नेपाली युवाको पीडालाई मुख्य विषयवस्तुका रुपमा प्रस्तुत ‘राहधानी’ मा तीनओटा गीतमध्ये एक मारुनी रहेको छ । पूर्वी नेपालमा प्रचलित यो मारुनी कालजायी गीत बनेको पनि बताइएको छ । मारुनी गाउने चाहना बिगतमै भएपनि चलचित्र राहदानीबाट आफ्नो चाहना पुरा भएको गायिका निशा देसारले बताइन् ।
चलचित्रको प्रस्तुतकर्ता लक्ष्मीप्रसाद ढकालले कार्यक्रममा निर्माण कार्य कात्तिकमै पुरा हुने भएपनि मंसिरबाटै विभिन्न ठाउँमा च्यारिटीको रुपमा बिशेष प्रदर्शन कार्य सुरु गरिने जानकारी गराए । बैदेशिक रोजगारीको विषय रहेको यो चलचित्रको मलेसियाको विभिन्न स्थानमा छायांकन गरिएको छ । त्यसैले चलचित्रको प्रथम च्यारिटी पनि मलेसियामै गर्ने निर्देशक डब्बुले बताए । चलचित्र पत्रकार संघका अध्यक्ष बिदूर गिरीले लामो समयदेखि रंग पत्रकारिता गर्दै आएका डब्बु क्षत्रीले सोही अनुभवलाई संगालेर पक्कै राम्रो चलचित्र बनाएको हुनुपर्ने धारणा राखे । अर्का पत्रकार शान्तिप्रियले सञ्चारकर्मीले बनाएको राहदानीले दर्शकलाई न्याय गर्ने विश्वास आफुले लिएको बताए । दयाहाङ राई, अशोक रिजाल, नविन लम्साल, रुपा खनाल, बिनिता घिमिरे, सृजना सुब्बा, दिनेश दुलाल, मोनिका दाहाल, अस्मिता बस्नेत, विधा कार्की, तेन्जिङ शेर्पा, विकाश जोसी, अयुस्मा श्रेष्ठ, शैलेन्द्र बस्नेत सहितको अभिनय रहेको राहदानीको छायाँकार रामशरण उप्रेती र नृत्य निर्देशक राजु शाह हुन् ।