• रिमाल, मुनाल, ढुङ्गाना, सापकोटा र अधिकारीलाई प्रस्तोताको सम्मान

    म्यूजिक खबर
    प्रकाशित: २१ भाद्र २०७४, बुधबार

    २१ भाद्र २०७४, काठमाडौं । प्रस्तोता समाजले एक कार्यक्रमको आयोजना गर्दै चार जना स्रष्टा र एकजना पत्रकारलाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा रेडियो नेपालका प्रथम गायक हरि प्रसाद रिमाल, अर्का गायक बासुदेव मुनाल, गायक तथा संकलक कृष्णसुधा ढुङ्गाना र गायक तथा संकलक मच्छेस्वर सापकोटा रहेका छन् । उनिहरुलाई नगद १० हजार सहित सम्मान गरिएको हो ।
    त्यसैगरी नेपाली संगीतको श्रीवृद्धिका निम्ति पत्रकारिताको माध्यमबाट गीत संगीतको प्रबद्र्धन, स्रष्टा अधिकार र रोयल्टीका बिषयमा कलम चलाए बापत पत्रकार एवं गीतकार लोकराज अधिकारीलाई पनि सम्मान गरिएको थियो ।


    सोही अवसरमा क्यान्सर पीडित मुनाललाई उपचारका लागि कार्यक्रममा उपस्थिति स्रष्टाहरुले सहयोग हस्तान्तरण गरेका थिए । क्यान्सर बाट पीडित भै उपचार गराइरहेका अग्रज स्रष्टा बासुदेब मुनाल छोराको सहयोगमा ढिलो गरि कार्यक्रममा आएका थिए । प्रस्तोता समाजको सम्मान र सहयोग पछि उनको उपचार सहयोगका लागि संगीतकर्मी कल्याणकारी कोषका तर्फबाट ११ हजार रुपैयाँ सहयोग गरिएको छ । कोषका अध्यक्ष समेत रहेका संगीतकार संघका अध्यक्ष लक्ष्मण शेषले सहयोग रकम हस्तान्तरण गरेका थिए । त्यसैगरी गायिका अन्जु पन्तले १० हजार, गायिका मञ्जु पौडेलले १० हजार, गायक एड्रियन प्रधानले कार्यक्रममा बुझेको रोयल्टी ६ हजार मुनालको उपचार सहयोगका लागि हस्तान्तरण गरे ।


    त्यसैगरी कलाकार एवं छक्का पञ्जा निर्देशक दिपाश्री निरौलाले बुझेको रोयल्टी सबै सहयोगको घोषणा गरेकी छन् । उनले प्रस्तोता समाज मार्फत सो रकम मुलाललाई हस्तान्तरण गर्ने छिन् । त्यसैगरी अधिबक्ता एबं प्रतिलिपी अधिकार संरक्षण मञ्चका महासचिव परशुराम कोइरालाले २१ हजार रुपैयाँ मुनालको उपचारका लागि सहयोग गर्ने घोषणा गरेका छन् ।

    प्रस्तोता समाज नेपालका अध्यक्ष तुलसी पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गीत संगीतको सार्वजनिक प्रयोग बापतको रोयल्टी अनिवार्य रुपमा प्रयोगकर्ताले सर्जकलाई तिर्नै पर्ने बताए । यसका लागि ऐन कानुन बनेको भए पनि केहि नीति नियम अझै बनाउनु पर्ने भएकाले सरकार र मन्त्रालय त्यसतर्फ सकारात्मक रुपमा लागि परेको बताए ।


    उनले संगठित क्षेत्रलाई रोयल्टीको दायरामा सजिलै ल्याउन सकिने तर असंगठित क्षेत्रलाई अलिक समय लाग्ने भएकाले तीन वटै सिएमओ एकजुट भएर अगाडी आउन सुझाव दिए । उनले नेपाल बाहिरको अभ्यास आफूले देखेको बताउँदै नेपालमा पनि सर्जकहरुले मनग्य रोयल्टी पाउँछन् भन्ने प्रणाली स्थापीत भै छाडने बिश्वास ब्यक्त गरे ।


    कार्यक्रममा प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार राजेन्द्र सिग्देल, प्रस्तोता समाज नेपालका निवर्तमान अध्यक्ष हेमन्त शर्मा, संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष, संगीत उत्पादक समाज नेपालका अध्यक्ष निर्मल ढकाल लगायतले शुभकामना मन्तब्य राख्दै नेपालमा अब प्रतीलिपी अधिकार र रोयल्टीको बिषय लगभग टुङ्गोमा पुग्न लागेको भन्दै सृजनाबाटै देश समृद्ध हुने र स्रष्टा धनी दिन अब नजिक रहेको बताएका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु