• रेप्चोङको आधा सास फेरिरह“े

    म्यूजिक खबर
    प्रकाशित: १० आश्विन २०७०, बिहीबार

    गीतकार राम रेप्चोङको पहिलो गीतिसंग्रह ‘आधा सास फेरिरहेँ’ राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि गीतकार श्रीपुरुष ढकाल, विशिष्ट अतिथि संगीतकार मणिकमल क्षेत्री, संगति रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, संगीतकार सन्तोष श्रेष्ठ, म्यूजिक खबर डटकमका अध्यक्ष सुमन बैरागी, संगीतकार अविद, संगीतकार पविधन खालिङ एवं गीतकार भावेश भुमरी लगायतको हातबाट संयुक्त रुपमा सार्वजनिक गरिएको हो ।
    विगत केही समयदेखि वैदेशिक रोजगारीमा मलेसियामा कार्यरत रहेका राम रेप्चोङद्वारा लिखित गीतहरुको संग्रह आधा सास फेरिरहेँमा राम रेप्चोङकै विगतदेखि वर्तमासम्मका उतारचढावहरुलाई समावेश गरिएको छ । धनकुटादेखि भोजपुरे चौतारोसम्मको भारी विसाउँदा होस् या बाबुआमा गुमाउँदाको पीडा होस् उनले कार्यक्रममा सबै यथार्थता व्यक्त गरेका थिए । सानै छँदा बाबुआमा गुमाएर हजुरआमाले हुर्काएको कुरा रेप्चोङले कार्यक्रममा व्यक्त गर्दै भनेका थिए – ‘गोठाले जिन्दगीदेखि वैदेशिक रोजगारीसम्मका उतारचढावले मलाई गीतकार बनाएको हो ।’ गीतकार रेप्चोङले प्रवासमा रहँदा आधा सास फेरेको अनुभूति भइरहने हुँदा मेरा गीतहरुले पनि नेपाली संगीत क्षेत्रमा पाइला टेक्दै गरेको बताए ।
    कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा संगीतकार सन्तोष श्रेष्ठले एउटा गीतकारलाई सहयोग गरी संगीत उद्योगमा स्थापित गर्ने काम भएकोमा एल्बम उत्पादक कम्पनी एवं गीतकार भावेश भुमरीलाई धन्यवाद दिएका थिए । उनले प्रवासमा रहँदाको अवस्था आधा सास फेरेकै अवस्था हुने बताउँदै गीतकारको पहिलो प्रयासले सफलता पाओस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।
    त्यस्तै कार्यक्रममा गीतकार भावेश भुमरीले फेसबुकका माध्यमले गर्दा आफ्नो नजिकको भाइ बन्न पुगेका राम रेप्चोङको जिन्दगीको उतारचढावसँगै गीतहरु पनि बहकिएको बताएका थिए । भुमरीले गीतकार रेप्चोङमा प्रतिभा देखेर नै उनलाई एल्बम निकाल्न सहयोग गरेको बताए ।
    कार्यक्रममा संगीतकार सुरेश अधिकारीले पछिल्लो समयमा गीतसंगीतको बजार खस्किरहेको भए पनि नयाँ स्रष्टाहरु भित्रिने क्रम जारी रहेकै कारण संगीत उद्योग धानिइरहेको बताएका थिए । अधिकारीले अब सञ्चारउद्यमीसँग रोयल्टी माग गर्दै स्रष्टाको हकअधिकारका लागि अघि बढ्ने बताएका थिए । त्यस्तै वरिष्ठ गीतकार श्रीपुरुष ढकालले गीतकार राम रेप्चोङलाई शुभकामना दिँदै उनीहरु जस्ता स्रष्टालाई उत्साह दिँदै अघि बढ्नु हाम्रो कर्तव्य भएको बताएका थिए । संगीतकार मणिकमल क्षेत्रीले भावेश भुमरी आफैं गीतकार भएर पनि अरुलाई माथि ल्याउनका लागि तल्लिन हुनुभएकोमा खुशी व्यक्त गर्दै राम रेप्चोङका शब्दहरुले बजारमा स्थान पाउने बताएका थिए । त्यस्तै कार्यक्रममा म्यूजिक खबर डटकमका अध्यक्ष एवं गीतकार सुमन बैरागीले गीतकार राम रेप्चोङलाई सांगीतिक भविश्य उज्ज्वल बनोस् भन्ने शुभकामना दिँदै प्रवासमा रहने सम्पूर्ण नेपालीहरुको साहित्यिक मन यसरी नै प्रकाशनमा आउनुपर्ने बताएका थिए । उनले गीतकार राम रेप्चोङको मलेसियामा रहँदाको पीडामा धेरै साहित्य सिर्जना भएको बताउँदै निरन्तरता दिँदै अगाडि बढ्न सबैले हौसला दिनुपर्ने बताएका थिए । म्यूजिक खबर डटकम र सुरप्रभा गीतसंगीतको व्यवस्थापनमा भएको यस कार्यक्रममा संगीतकार अविदले एल्बमको संगीतकारको तर्फबाट स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रम सञ्चारकर्मी प्रदीप निरौलाले संचालन गरेका थिए ।
    एल्बममा संगीतकार अविद, सुरेश अधिकारी, सन्तोष श्रेष्ठ, पविधन खालिङ, कर्मग्याल्छेन बमजनको संगीत रहेको छ भने स्वरुपराज आचार्य, मिलन अमात्य, कर्मग्याल्छेन बमजन, कृष्णभक्त राई, दीपक लिम्बू र मनोजराजको स्वर समावेश गरिएको छ । आधा सास फेरिरहेँ एल्बमलाई सुरप्रभा गीतसंगीत प्रालिले बजार प्रबद्र्धन गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु