जेष्ठ १८, काठमाडौं । साहित्यकार एवं संचारकर्मी डा.नवराज लम्सालले शान्तिप्रिय बजारमा आएका गीतकार भन्दा फरक धार अर्थात् तेश्रोधारलाई प्रतिनिधित्व गर्दै आएको गीतकार भएको बताए । पत्रकार एवं गीतकार शान्तिप्रियको गीतिसंग्रह ‘अधर’ को विमोचन समारोहमा बोल्दै डा.लम्सालले शान्तिप्रियका गीतहरुले तेश्रोधारको प्रतिनिधित्व गरेका बताएका थिए । कसैको मायामा सिधै आफ्ना भावनाहरु प्रस्तुत नगरीकन तेश्रोधारबाट आफूलाई प्रस्तुत गरेकाले गीतहरुको सिरियल हेर्दा एउटा चलचित्र नै निर्माण भएजस्तो आफूले पाएको महसुस गरेको डा.लम्सालले बताए ।
आफ्नो जन्मदिनको अवसर पारेर आयोजना गरिएको अधर विमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि संगीतरत्न शम्भुजित बास्कोटाले शान्तिप्रियसँगको संगतले २५ औं वर्ष पारि गरिसकेको अवस्थामा उहाँ एउटा राम्रो साहित्यकार, पत्रकार, गजलकार हुँदै गीतकारका परिचयले आज बोल्न पाउनु सौभाग्यको कुरा भएको बताएका थिए । बास्कोटाले एल्बम अधरमाथि बोल्दै गीतका शब्दजस्तै म्यूजिक भिडियो, संगीत एवं संगीत संयोजन सबै उत्कृष्ट रहेको बताएका थिए ।
उपस्थिति अतिथिहरुलाई स्वागत गर्दै गीतकार शान्तिप्रियले कृतिको माध्यमबाट पहिलोपटक आए पनि विभिन्न समयमा आफ्ना रचनाहरु प्रकाशनमा आइरहेको बताएका थिए । उनले आफूलाई नजिकबाट माया गर्नेहरुको जमघटमा गीतिएल्बम ‘अधर’ सार्वजनिक गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।
कार्यक्रममा वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाल, लेखक निर्देशक मोहन निरौला लगायतको आतिथ्यता रहेको थियो । चलचित्र निर्माता प्रदीप कुमार उदयको सभापतित्वमा भएको उक्त कार्यक्रम संचारकर्मी एवं गीतकार शान्तिप्रियका मित्र नरेश भट्टराईले संचालन गरेका थिए । कार्यक्रममा अधर एल्बमभित्र समावेश स्रष्टाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने केक काटेर जन्मदिनको अवसरमा शुभकामना आदान प्रदान गरिएको थियो ।
अधर एल्बमभित्र ५ वटा गीतहरु समावेश गरिएको छ । जसमा म त माया गर्ने मान्छे, म त नफापेको मान्छे, मलाई जस्तो, उनको मेरो दूरी चल्यो, याद तिम्रो धेरै आइरह्यो जस्ता गीत समावेश रहेको छ । जसमा सन्तोष श्रेष्ठ, दिपक शर्मा र अर्जुन पोखरेलको संगीत रहेको छ भने प्रमोद खरेल, अन्जना गुरुङ, निखिता थापा, राज सिग्देल र युवराज चौलागाईंले स्वर दिएका छन् । कार्यक्रममा तीन वटा गीतको म्यूजिक भिडियो पनि देखाइएको थियो । जसमा सवनम मुखियाद्वारा निर्देशित म त नफापेको मान्छे, सुव्रत आचार्यद्वारा निर्देशित मलाई जस्तो र निर्मल शर्माद्वारा निर्देशित म त माया गर्ने मान्छेको म्यूजिक भिडियो देखाइएको थियो ।