संगीतकार सन्तोष श्रेष्ठ यतिबेला १६ औ्र एकल संगीतको गीतिसंग्रह लिएर आएका छन् । आफ्नो संगीतको दौरानमा भोगेका तीतामिठा अनुभवभित्र पल्लवीले एउटा नयाँ पाटोलाई समर्पण गरेको अनुभव उनीसँग छ । पल्लवीमा गरिएका संगीतले शास्त्रीय बाटोतर्फ मोडिएको बेला उनका लोकआधुनिक गीतहरुले नेपाली संगीतबजारमा छुट्टै पहिचान बनाएको छ । तर शास्त्रीय संगीत पछिल्लो समयमा कमै मात्रामा बजारमा देखिने हुँदा पल्लवीले शास्त्रीय संगीतलाई पुनरागमन गरेको अनुभूत छ, संगीतकार श्रेष्ठसँग । गीतकार नृपध्वज खड्काको एकल रचनामा तयार भएको पल्लवी विमोचन गरिएसँग उनीसँग म्यूजिकखबरले गरेको कुराकानीः
पल्लवी कस्तो संग्रह हो ?
शास्त्रीय गायनको पुनरागमन हो पल्लवी । लोकसंगीत, आधुनिक संगीतको बाहुल्यता भइरहेको बेलामा शास्त्रीय संगीतमा तयार भएका गीतहरु यसमा समावेश गरिएर बजारमा ल्याउँदा यो शास्त्रीय संगीतको पुनरागमन हो जस्तो लाग्छ ।
लोकसंगीतलाई पृष्ठभूमिमा राखेर आधुनिक संगीतमा लाग्दै गर्दा शास्त्रीयतिर मोडिनुभयो, कस्तो अनुभूति भइरहेको छ ?
यो एक प्रकारको जोखिमपूर्ण यात्राको थालनी हो । तर जोखिमपूर्ण यात्राबाट एउटा गन्तव्यमा पुग्न सकियो भने मात्रै सिर्जनाशीलतामा छुट्टै पहिचान स्थापित हुन्छ । अब फरक धारको संगीततर्फ लागेको हुनाले अनुभूति पनि फरक हुने नै भयो । धेरैजसो लोकआधुनिक संगीतमा आफ्नो पहिचान बनिरहेको अवस्थामा शास्त्रीयमा हात हाल्नु पक्कै पनि चुनौतिपूर्ण पनि छ ।
फरक के रहेछ ?
लोकसंगीत, आधुनिक संगीत गर्दा सधैंभरि हिंडिरहेको बाटोजस्तो, सबैजना हिडिरहेको बाटोजस्तो लाग्थ्यो । शास्त्रीय संगीतमा गीतहरु बनाउँदा मेहनत अलि धेरै गर्नुपर्ने हुन्छ । निश्चित शास्त्रसँग आबद्ध विधा भएको कारण बाँधिएर काम गर्नुपर्छ, खुला रुपमा यसलाई लिन सकिँदैन, त्यसैले पनि यो गरिरहेको कामभन्दा फरक देखिन्छ ।
पल्लवीमा जुन संगीत गर्नुभयो गीतकारले तपाईंको धारमा नै खोज्नुभएको थियो कि शास्त्रीय ?
गीतकार नृपध्वज खड्काले त मेरा अन्य गीत सुनिसक्नुभएको थियो । मेरो सबै लोकआधुनिक गीत सुन्नुभएको हुँदा सकेसम्म फरक हुनुपर्छ भन्नुभएको थियो । उहाँको मनसाय शास्त्रीयतर्फ नै देखेको हुनाले मैले पनि शास्त्रीयलाई प्रयोग गर्ने मौका पाएको हुँ । उहाँले विश्वास गर्नुभयो मैले शास्त्रीय प्रयोग गर्न सफल भएँ ।
एल्बम निर्माणको क्रममा गीतकार नृपध्वज खड्का कस्तो खालको गीतकार रुपमा लिनुभयो ?
गीतकार नृपध्वज खड्कालाई एउटा फरक गीतकारको रुपमा बुझ्ने मौका पाएँ । साहित्यको सबैभन्दा सरल तर गहन विषय नै गीत हो भन्ने कुरालाई अति गहिरिएर बुझेको गीतकार लिएको छु । विभिन्न विषयहरुमा निश्चित समयमा साँच्चिकै गीतजस्ता गीतहरु लेख्न सक्ने गीतकारका रुपमा बुझेको छु ।
१६ वटा एकल संगीतका एल्बम र करिब ५ सयको हाराहारीमा संगीत गरिसक्दा मन परेको संगीत कुनमा गरेजस्तो लाग्छ ?
संगीतकार भनेर विश्वास गरिएको पहिलो संगीतको गीत आउँछु भनी निष्ठुरीले हो । डिजिटल माध्यममा चर्चाको हिसाबले तिम्ले पराई ठानेपछिलाई नै लिन्छु । साँच्चिकै मेहनत गरेका हिसाबले र फरक प्रयोगका हिसाबले पल्लवीलाई नै लिएको छु । तर यो अर्थ नलागोस् कि अन्य संगीत नराम्रा बनाएको छैन ।
संगीतमा नै भुलिरहँदा कुनै गल्ती गरेकी जस्तो अनुभव कहिल्यै लाग्दैन ?
आफू हिंडिरहेको बाटो गलत छ जस्तो लाग्दैन । अब संगीत शरीरको मुटु र फोक्सो जस्तो भइसक्यो, जुन रोकिएको भने जीवनको कल्पना गनै सकिँदैन ।
संगीतको दौरानमा पारिवारिक पृष्ठभूमिभित्र आफ्नो भूमिका अधुरो भइरहेको छ कि भन्ने महसुस हुन्छ की ?
यो अवश्य पनि अधुरोजस्तै लाग्छ । संगीतका विभिन्न विधाहरु गीत लेखन, संगीत, गायन, संगीत संयोजन, सम्पादनमा सबैभन्दा बढी व्यस्त हुनुपर्ने विधा नै संगीत हो । किनभने गीतकारले जुन गीत लेख्छ त्यसलाई संगीत गर्नुप¥यो, गीत सुन्न जानुप¥यो, बाध्यवादन, रेकर्डिङ, मिक्सिङमा बस्नुपर्छ । सबैभन्दा बढी जिम्मेवारी संगीतकारको हुने हुँदा बढी व्यस्तताको कारणले परिवारलाई समय दिन नसकेको हो कि भन्ने अनुभूति बेलाबखत भइरहेको हुन्छ ।
जीवनको उद्देश्यमा पुगेको जस्तो लागेको छ त ?
उद्देश्यमा पुगीसकेको जस्तो मलाई लाग्दैन । किनभने जीवनको महत्वपूर्ण उद्देश्य भनेकै जसले संगीतका माध्यमबाट विश्वव्यापी चर्चा कमाएका छन् ती महान् साधकहरुसँग सांगीतिक सहकार्य गर्न पाइयोस् भन्ने चाहना हो । त्यो पूर्ण हुन सकेकै छैन । आफ्नो संगीतका माध्यमबाट नयाँ पुस्ता पनि माथि उठाउन सकियोस् भन्ने चाहना हो त्यो पनि हुन सकेको छैन ।
संगीतमा लागेर घर जोड्ने र घर छोड्ने अवस्था देखिन्छ, तपाईं कहाँनेर हुनुहुन्छ ?
संगीतमै लागेर आफ्नै कमाइले घर जोड्न सकिएको छैन । बरु संगीतमा लाग्ने मोहले घर छोडेर हिंडेको अवस्था हो । संगीतप्रतिको झुकावले बुबाआमालाई गाउँमा छोडेर काठमाडौंमा संघर्ष गर्नुपर्दा कहिलेकाहीँ पीडाको अनुभूति हुन्छ ।
प्रस्तुतिः सुमन बैरागी