• संख्यात्मक भन्दा गूणात्मक काम गर्न चाहन्छु : एन्जिला

    म्यूजिक खबर
    प्रकाशित: १२ आश्विन २०७२, मंगलवार

    सविता पोखरेल


    उमेरले भर्खर १७ औं बसन्त पार गरेकी सुन्दरी अनि मिठो स्वरकी धनी  हुन् गायिका एन्जिला रेग्मी । केहि समयअघि सम्पन्न म्यूजिक खबर म्यूजिक अवार्ड २०१५ मा ‘सर्वोत्कृष्ट पप गायन महिला’ को अवार्ड चुम्न सफल उनै गायिका रेग्मीको अहिले लोकप्रियता सँगसँगै कामको व्यस्तता पनि बढ्दै छ । बुबा हरि रेग्मी र आमा लक्ष्मी रेग्मीको कोखबाट पहिलो सन्तानको रुपमा नवलपरासी जिल्लाको परासी गाउँमा जन्मिएर उनले रुपन्देहीको बुटवलमा आफ्नो बालापन बिताइन् । एन्जिलाले २०६७ सालमा जिल्लामा भएको गायन प्रतिस्पर्धामा ‘बुटवल आइडल’को उपाधिसमेत जितेकी थिइन् । आफ्नो सानो उमेर त्यो पनि छोटो समयमा पाएको यस्तो सफलतालाई आमा बुबाको योगदान बताउँने एन्जिला भन्छिन् – ‘त्यसो त म आफ्नो मिहेनतले मात्र कहाँ यो स्थानमा आउँथे होला ! ममी र ड्याडीको साथ, सहयोग र मार्गनिर्देशन बिना त म अपूर्ण हुनेछु ।’

    दश वर्षकै कलिलो उमेरमै आफ्नो प्रतिभाले ‘बुटवल आयडल’ बनेर चिनिसकेकी एन्जिलाले १० वर्षकै उमेरमा पहिलो एल्बम समिश्रण निकालेकी थिइन् । संगीत क्षेत्रमा अन्जु पन्त र इन्दिरा जोशीलाई आफ्नो ड्रिमगर्ल मान्ने एन्जिला भन्छिन्– ‘म लोकप्रिय गायिकाको ट्याग लिन चाहन्छु अनि श्रोता दर्शकलाई मेरो स्वरको जादु दिएर सफल हुन चाहन्छु ।’ उनी थप्छिन् ‘म अन्जु पन्त बन्न चाहन्छु कि त इन्दिरा जोशी जस्तै बनेरै छाड्छु ।’ उनले यी व्यस्त र लोकप्रिय दुई गायिकाको नाम लिएपछि एउटा नाम मात्र भन्न आग्रह गर्दा भनिन्–‘इन्दिरा जोशी । सायद भौगोलिक क्षेत्रको प्रभावले पनि होला सबैभन्दा बढी मलाई इन्दिरा दिदी नै मन पर्छ । उसो त उहाँले बुटवल आइडल बन्दा ताका लगाएको गुण र दिएको शिक्षा मैले बिर्सीएकी पनि छैन, एन्जिलाले भनिन् ।

    anjila regmi
    यो क्षेत्रमा महिला कलाकारले त आफूलाई स्थापित गराउन सम्झौता गर्नुपर्छ रे नि ? भन्ने प्रश्न गर्दा उनि भन्छिन्– सुनेको मात्र होइन देखेकी पनि छु । धेरै महिला कलाकारहरुले यो क्षेत्रमा आउन सम्झौता गर्नुभएको छ । सायद उहाँहरुको बाध्यता होला । तर हामी जस्ता इमान्दार कलाकार यस्तो प्रथाबाट प्रताडित छौं ।
    अनि तपाईंलाई यस्ता प्रस्ताव आएनन् ? भनेर सोध्दा उनी भन्छिन् – ‘किन नआउनु, झन् नयाँ कलाकार त्यो नि टिनएजको देखेपछि त आइहाल्छ नि । अहिले त्यस्ता प्रस्ताव आइरहन्छन् । प्रलोभन देखाउँछन् । तर म इमान्दारीतालाई विश्वास गर्छु । अनि सम्झौता गरेर चर्चित होइन काम गरेर लोकप्रिय हुन चाहन्छु । ’

    anjila regmi- paper
    यसरी आफ्नो स्वरको जादुले श्रोता तथा दर्शकमाझ एकदिन १ नं. मा आउने प्रण गरेकी सुमधुर स्वरकी धनी सुन्दरी गायिका रेग्मी उसो त अहिले नै व्यस्त छिन् । उनको सुमधुर स्वर तथा गायन प्रतिको लगनशीलताले अहिले विभिन्न स्थानमा हुने गरेका सांगीतिक समारोहदेखि कलेक्सन एल्बम एवं चलचित्रको गीत गाउनसमेत भ्याइनभ्याइ भएको छ । १० वर्षे कलिलो उमेरदेखि थुप्रै बाल गीत, स्वदेशगान, आधुनिक गीत गाइसकेकी एन्जिला सफल गायिका बन्ने जीवनको लक्ष्य बोकेर हिंडेको बताउँछिन् ।
    २०७१ सालमा आफ्नो ठाउँ र आफ्ना अभिभावकबाट गायिका बन्ने सपना बोकेर काठमाण्डौ भित्रीएकी एन्जिला सांगीतिक अभिभावक संगीतकार रमेशराज भट्टराईलाई मान्छिन् । उनी भन्छिन् –‘उहाँ त मेरो संगीत क्षेत्रको अभिभावक नै हुनुहुन्छ । संगीतका विषयमा हुने हरेक कुराकानीमा मैले रमेशराज भट्टराई सरको नाम लिइन भने मलाई पाप नै लाग्छ ।’
    वर्षौं संगीतलाई समय दिनेहरुको भिडमा पनि आफूले छोटो समयमा एन्जिला भएर चिनिएको उनको जिकिर छ । ‘सुश्री’ चलचित्रको ‘टेम्पोररी माया’ बोलको गीतमा बसन्त सापकोटासँग स्वर दिइसकेकी उनले यो गीतले पनि मलाई भविष्यको ढोका खोलेको बताइन् । बसन्त सरसँग हिजोकी मैले आज काम गर्न पाउनु चानचुने कुरा होइन नि, यो मेरा लागि प्लेटफर्म हो उनले थपिन् ।
    संगीत के हो ? भन्दा ‘संगीतको अनेक परिभाषा छ । तर मेरो लागि संगीत जीवन हो’ भनेर जवाफ दिएकी संगीतकी उदाउँदी तारा एन्जिला दोश्रो एल्बमको तयारीमा छिन् । उनका भिडियोसहितका ३ गीतहरु आज मैले मनको कुरा फुकाएकी छु, मुटुको धड्कन तिमी आँखाकी नानी र पिरतीको गोली बजारमा आइसकेका छन् । दर्शक श्रोताले आफ्नो कला, गलालाई मन पराइदिएकै कारणले ‘म्यूजिक खबर म्यूजिक अवार्ड’ पाएपश्चात धेरै आधुनिक कलेक्सन एल्बम तथा फिल्मको गीतमा स्वर दिनको लागि अफर आइरहेको उनले बताइन् । तर अफर आयो भन्दैमा आफू नहाम्फाल्ने उनले बताईन् । संख्यात्मक काम भन्दा गुणात्मक काम गर्न रुची राख्ने एन्जिला स्तरीय शब्द तथा संगीत भएका गीतमा मात्रै स्वर दिने बताउँछिन् । अहिले बजारमा धेरै गीत संगीत आइरहेका छन् तर कानको विष मार्ने कर्णप्रिय गीतहरु कम छन् । बरु आखाँको विष मार्ने भल्गर गीतहरु बढी छन् । यस्तो वातावरणमा म भने उत्कृष्ट शब्द तथा जीवन्त संगीत भएका गीतमा स्वर दिन चाहन्छु । जुन गीतले मलाई बचाओस्, संगीतलाई बचाओस् र सदाबहार बन्न सकोस् ।
    गीत संगीत मै आफ्नो सम्पूर्ण जीवन समर्पण गर्न चाहने एन्जिला यदि यो क्षेत्रमा बाँच्न नसक्ने स्थिति आएमा अरु कुनै रोजगारीमा लागेर भएपनि संगीत क्षेत्रमा आफ्ना कोशेलीहरु छाड्ने र आफूले सकेकाृे योगदान दिने बताइन् । सास रहुन्जेल संगीत मै सक्रिय रहनेछु भन्छिन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु