संगीतकार प्रल्हाद बोगटी धेरै लामो समयको ग्यापपछि सांगीतिक दुनियाँमा देखा परेका छन् । ५४ सालतिरबाट संगीतमा लागेका प्रल्हाद बोगटी केही समय संगीतकै दुनियाँमा रमाए । काठमाडौंको गोंगबुमा जन्मिएका बोगटीले आफूलाई संगीतकै कर्ममा निरन्तरता दिने उद्देश्य राखेर अघि बढे पनि अन्ततः संगीतलाई केही समय थाती राखेर अन्य पेशातर्फ लागे । दर्जनांै गीतहरुमा संगीत भरिसकेका बोगटीले संगीतलाई केही समय विश्राम दिँदै व्यापारतर्फ लागेपछि उनको सांगीतिक करिअर ओझेल प¥यो । यतिखेर एकल संगीतमा तयार भएको एल्बम प्रभात बजारमा आइसकेपछि उनी भन्छन् – ‘मैले समयलाई चिन्न सकिनछु त्यसैले पछि परेँ ।’
५४ सालतिरबाट संगीतको कखरा सिकेका बोगटीले वेष्टर्न म्यूजिक भने संगीतकार राजु सिंहसँग सिकेका हुन् । संगीत सिक्दै गर्दा उनले काठे तर लोकपप शैलीको एउटा गीत काँडेतारको बार बजारमा ल्याए । जुन गीतले उनलाई संगीतकारको परिचयका रुपमा स्थापित गरेको थियो । त्यसपछि ६–७ वर्ष संगीत शिक्षकका रुपमा समेत स्कुल र विभिन्न संगीत विद्यालयमा काम गरिसकेका प्रल्हादले संगीतलाई निखार्दै अघि बढिरहेका थिए । भोकल, हार्मोनियम र पियानोको मुख्य प्रशिक्षकका रुपमा काम गरिसकेका बोगटीले अन्ततः केही समय संगीतलाई साइडमा राखेर व्यापारतर्फ लागे । उनले व्यापारमा पनि राम्रै उपलब्धी हासिल गरे तर संगीततर्फ भने पछि परेको उनलाई पत्तै भएन । नेचुरल हब्स वल्र्ड प्रालि र क्याराभान सुजले बजारमा राम्रो स्थान पाउन थाले पनि उनले संगीतले स्थान पाउने मौका नै पाएन । तर लामो समयको अन्तरालपछि गीतकार प्रभात सुवेदीको एल्बम ‘प्रभात’मा सोलो संगीत दिइसकेपछि भने उनलाई थाहा भयो ‘म संगीतबाट पछि परिरहेको रहेछु ।’
प्रभात एल्बम सार्वजनिक भइसकेपछि संगीतकार बोगटीलाई सबैतर्फबाट तारिफ मिल्न थालेको छ । संगीतमा उत्कृष्ट मेहनत र परिश्रम आउटपुट पनि उत्कृष्ट भएको सबैतर्फबाट तारिफ मिलेपछि उनी अब भने संगीत क्षेत्र नछाड्ने प्रण गरेका छन् । प्रभात एल्बमको एउटा गीत मिक्सिङ गर्न १३ घन्टासम्म लागेको अनुभव सुनाउँदै बोगटीले भने – ‘मलाई विजनेशले लखेट्यो ।’ अब निरन्तर रुपमा संगीतलाई आत्मसात गर्छु, विजनेश अब सिस्टममा बसिसकेको छ त्यसलाई पनि सँगै लैजान्छु । संगीतकार प्रल्हाद बोगटीले चिरायु फिल्म्सको ब्यानरमा बनेको ‘एक्सन’ चलचित्रमा संगीत दिएका छन् । जुन चलचित्र जेठ १४ मा रिलिज हुँदैछ ।