• १६ वर्षे जवानीमा पूर्ण नेपाली । पूर्ण की अपूर्ण दर्शक दोधार

    म्यूजिक खबर
    प्रकाशित: ७ चैत्र २०७०, शुक्रबार

    काठमाडौं, ७ चैत । गोपाल योञ्जनको समकक्षी बनेर गायन यात्रामा होमिएका गायक पूर्ण नेपाली १६ वर्षे जवानीको स्मरण गराउँदै दर्शकहरुसामु उत्रिए । १६ वर्षे जवानीमा मै पनि झिल्के हुँदो हुँ अहिले पो बुढो भयो र भन्दै नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा झुल्किएपछि उनलाई देखेर धेरैलाई गोपाल योञ्जनको याद गराएको थियो । तर उमेरले डाँडो काट्दै गर्दाको जवानीमा उनको स्वरले भने स्पष्ट आवाज दर्शकस्रोताहरुलाई दिन नसकेको गुनासो धेरै संगीतकर्मीहरुको रह्यो । पूर्ण नेपालीको जति चर्चा र उचाई थियो उनको उमेरसँगै स्वरले उनलाई धोका दियो की त्यहाँको साउन्ड सिस्टमले उनलाई धोका दियो ? त्यो आफैंमा प्रश्न बनेको छ । तर जति उनको उचाइ हो त्यो उचाइमा भने दर्शकस्रोता सन्तुष्ट भएको भने देख्न पाइएन ।
    लोकगायक पूर्ण नेपालीले आफ्नो सांगीतिक यात्रामा गाइएका गीतहरुलाई लिएर एकल साँझमा उत्रिएका हुन् । गायनको करिब चार दशकको यात्रा पार गरिसकेका गायक पूर्ण नेपालीले करिब एक दर्जनभन्दा बढी गीतहरु प्रस्तुत गरेका थिए । संगीतकार एवं एरेन्जर अमूल कार्की ढलीको संयोजनमा रहेको बाद्यवादन समूहले गायक पूर्ण नेपालीलाई साथ दिएको थियो । नेपालीले शान्ति, विश्वासघात, चाहना मेरो, वर होइन पिपल छायाँले, सिताराम, १६ वर्षे जवानीमा, कहिले माया पोखरा, नानी त रैछ हाम्रै दमली, खुट्टामा नेल परे पर्ला, कलिलो तामालाई जस्ता चर्चित गीतहरु प्रस्तुत गरेका थिए । उनले प्राय गीतहरु गोपाल योञ्जनकै शब्द, संयोजन, संगीतमा तयार पारिएको गीत गाएका थिए । उनलाई गायनमा क्षेत्र गुरुङ, रुपक डोटेल, वीमा कुमारी दूरा, निशा देशार, राधिका हमाल लगायतका गायक गायिकाले साथ दिएका थिए ।
    राष्ट्रकवि कविवर माधवप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा भएको उक्त एकल साँझमा गायक पूर्ण नेपालीको स्वरमा सजिएको ‘होसियार नेपाल मेरो घर, नेपाली मेरो थर’ एल्बमको विमोचन गरिएको थियो । कार्यक्रममा संस्कृतिविद सत्यमोहन जोशी, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यलगायतको उपस्थिति रहेको थियो ।

    purna nepalie

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु