गीतभित्रका पाटेबाघ

म्यूजिक खबर
प्रकाशित: १४ मंसिर २०७४, बिहीबार १७:२९

सुमन पण्डित/म्यूजिकखबर



गीतमा देश खोज्ने गीतकार हुन् रमेश अधिकारी । देशभित्र नै आफ्नो परिचय लुकेको भन्दै उनी विश्वसामु कसरी दुर्लभ चिजलाई गीतमार्फत् उजागर गर्न सकिन्छ भनेर तल्लिन भइरहने गीतकारका रुपमा लिनुपर्दा रमेश अधिकारी अगाडि देखिन्छन् । मुलुकभित्रै दुर्लभ हुँदै गएका पाटेबाघ, एकसिंगे गैंडा, रेडपाण्डा, हिमचितुवा जनावरको संरक्षण एवं विश्वसामु चिनाउने उद्देश्यले अधिकारीले गीत कविता लेख्दै आएका छन् । अधिकारी कहिले पुस्तकका माध्यमले विदेशीका सामु आफ्ना सिर्जनाले मुलुक चिनाएका छन् भने कहिले राष्ट्रभक्तिका गीतहरुमार्फत् स्वरबद्ध गरेर नेपाली मनमुटुमा बास बस्न सफल भएका छन् । ठेट तथा नेपाली झर्रा शब्दहरुलाई गीतमा प्रस्तुत गर्नु उनको अर्को परिचय हो । हराउँदै गएको मुलुकको परिचयलाई उनले पुनः गीतमार्फत् उतार्ने प्रयासमा जुटिरहेका छन् । राष्ट्रलाई शिरमा राखेर सदैव गीत लेखनमा अगाडि बढिरहेका अधिकारीले अबको सम्पूर्ण समय लोपोन्मुख जाति, भाषा, वन्यजन्तु जस्ता मुलुकको पहिचानसँग जोड्ने अभियानमा छन् ।

राष्ट्र भन्नु हाम्रो शिर जीवन भन्नु पाउ
शिरै छिने कहाँ पाउँछौं पाउ राख्ने ठाउँ

राष्ट्रमै समर्पित भएर अधिकारीले शास्वत गीत लेख्दै आएका छन् । २०२७ साल फागुन १० मा खाँदबारी नगरपालिका संखुवाभासमा जन्मिएका अधिकारीले सानैदेखि गीतसंगीतलाई रुचिका साथ लिने गर्थे । रेडियोमा बज्ने गीतले उनको ध्यान निकै तान्ने गथ्र्यो भने कविता पढ्नुमा पनि रुचि निकै बढ्ने गरेको थियो । माटो अनुसारको गीत कविता लेख्नु उनको परिचय नै बनिसकेको छ । उनी माया प्रेमका गीत पनि लेख्छन् तर त्यसमा पनि माटोको गन्ध आउने गरेको छ । ०४९ सालमा रेडियो नेपालको बोर्डबाट ८ वटा गीत छानिएपछि उनभित्र गीत लेख्नुपर्ने रहेछ भन्ने उत्साह जागेको हो । त्योबेलासम्म स्वतस्फूर्त गीत लेख्दै आएका उनले ०५६ सालबाट भने व्यवसायिक गीतकारको पंक्तिमा उभिन सफल भएका हुन् । बाडुली एल्बम बजारमा ल्याएर आफ्नो सांगीतिक यात्रालाई विधिवत सुरुवात गरेका हुन् अधिकारीले । २ वटा गीतिपुस्तक र २ वटा कवितासंग्रह प्रकाशित गरिसकेका गीतकार अधिकारीले १३ वटा एकल एल्बम पनि बजारमा ल्याइसकेका छन् ।

को हो ठूलो को हो सानो
खाँचो सबैलाई एक मानो
रिसराग किन राख्नु
पर्छ संसार छोडी जानु
शब्द हेर्दा सरल तर भावको गहिराईमा उनी डुबेका छन् । माथिको प्रस्तुत गीत अधिकारीले पछिल्लो समाजलाई लक्षित गरेका छन् । अहिलेको समाजले जति ठूलो र सानो भनेर रिसराग गरे पनि आखिर नाङ्नै संसार छाडि जानुभन्दा अरु नभएको उनको गीतले प्रस्तुत गरेको छ । आनि छोइङ डोल्माको स्वरमा रहेको उक्त गीतले समाज बोलेको छ ।
त्यसो त अधिकारीका गीतहरु नेपालका चर्चित गायक गायिकाले गाइसकेका छन् । पाटनैको पातलो चिउरा गायक तुलसी पराजुलीको स्वरमा रहेको छ भने गालैको कोठी शिव परियारको स्वरमा रहेको छ । भरत सिटौलाको स्वरमा रहेको कहिले आगो कहिले पानी पनि उत्तिकै चर्चित गीतहरु हुन् ।
राष्ट्र, राष्ट्रियता, देशको प्राकृतिक स्रोत र सम्पदाको प्रचार प्रसार, संरक्षण गर्नमा उनका गीतहरु पनि सिद्धप्राय छन् भने सामाजिक जीवनका विविध पाटोमा सकारात्मक सन्देश फैलाउनु पर्छ भन्ने विषयवस्तुमा उनका गीत र कविताहरु लेखिएका छन् । यसको ज्वलन्त उदाहरणका रुपमा लिनुपर्दा राष्ट्रिय भावना मात्र समेटेर प्रकाशित भएको पुस्तक ‘मेरो देश’ विश्वको सर्वोच्च शिखर सगरमाथाबाट पहिलोपटक सार्वजनिक गरिएको थियो । मेरो देश भन्ने पुस्तक अधिकारीले लेखेको प्रथम कृति हो । उक्त कृतिलाई विश्वमा नै पहिलो पटक संसारको सबैभन्दा उच्च हिमाल सगरमाथाको चुचुरोबाट सार्वजनिक गराइ विश्व कीर्तिमानी रेकर्ड कायम गराएका छन् । यो पुस्तक सँगसँगै . जसमा बालश्रम शोषण विरुद्ध, एड्स विरुद्ध विश्वमा धर्म र द्वन्द्वको नामबाट बालबालिकामा पर्न गएको प्रभाव र शिक्षाको क्षेत्रबाट बञ्चित हुनुपरेको कारुणिक विषयवस्तुलाई गीतमा उठाइएको शान्ति र जीवन ९एभबअभ बलम षिभ ० नामक अडियो सि.डी पनि सगरमाथाको चुचुरोबाट नै सार्वजनिक गरेका थिए । बजारमा मायाप्रेमका गीतहरुले कब्जा गरिरहेको भए पनि समाजलाई बदल्न सक्ने गीत रचना गर्नुमा आफूलाई आनन्द भएको गीतकार अधिकारी बताउँछन् ।
त्यस्तै उनले लेखेको कवितासंग्रह ‘पाटेबाघ’ पनि अंग्रेजी भाषामा अनुवादित भएर विश्वका कुना कुनामा पुगेका छन् । विश्वका दुर्लभ जनावरहरु भनेर सिआइटीइएसले सूचीकृत गरिसकेका पाटेबाघ, हिउँचितुवा, एकसिंगे गैडा, रेडपान्डा, सालक जस्ता लोपोन्मुख जनावरको संरक्षणको लागि साहित्यका माध्यमबाट जनचेतना अभिबृद्धि गर्न उनले कविता, गीत लेख्दै आएका छन् ।

 

डाँफे मुनाल गुराँसका झुप्पामा
मेरो देश छ, संसारकै टुप्पामा
नहुने के छ र ?
संसारकै सुन्दर छ हाम्रो नेपाल

जस्ता सार्थक र जीवन्त सिर्जना गर्ने अधिकारी समाजको कला संस्कृतिलाई सबै नेपालीले आफ्नै पहिचान बनाउनुपर्छ भन्ने हेतुले गीत लेखनमा होमिएका हुन् । त्यस्तै राजु परियार लक्ष्मी न्यौपानेले स्वरबद्ध गरेको डाँफे हिमालमा वा थानेश्वर गौतम र विमा कुमारी दुराले स्वरबद्ध गरेको सोल्टी सिंगापुर होस् लोकगीतको क्षेत्रमा राम्रो छाप छोड्न सफल गीतहरु हुन् । पूर्वमा जन्मिएर आफ्नो कर्मथलोका रुपमा काठमाडौंलाई लिए पनि गीतकार अधिकारी अझै पनि उही लहरा पहराको गीत लेखिरहेका छन्, उही गाउँ समाजमामा आफ्नो मन मस्तिष्कलाई दौडाइरहेका छन् र एउटा सरल एवं यथार्थपरक शब्दहरुलाई गीतको माध्यमबाट सबैका सामु ल्याउन सफल भएका छन् ।
अधिकारीले धेरै गाउँका व्यथा लेखे, राष्ट्रको कथा लेखे अनि समाजमा आफूलाई गीतकारको पहिचान दिलाउन संघर्ष गर्दागर्दै एउटा सफल गीतकारको पंक्तिमा यतिबेला उभिएका छन् । पछिल्लो समय गीतकार अधिकारीले लेखेको गीत गालैको कोठीमा चर्चाको शिखरमा छ । सधैं समाज र राष्ट्रप्रेमलाई धरातल बनाएर गीत लेख्दा लेख्दै अधिकारीले यतिखेर भने फरक विषयमा कलम चलाएका छन् । एउटा नारीको कोमलतालाई शब्दमा उतार्दै गीतकार अधिकारीले लेखेको गीत गालैको कोठी गायक शिव परियारको संगीत र स्वरमा यतिबेला बजारमा बज्न थालेको छ । तर जति गायक गायिका चर्चामा हुन्छन् त्यसको पछाडि संगीतकार र गीतकारको नाम कमै आउँछ । तर पनि गीत लेखनको निरन्तरतामा गीतकार अधिकारीको कलम चलिरहेको छ ।
यस्तै गरी मुटुभित्रका हरफहरु उनको दोस्रो पुस्तक हो जुन कृतिमा नेपाली ठेट, झरो शब्दलाई बढि भन्दा बढि प्रयोग गरी नेपाली जनजिब्रोबाट, मनमष्तिष्कबाट हराउँदै गएको आफ्ना पनका आफ्ना मनका शब्दलाई थोरै भएपनि संरक्षण गरौं भन्ने अभिप्रायले विश्वको सबैभन्दा होचो उपत्यका अरुण उपत्यकामा अवस्थित तुम्लिङटार संखुवासभामा ५०० भन्दा बढी विद्यार्थी, स्थानीय बुद्धिजीविबाट सबैका लागि शिक्षा र सबैका लागि पर्यटन शिक्षा भन्ने नारा सहित सार्वजनिक गरिएको थियो ।


जहिले पनि हाम्रा सिर्जना राम्रा हुन् र केही केही समाजमा, देशमा योगदान पुगोस भन्ने चाहना आफूले गर्ने सृजनामा सोच्ने गरेको अधिकारी बताउँछन् । एभरेष्ट वल्र्ड रेकर्ड, एभरेष्ट हिरोजस्ता अन्तर्राष्ट्रिय सम्मान पाएका अधिकारीले म्यूजिक खबर म्यूजिक अवार्ड, श्रुति संगीत विद्यालय सम्मान, नेशनल प्रोग्रामिङ सम्मान जस्ता दर्जनौं सम्मान तथा पुरस्कारबाट सम्मानित भइसकेका अधिकारी अधिराज्यव्यापी बालगीत प्रतियोगितामा दुई पटकसम्म उत्कृष्ट बन्न सफल भएका थिए । त्यस्तै अधिराज्यव्यापी एड्सविरुद्ध चेतना अभियानमा आयोजित गीतलेखन प्रतियोगितामा द्वितीय स्थान प्राप्त गरेका अधिकारीले अन्ततः समाजलाई परिवर्तन गर्दै चेतनामूलक गीत लेखनलाई प्रमुखता दिने बताउँछन् । राष्ट्र रहे मात्र हामी नेपाली रहन्छौं भन्ने सोचका साथ अघि बढेका अधिकारीले राष्ट्रियतालाई मूल मर्म मान्दै गीत लेखनको कर्म गर्ने बताउँछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु