अनुपमको अवार्ड तीर्थ र गोमालाई, जयकुमार र सन्जीवलाई सम्मान 

म्यूजिक खबर
प्रकाशित: २३ बैशाख २०७५, आईतवार

२३ वैशाख पोखरा । अनुपम म्युजिक पोखराले हरेक वर्ष प्रदान गर्दै आएको अनुपम म्युजिक अवार्ड यस वर्ष गीतकार तीर्थ श्रेष्ठलाई प्रदान गरिने भएको छ । कवि र संस्कृतिकर्मीका रुपमा परिचित श्रेष्ठका आमा…, मेरै हिमाल जस्तो…लगायत करिब डेढ दर्जन गीत रेकर्ड भएका छन् । उनको ‘मेरै हिमाल जस्तो’ नामक गीत सङ्ग्रह प्रकाशित छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक सदस्य सचिव श्रेष्ठ पोखरेली युवा सांस्कृतिक परिवार, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलगायत दर्जनौँ संस्थामा आबद्ध छन् । श्रेष्ठका तीर्थ श्रेष्ठका कविताहरु, जिन्दगीको कुरुक्षेत्रबाट, पाइलाका निबहरुले (कविता सङग्रह) तथा महाभारतको गीत (मुक्तक सङ्ग्रह) प्रकाशित छन् । यसअघि सो अवार्ड गीतकार डा. कृष्णहरि बराल, गायक कर्णदास र सङ्गीतकार किरण कँडेललाई प्रदान गरिएको थियो ।

यस्तै, तीर्थहरि स्मृति प्रतिष्ठानद्वारा स्थापित तथा अनुपम म्युजिकद्वारा सञ्चालित तीर्थहरि समाजसेवा अवार्ड यस पटक समाजसेवी गोमा ढकाललाई प्रदान गरिने भएको छ । रेन्बो चिल्ड्रेन होमकी निर्देशक ढकाल बालगृह महासङ्घकी केन्द्रीय उपाध्यक्ष पनि हुन् । उनले १ सयभन्दा बढी बालबालिकालाई संरक्षण प्रदान गर्दै आएकी छन् । सो अवार्डबाट यसअघि पाहार ट्रष्टका अध्यक्ष चन्द्रबहादुर गुरुङ सम्मानित भइसकेका छन् ।

आगामी जेठ २६ गते हुने पाँचौँ अनुपम साङ्गीतिक साँझमा नगद, सम्मानपत्र र दोसल्लासहित प्रदान गरिने सो अवार्डसँगै अनुपम सङ्गीत सम्मान सङ्गीतकार जयकुमार परियार र गायक सन्जीव पराजुलीलाई प्रदान गरिने भएको छ । परियार पोखरामा रहेर २ दशकदेखि साङ्गीतिक क्षेत्रमा व्रिmयाशील छन् भने उनका कल्ले लाने हो…, दरौँ सिरुबारी…लगायत दर्जनौँ गीत चर्चित छन् ।

नाइ मलाई थाहा छैन…लगायत ३ दर्जन गीत गाइसकेका पराजुली पछिल्लो समयका युवा पुस्ताले रुचाएका गायक हुन् । यसअघि गीतकार होम न्यौपाने, रेशम रचक र वसन्ती लालचन, सङ्गीतकार वसन्त सापकोटा, नवराज बराल र बुद्धराज गुभाजू तथा गायक रामभक्त जोजिजू, कर्म ग्याल्छेन, विवेक श्रेष्ठ र गायिका इन्दिरा जोशी सो सम्मानबाट सम्मानित भइसकेका छन् ।

प्रेस स्वतन्त्रता सेनानी तथा साहित्यकार बद्रिविनोद प्रतीकको संयोजकत्वमा गायक रामभक्त जोजिजू र गीतकार रेशम रचक सदस्य, प्रबन्ध निर्देश अनुराग अधिकारी र सचिव रुपिन्द्र प्रभावी पदेन सदस्य तथा संरक्षक वीरेन्द्र पालिखे आमन्त्रित सदस्य रहेको प्रतिभा छनोट समितिले उनीहरुलाई अवार्ड र सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु