अभिनेता श्रीकृष्णलाई खोस्यो दैवले

म्यूजिक खबर
प्रकाशित: २५ श्रावण २०७१, आईतवार

काठमाडौं । असार २७ गते मात्र अभिनेत्री श्वेता खड्कासँग विहे गरेर भारतमा उपचार गराइरहेका अभिनेता श्रीकृष्ण अन्ततः हामीमाझबाट विदा भएका छन् । उनको फोक्सोमा पानी जमेका कारण केहीसमय पहिलाबाट नै विरामी परेका थिए । फोक्सोकै उपचारका क्रममा दिल्लीको एपोले हस्पिटलमा उनको निधन भएको बताइएको छ । उनको साथमा उनकी श्रीमती श्वेता खड्का सँगै रहेकी थिइन् ।
२०४५ सालमा भुमरी चलचित्रबाट अभिनययात्रा प्रारम्भ गरेका श्रीकृष्णले दर्जनौं सफल चलचित्र दिएका छन् । कसम, पुकार चलचित्रमा आफ्नो अभिनय देखाइसकेपछि छविराज ओझाको चलचित्र नाताबाट अभिनेता भएका श्रीकृष्णले पछिल्लो समयमा सुखदुःख, कहाँ भेटिएला, आफन्त, आफ्नो मान्छे, जाली रुमाल, ए मेरो हजुर, हामी तीनभाइ लगायतका दर्जनौं चलचित्र खेलिसकेका छन् । गत शुक्रबारबाट प्रदर्शनमा आएको उनको चलचित्र कोहिनूर यतिबेला प्रदर्शनमा रहेको छ । उनको मृत्युले नेपाली चलचित्र उद्योगप्रति ठूलो क्षति पुगेको छ । म्यूजिक खबर डटकम अभिनेता श्रीकृष्ण श्रेष्ठको मृत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु