आज चर्चित एवं लोकप्रिय संगीतकार दिपक शर्माको जन्मदिन…

म्यूजिक खबर
प्रकाशित: २१ भाद्र २०७४, बुधबार


भाद्र २१, काठमाडौं । आज अर्थात भाद्र २१ गते नेपाली सांगीतिक क्षेत्रका लागि दिन विशेष दिन । विशेष दिन यस अर्थमा कि यसै क्षेत्रका लागि विगत १२ वर्षयता संघर्ष गर्दै नेपाली सांगीतिक क्षेत्रलाई धनी बनाउँदै आएका संगीतकार दिपक शर्माको शुभ जन्मदिन पर्न गएको छ ।

म्याग्दीको कुँहुँमा माध्यमिक तहको शिक्षा पूरा गरेपछि आफु भित्रको सांगीतिक क्षेत्रप्रतिको मोह अनि सपनालाई पूरा गर्न २०५९ सालमा राजधानी छिरेका दिपकले सर्वप्रथम संगीत गरेको चलचित्र ‘तेजाब’ हो । जतिबेला उनी २० वर्षको अल्लारे थिए । चलचित्र ‘सम्झी राख है’को ‘आँधीखोला उर्र्लीएर’ बोलको गीत टर्निङ प्वाइन्ट बन्यो । उनका चलचित्र छक्का पञ्जाको देखन चम्पा, किस्मत–२ को तिम्रो पिक्चर हिट, हवल्दार सुन्तलीको डोला डोला लगायतका गीतले यतिबेला बजार तताईरहेको छ । चलचित्र अप्रिल फुलबाट ‘तेरो मेरो पिरती भयो कस्तो–कस्तो’ र दबाबको ‘मेरो पावरफुल बैशको झड्काले’ पनि उनका सफल गीत मानिन्छन् ।
पछिल्लो समयमा चलचित्र छक्का पञ्जाको ‘देखन चम्पा,सुनन चम्पा’बोलको गीतमा उनले नै संगीत भरेका हुन् । उक्त गीतले अत्याधिक सफलता पाउन सफल भयो । सो गीतको सफलताले कामको चाप थपिएको र अन्य कामहरुमा थप व्यस्त भएको दिपकले बताए ।

उनको निरन्तरता र संघर्षका कारण यो समयसम्ममा आइपुग्दा सयौं गीतमा संगीत भरिसकेका छन् । उनी संगीत क्षेत्रका हरेक विधामा पोख्त छन् । उनले लेखेका शब्द पनि उत्तिकै चर्चित छन् । ‘छुट्टिएर तिमीसँग’, ‘जिन्दगीको सवाल हुन्छ’, ‘मलाई आफ्नो बनाएर’, ‘सबैले मलाई घृणा’, ‘रुँदै हुन्छ’ु लगायतका सुगम संगीतका गीतहरु श्रोताको मनमा बस्न सफल भएका छन् । नयाँदेखि अहिले बजारमा नाम चलेका गायकहरुले शर्माको संगीतमा गीत गाइसकेका छन् । सेन्टिमेण्टल भन्दा रोमान्टिक गीतहरु नै बढी छन् तापनि उनलाई सुगम संगीततर्फ भने सेन्टिमेण्टल गीतले चर्चित बनाएको छ ।

भिन्न शैली र मौलीक किसिमका संगीत सिर्जना माहिर दिपकले संगीत भरेको चलचित्र मंगलम्को ‘पर्ख पर्ख मायालु म पनि आम्ला, रेलको झ्याल समाएर संगै भागौंला’ बोलको गीतमा पनि संगीत भरेका छन् । उक्त गीतबाट संगीतकार दिपक शर्माको चर्चा र सफलता थप हुनेमा सिंगो नेपाली संगीत क्षेत्र आशातित् छ ।

उनी गायन र एरेञ्जमा पनि उत्तिकै निपूर्ण छन् । पछिल्लो समयमा आफ्नै स्वर, शब्द, एरेञ्ज अनि संगीतमा रहेको लोक पप शैलीको ‘हे बरै’ बोलको गीतमा अभिनय समेत आफैं गरेका छन् ।
यसरी सयौं गीतमा संगीत भर्दै, गीत गाउँदै, शब्द रचना गर्दै नेपाली संगीत क्षेत्रलाई धनी बनाइरहेका चर्चित तथा लोकप्रिय संगीतकार दिपक शर्मालाई जन्मदिनको उपलक्ष्यमा म्यूजिक खबर परिवारको तर्फबाट लाखौंलाख शुभकामना । आगामी दिनमा थुप्रै कालजयी, गीतहरु सुन्न पाइयोस् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु