आज असोज ४ अर्थात वर्तमान समयका सामाजिक नायक सिताराम कट्टेल ‘धुर्मुस’को जन्मदिन । वि.सं. २०४० साल असोज ४ गते सगरमाथा अञ्चल सोलुखुम्बु जिल्लाको नेचा बेतघारीमा बुबा बोगराज कट्टेल र आमा कमला कट्टेलको जेठो सन्तान भएर जन्मिएका जिवन्त अभिनयका खानी सिताराम कट्टेल यतिबेला समाजसेवामा होमिएर लोकप्रिय र चर्चित बनेका छन् । सामाजिक कामलाई फराकिलो र सक्रिय बनाउन र अघि बढ्नका लागि वि.सं. २०७० सालमा धुर्मुस सुन्तली फाउण्डेशन स्थापना गरि पवित्र काम समाज सेवामा होमिएका धुर्मुसको समाजसेवा प्रतिको महान सोच र कर्मठ लगनशीलताका कारण अहिले नेपाली कलाकारिता क्षेत्र नै गौरवान्वित भएको छ । त्यो राष्ट्रका लागि समेत अनुकरणीय र छ । उनको पहलमा निर्माण भएको धुर्मुस सुन्तली एकिकृत नमुना बस्तीका कारण पनि राष्ट्रमा नै प्रंशसाको पात्र बनेका छन् । यस्तै महोत्तरीको बर्दिवासस्थीत मुसहर बस्तीका भुकम्प प्रभावितलाई राहात समेत बाँडेका धुर्मुस यतिबेला उनकै सक्रियतामा काभ्रेको डाँडा गाउँमा एकिकृत बस्ती बनाइएको छ । धुर्मुस सुन्तली एकिकृत नमुना बस्ती नाम दिइएको उक्त बस्तीले धेरैबाट प्रशंसा पाएको छ ।
लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा आमाबासँग आफु भएको फोटो हालेर सिताराम आफैंले आफ्नो जन्मदिनमा आमाबासँग आर्शिवाद मागेका छन् । आमा–बालाई साक्षात भगवानको संज्ञा दिंदै उनले लेखेका छन् –मेरा पुज्य व्यक्ति, मेरा साक्षात भगवान । जसको कारण आज म यो संसारमा छु । आजकै दिन मलाई अनेक पिडा र कष्ट सहेर यो धर्तीमा जन्म दिने मेरी आमालाई हर दिन सम्झीरहेको छु । प्रशंसा पाउँदा होस् वा हण्डर, ठक्कर खाँदा बुवा आमाकै यादमा डुबिरहेको हुन्छु । अहिलेसम्म जे जति गरेको छु, ऐस, आराम भन्दा बढी तपाईँहरुको मुहारमा मिठो मुस्कान ल्याउनका लागि गरिरहेको हुँ । तपाईँहरुको आर्शिवादले अझै धेरै काम गर्ने आँट कसेको छु ।’
आमा–बालाई हरेक धड्कनमा सम्झिने सितारामले जन्मदिनको उपलक्ष्यमा हजुरआमाको आर्शिवाद लिन काठमाण्डौ आएका छन् । सिताराम हजुरआमासाग टिका लगाएर आशिष लिंदै गरेको पारिवारिक फोटो सहित यसो लेख्छन् – मेरी हजुरआमा (सरस्वति कट्टेल) जसको मायामा म सानैदेखि भुल्दै आएको छु । उहाँसँगको सामिप्यतामा न्यानो महसुस गर्दै आएको छु । आफु जन्मिएको दिनमा बुवा आमालाई मनभरी सम्झँदै हजुरआमाको आर्शिवाद लिन गिरान्चौर छाडेर काठमाण्डौँ आएको छु । उमेरको हिसाबमा उहाँको मेरो अनौठो संयोग छ । उहाँको छोरा, मेरो बुवा उहाँ भन्दा २० वर्ष कान्छो हुनुहुन्छ अनी म बुवा भन्दा २० वर्ष कान्छो छु ।
यस्तै वर्थडे व्याय सितारामले यस शुभ दिनको उपलक्ष्यमा आफु अभिनित र निर्माता पनि रहेको फिल्म ‘छक्का पञ्जा’ पनि हेर्ने बताए भने उनि अभिनित अर्को बालमैत्रि फिल्म ‘ज्योति’को पनि राजधानीको त्रिवेणी फुडल्याण्डमा आफ्नै सहभागितामा साँझको पाँच बजे आयोजना हुने च्यारिटी शो मा उपस्थित हुने पनि जानकारी दिए ।
यस्ता महान सोच भएका परिवारका हिरो समाजका हिरो अनि राष्ट्रकै हिरो सिताराम कट्टेल ‘धुर्मुस’का कदमहरु निरन्तररुपमा यसरीनै अघि बढ्दै जाउन् । अवश्य पनि प्रार्थना गर्ने ओठहरु भन्दा सेवा गर्ने हातहरु नै पवित्र हुन्छन् । ति पवित्रहातहरु सदैब समाजसेवामा फैलिरहुन् । आजको यस विशेष दिनमा म्यूजिक खबर डट्कम परिवारका तर्फबाट सिताराम कट्टेललाई सुस्वास्थ्य र समृद्धिको कामनासहित जन्मदिनको धेरै धेरै शुभकामना । साथमा भन्नैपर्छ उनकी धर्मपत्नी कुञ्जना घिमिरे ‘सुन्तली’लाई पनि हार्दिक धन्यवाद ताकि उनकै हरपलको साथ र समर्पणले आज धुर्मुस नायक बनेका छन् । आखिर सुन्तली बिना धुर्मुस अपुरो हुनेछ यसर्थ धुर्मुसलाई समाजको नायक मान्दा सुन्तलीलाई पनि समाजकै नायिका मान्नै पर्दछ ।