आफ्नै नामबाट सांगीतिक कोशली ‘शिवा’

म्यूजिक खबर
प्रकाशित: २८ बैशाख २०७५, शुक्रबार

२८ बैशाख, काठमाडौं । गायिका शिवा लिम्बूले आफ्नै नामबाट सांगीतिक कोसेलीको नामाकरण गर्दै दर्शक तथा श्रोतामाझ आएकी छन् । गायिका शिवाको पहिलो आधुनिक एल्बम ‘शिवा’लाई राजधानीको बागबजारस्थित साया हेल्लो क्याफे गजलबारमा आयोजित समारोहबीच हिजो एक कार्यक्रमका बीच अथितिद्वय नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा बरिष्ठ संगीतकार÷गायक गणेश रसिक र बरिष्ठ गीतकार गजलकार डा. कृष्णहरि बरालले सार्वजनिक गरे ।
एल्बम सार्वजनिकपछि सदस्य सचिव रसिकले शिवाको गायनकलाको प्रशंसा गरेका थिए । कार्यक्रममा बोल्दै रसिकले भने, ‘विदेशमा बसेर पनि शिबाले नेपाली गीतसंगीतप्रतिको लगावलाई सराहना गर्नैपर्छ । शिबाको गायनमा दम्भ छ । त्यसैले उहाँको सांगीतिक भविष्य उज्जवल देख्छु ।’


त्यस्तै, अर्का अथिति गीतकार डा. बरालले शिबाको गायनमा मिठास र भिन्नता भएको औल्याए । उनले भने, ‘मलाई शिबाको स्वरमा मिठास लाग्यो । शिबाको गायनको भविष्य उज्वल छ ।’ कार्यक्रममा बोल्दै गायिका शिबाले आफ्नो गायन रुचिका सन्दर्भ र संघर्षबारे सुनाइन् । उनले गायन आफ्नो सानैदेखिको रुचि भएको बताउँदै भनिन्, ‘रहर र रुचि भएर पनि बल्ल पूरा गर्दैछु ।’ उनले आफ्नो सांगीतिक करिअरमा सहयोग, सुझाव र प्रतिक्रिया दिनु समेत आग्रह गरिन् । गायिका शिबा लामो समयदेखि इजरायलमा बस्दै आएकी छन् । उनी एल्बमकै लागि नेपाल आएकी हुन् ।


सार्वजनिक एल्बममा चार वटा गीत समावेश छन् । एल्बममा तिम्रो साथ, ढल्कियो, कस्तो सुन्दर र लिम्बू भाषाको केनः हिप्ते तरेमे बोलका गीत रहेका छन् । जसमा शिबा लिम्बू, निलम आङबुहाङ राई, राजनराज सिवाकोटी र यादेन शेर्माको शब्द रहेको छ भने संगीत सुरेशकुमार, राजनराज सिवाकोटी, विक्रम राई र यादेन शेर्माको रहेको छ । गायिका शिबालाई ‘कस्तो सुन्दर’ बोल गीतमा स्वरमा गायक विक्रम राईले साथ दिएका छन् भने लिम्बू भाषाको गीतमा जेपी नेम्बाङले साथ दिएका छन् ।
कार्यक्रममा ‘तिम्रो साथ’ बोलको गीतको भिडियो प्रिमियर गरिएको थियो । निकेश खड्काले निर्देशन गरेको सो भिडियोमा गायक रुकमान लिम्बू र गायिक सयंमले अभिनय गरेका छन् । भिडियो शुक्रबार यु–ट्युबमार्फत सार्वजनिक हुनेब बताइएको छ । कार्यक्रम सञ्चारकर्मी याङ्जोम शेर्पाले सञ्चालन गरेकी थिइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु