आर्यन र ऋचा उत्कृष्ट । उत्कृष्ट फिल्म काठमाण्डू

म्यूजिक खबर
प्रकाशित: १८ माघ २०७०, शनिबार

काठमाडौं, १७ माघ । चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको छैठौं नेफ्टा फिल्म अवार्डमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री अचा शर्मा उत्कृष्ट अभिनेता र उत्कृष्ट अभिनेत्री हुन सफल भए । मलेसियामा सम्पन्न छैठौं नेफ्टा अवार्डमा ‘फिल्म मेरो लभ स्टोरी’ फिल्मबाट अभिनेता आर्यन सिग्देल र अभिनेत्री ऋचा शर्माले उत्कृष्टको अवार्ड उचालेका हुन् । उत्कृष्ट फिल्म भने ‘काठमाण्डू’ बन्न सफल भयो भने यसका निर्देशक आकाश अधिकारीले उत्कृष्ट निर्देशकको अवार्ड हात पारे ।
त्यस्तै फिल्म ‘फेसबुक’बाट अभिनेत्री झरना थापाले उत्कृष्ट खलपात्रको अवार्ड पाइन् । उत्कृष्ट पटकथाकारसँगै निश्चल बस्नेतले फिल्म ‘लुट’बाट नव निर्देशकको अवार्ड हात पारे भने सायद चलचित्रबाट संयम पुरी र अन्दाजका सविन श्रेष्ठलाई नव अभिनेताको अवार्ड प्रदान गरियो । नव अभिनेत्रीको अवार्ड ‘काठण्माडू’बाट प्राप्ती घिमिरेले पाइन् भने विल्सन विक्रम राई ‘सायद’ फिल्मबाट उत्कृष्ट हाँस्य कलाकारको अवार्ड दिइयो । त्यस्तै ‘साथी म तिम्रो’बाट शिर्षक सापकोटाले उत्कृष्ट बालकलाकार तर्फको अवार्ड पाए ।
उत्कृष्ट संगीतकारको अवार्ड फिल्म ‘मायाज बार’बाट सुरेश अधिकारीले प्राप्त गरे । ‘मायाज बार’कै ‘सरसर…’ बोलको गीतबाट राजेश पायल राईले उत्कृष्ट गायकको अवार्ड पाए भने ‘अन्दाज’ फिल्मको ‘सिम्पल सिम्पल कान्छीको’बाट माण्डवी त्रिपाठीले उत्कष्ट गायिकाको अवार्ड पाइन् । उत्कृष्ट गीत रचनामा फिल्म ‘पल’बाट किरण खरेलले अवार्ड पाए भने उत्कृष्ट संगीत संयोजनको अवार्ड ‘अन्दाज’ फिल्मका लागि महाराज थापाको पोल्टामा प¥यो । उत्कृष्ट ब्याकराउन्ड स्कोररको अवार्ड मायाज बारबाट एलिश कार्कीले लगे । उत्कृष्ट कला निर्देशकको अवार्ड ‘मसान’ फिल्मबाट निर्जल श्रेष्ठले पाए । उत्कृष्ट साउण्ड मिस्किङको अवार्ड लुटबाट उत्तम न्यौपानेले पाए ।
उत्कृष्ट पटकथाकारको अवार्ड ‘फर्की आऊ’ फिल्मबाट ओम प्रतीकले पाए भने उत्कृष्ट कथाको अवार्ड पल चलचित्रबाट कर्ण शाक्यलाई दिईयो । उत्कृष्ट छायाँकारको अवार्ड भने ‘मेरो लभ स्टोरी’ बाट राजेश श्रेष्ठले पाए भने यसै फिल्मबाट सरोज पाण्डेले उत्कृष्ट श्रृङगारको अवार्ड उचाले । ‘रावण’ फिल्मबाट चन्द्र पन्तले उत्कृष्ट द्वन्द्व निर्देशकको अवार्ड पाए । फिल्म ‘मालतीको भट्टी’बाट रेनशा राईले उत्कृष्ट नृत्य निर्देशक र ‘के यो माया हो’बाट नीलिमा शर्माले उत्कृष्ट कस्ट्युम डिजाइनर अवार्ड पाए । उत्कृष्ट सम्पादनको अवार्ड लुटबाट सुरेन्द्र पौडेलले पाए । यता अभिनेता सौगात मल्लले लुटबाट पपुलर कलाकारको अवार्ड उचाले भने चलचित्र सायदका निर्देशक सुरज सुब्बा नाल्बोले जुरी अवार्ड पाए ।
मलेसियाको राजधानी क्वालालम्पुरको सेतियो सिटि कन्भेन्समा सम्पन्न अवार्डमा वरिष्ठ कलाकार नीर शाहलाई अभिनय शिरोमणीको उपमा दिदैं ताम्रपत्र तथा खादा ओढाएर सम्मान गरिएका थियो । निर्देशक शाहले सम्मान तथा उपमा नेपाली फिल्म क्षेत्रले दिएको स्नेह र माया रहेको बताउँदै भने– ‘यो सम्मान मेरी आमा, श्रीमती र सम्पूर्ण फिल्मकर्मीप्रति समर्पण गर्न चाहन्छु ।’ अवार्डलाई सगरमाथा टेलिभिजनबाट प्रत्यक्ष प्रशासरण गरिएको थियो ।
अवार्ड कार्यक्रममा झन्डै एक दर्जन कलाकारले नृत्य प्रस्तुत गरेका थिए । नृत्य निर्देशकद्वय गोविन्द राई र कमल राईले महिनौं लगाएर कलाकारलाई नृत्यको प्रशिक्षण दिएका थिए । अभिनेत्री निरुता सिंहबाट सुरु भएको नृत्य प्रस्तुती सञ्चारकर्मीद्वय बिजय आवाज र सुमन गैरेको साथमा अभिनेत्री बेनिशा हमालबाट समापन भएको थियो । कार्यक्रममा गजित बिष्ठ, नन्दिता केसी, हर्षिका श्रेष्ठ, नीलिमा शर्मा, गौरव पहारी, सविन श्रेष्ठ, झरना थापा, यशराज गरच, नीता ढुंगाना, सौजन्य सुब्बा लगायतले आकर्Èक नृत्य प्रस्तुत गरेका थिए भने गायक राजेश पायल राईले गीत गाएर उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । सञ्चारकर्मी नरेश भट्टराई, अभिनेत्री ऋचा शर्मा र सञ्चारकर्मी तथा कमेडी भिजे सन्दिप क्षेत्रीले सञ्चालन गरेका थिए ।

rajesh payal gajit_suman

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु