आवाजको उडान

म्यूजिक खबर
प्रकाशित: १० माघ २०७३, सोमबार

म्यूजिक खबर डेक्स

गीतसंगीतको क्षेत्र पछिल्लो सयम व्यापार शून्य भएको क्षेत्र भनेर आरोप लगाउने गरिन्छ । पहिला अडियोको समयमा लाखौं लाख बिक्री गरेर घर घडेरी, गाडी जोड्न सफल भएका गायक गायिकाहरुका लागि वास्तवमा अहिलेको डिजिटल प्रविधिले भने साथ नदिएकै हो । प्रविधिअनुसार आफूलाई चलाउन नसक्दा संगीतको व्यवसायले पक्कै पनि उनीहरुलाई प्रतिफलशून्य बनाएको हुनुपर्छ । तर डिजिटल प्रविधिमा प्रवेश गरिसकेपछि धेरै बाटोहरु पनि खुलेका छन् आम्दानीका । केही समय पहिला आरबिटीको जमाना थियो जसले रातारात काठमाडौंमा घर उभ्याउनेहरु पनि यही संगीत उद्योगमै छन् भने अहिले यूट्यूबको खेती गर्नेहरुले पनि राम्रै आम्दानी गरेका छन् । तर सबैले कमाएका छन् भन्ने पनि होइन जो सुरुमा जोखिम मोलेर यो क्षेत्रमा हामफाले तिनीहरुले भने अहिलेको अवस्थामा राम्रो आम्दानी गर्न सफल हुन् भने आरबिटीको व्यापारमा भने ‘पर्चेज’ गर्ने टोलीको आम्दानी अहिले पनि रामै्र छ ।

पछिल्लो समय चल्तीका गायक गायिकाको कमाइ हुने राम्रो माध्यम भनेको विदेशको कार्यक्रमहरु पर्ने गरेको छ । एउटा गीत बजारमा राम्रो चर्चा पाउन सफल भयो र देशविदेशमा रहेका संगीतप्रेमीले यूट्यूबमा सुनेर राम्रो लाग्ने वित्तिकै विदेशका आयोजकहरुको नजरमा पर्ने गर्छन् गायक गायिकाहरु । भनिन्छ पछिल्लो समय विदेश जानेमा कहीँ जातीय समुदायको कुरा आउँछ भने आयोजकको निर्देशन पालना गर्ने गायक गायिका पनि त्यो चल्तीका गायक गायिकासँगै विदेशको कार्यक्रमका लागि उडाने भर्ने गर्छन् । जे होस् आवाजले उडान भर्नेहरुमा केही गायक गायिकाको मात्र नाम आउँछ । यहाँ गायक गायिकाको संख्याको हिसाबले हेर्ने हो भने त्यो गणना गर्न लायक संख्या होइन तर यहाँ संख्यात्मक भन्दा पनि चर्चात्मक र केही गुणात्मकताले आवाजको उडान भरिएको देखिन्छ ।

हामीले २०१६ मा आवाजको माध्यमले उडान भर्नेहरुको केही संख्यालाई लिएर रिपोर्टिङ तयार पार्दाको अवस्थामा भने औंलामा गन्ने नामहरु नै छन् । फाट्टफुट्ट विदेश जानेहरु धेरै होलान् तर आयोजकको नजरमै परेर चर्चाको आवाज सुनेर विदेश जानेमा भने सीमित गायक गायिकाको नाम
अगाडि आउँछ ।

२०१६ को अवधिमा सबैभन्दा धेरै विदेश जानेमा भने राजेश पायल राई नै पर्छन् होला । अहिलेसम्म विदेश जाने क्रममा उनले ९ वटा पासपोर्ट फेरिसकेका छन् । उनले एमआरपी पासपोर्ट लिएपछि नै वर्षदिन नबित्दै नयाँ बनाउनु परेको बताउँछन् । अहिले तेस्रो पासपोर्ट लिन लागेका उनले हङकङ २४ पटक पुगिसकेका छन् भने साइप्रस, जापान, लण्डन, अमेरिका, बहराइन र यूरोपका सबै देश गरेर उनले सबैभन्दा धेरै उडान भरेका छन् । ‘मिनी वल्र्ड टुर’ नामक सांगीतिक यात्रा पनि राईले २०१६ मै गरेका हुन् । ‘राई इज किङ’ भनेर चिनिने गायक राईले १८ वटा एल्बम बजार ल्याइसकेका छन् । उनको चर्चित गीतहरुकै फ्यानका कारण पनि विदेशको कार्यक्रममा रोजाइकै गायकमा पर्छन् भन्ने यसबाट पनि प्रष्ट हुन्छ ।

5 issue_musickhabar
त्यस्तै आवाजकै उडान भर्नेमा अर्का चर्चित गायक हिमाल सागर पर्छन् । सांगीतिक यात्राकै क्रममा विदेशमा हुने कार्यक्रमहरुमा विदेशका २१ देश पुगिसकेका छन् हिमाल सागर । उनले पनि तेस्रो पासपोर्ट भरेर चौथौं बनाउने तयारीमा छन् । चर्चाका हिसाबले हिमाल सागरलाई पनि आवाजको उडान भराउन विदेशका आयोजकहरु
सफल भएका छन् ।

त्यस्तै लोकप्रिय गायक रामकृष्ण ढकाल पनि २०१६ मा दर्जनभन्दा बढी देशमा उडान भरिसकेका गायक पर्छन । एल्बमका हिसाबले उनले १५ औं एल्बम बजारमा ल्याए पनि गायककीका हिसाबले उनलाई नारायण गोपालको पदचाप पछ्याउने गायकका रुपमा लिने गरिन्छ । चर्चाका हिसाबले अग्रपंक्तिमा रहेका गायक ढकालले पनि युरोपका पोर्चुगल, स्वीट्जरल्याण्ड, डेनमार्क, बेल्जियमलगायतका ७ देशमा सांगीतिक प्रस्तुति दिन भ्याए भने अमेरिका, जापान, थाइल्याण्ड जस्ता मुलुकमा पनि उनको उडान भर्ने काम भयो । सबैभन्दा बढी एकल गायन गरिसकेका ढकाललाई नरुचाउने दर्शक पाइँदैन ।

त्यसैगरी पछिल्लो पुस्तामा सेमीक्लासिकल गायनमा बढी रुचाइएका गायक शिव परियार पनि बढी विदेश घुम्ने गायकका रुपमा देखिएका छन् । उनले १३ वटाभन्दा बढी मुलुकमा सांगीतिक कार्यक्रम गरिसकेको बताएका छन् । पासपोर्ट हेरेर नै भन्नुपर्ने हुन्छ, अझै बढी पुगेको जस्तो लाग्छ उनी भन्दै थिए । क्या दामी भो, फेवातालमा साइली जस्ता चर्चित गीतहरुले उनलाई पनि आवाजको उडान भराइरहेको छ । उनी नयाँ वर्ष २०१७ का लागि भने जापानमा सांगीतिक कार्यक्रम गर्दैछन् ।

त्यस्तै गजल गायनमा बढी रुचाइने गायक आनन्द कार्की पनि आवाजको उडान भर्ने गायकका रुपमा पर्छन् । उनले पनि हङकङ, लण्डन, दुबई, मलेसिया, कतार, सिंगापुर, भुटान लगायतका दर्जनभन्दा बढी देशमा सांगीतिक कार्यक्रममा प्रस्तुति दिइसकेका छन् । एल्बमका हिसाबले १५ औं एल्बम बजारमा ल्याइसकेका गायक कार्की विदेशमा एकल शो गर्नेमा पनि पर्ने गर्छन् ।

त्यस्तै गायक प्रमोद खरेल पछिल्लो समय निकै चर्चाको शिखरमा रहेका गायक हुन् । स्टेज कार्यक्रमहरुमा उनको प्रस्तुतिलाई पछ्याउनेहरु धेरै युवा युवती नै छन् । यो वर्षको ओइ झुमा होस् वा उनको डुबायो पापी मायाले सबैभन्दा बढी चर्चायोग्य गीतहरुमा पर्छन् । यो वर्षको नम्बर वान रोयल्टी बुझ्ने गायकका रुपमा पनि आफू रहेका बताउने खरेल अमेरिकामा मात्र तीन चोटी गए । अमेरिकाको १२ वटा स्टेटमा आफ्नो सांगीतिक प्रस्तुति दिएका खरेलले करिब १३ देशको सांगीतिक उडान भरेका छन् । महिनाको ग्यापमा पीपी बनाउनु पर्ने अवस्था उनीभित्र पनि रहेको छ ।

गायिकातर्फ भने अन्जु पन्त, मिलन अमात्य, माण्डवी त्रिपाठी, मेलिना राई अग्रपंक्तिमा पर्छन् । अन्जु पन्त प्राय गरेर युरोप, लण्डनमै व्यस्त हुँदै आएकी छन् भने मिलन अमात्य मलेसिया, हङकङ, लण्डन, युरोप लगायतका मुलुकमा व्यस्त हुँदै आएकी छन् । त्यस्तै माण्डवी त्रिपाठी भने युरोपका १९ मुलुकको भ्रमण सकेर आएपछि भारत, हङकङजस्ता मुलुकमा आवाजको उडान भरिसकेकी छन् । त्यसैगरी मेलिना राई यो वर्ष नयाँ गायिका भएर पनि पुरानासँग प्रतिस्पर्धा गर्ने गायिकामा पर्छिन् । उनको कम्मरमाथि पटुकी गीत बजारमा आएपछि गायकीको पनि उत्तिकै चर्चा बढ्यो, उनले एकपछि अर्को गर्दै विदेशका आयोजकहरुले बोलाउन थाले । हङकङ, कोरिया, बहराइन, जापान लगायत ८ वटा देशहरुमा पनि उनको प्रस्तुतिले स्थान पायो ।

लोकदोहोरीतर्फ भने गायिका मुना थापा आवाजको उडान भर्नेमा अगाडि देखिन्छिन् । यतिखेर जापानमा कार्यक्रममा व्यस्त भएकी गायिका थापा र पशुपति शर्मा अग्रपंक्तिमा रहेका छन् । गायक बद्री पंगेनी ११ वटा मुलुकमा आवाजको उडान भर्न सफल भए भने रामजी खाँड, खुमन अधिकारीको विदेश यात्रा पनि चर्चाको शिखरमा रह्यो । लोकदोहोरीबाट फाट्टफुठ विदेश जानेको लिस्टमा भने विरही कार्की, विमल परियार, प्रकाश सपुत लगायतका गायक गायिका पनि पर्ने गर्छन् । गायिका सुनिता दुलाल, मन्जु पौडेल पनि विदेशमै आधा वर्ष बिताउने गायिकामा पर्ने गर्छन् भने गायिका राधिका हमाल, देवी घर्ती पनि आवाजको उडान भर्नमै देखिएका छन् । यी बाहेक गायक युवराज चौलागाईं, हेमन्त शर्मा, सुगम पोखरेल, गायिका सहिमा श्रेष्ठको पनि आवाजको उडानले केही देशको भ्रमण गराउन सफल भएको छ । विदेशको कार्यक्रममा व्यस्त हुने गायिका ज्योति मगर पनि विभिन्न कारणले चर्चामा रहिन् । नेपालमा हुने महोत्सवहरुमा व्यस्त हुनेहरु एकातिर छन् भने विदेशमा व्यस्त हुने अर्कातिर छन् । आम्दानीको हिसाबले विदेशको यात्रा सफल देखिएको छ भने भ्रमणको हिसाबले मस्ती पनि हुने हुँदा यसलाई अवसरका रुपमा
समेत हेर्ने गरिन्छ ।
म्यूजिकखबरबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु