‘इन्टरनेशनल पप स्टार’को उपाधी पाएका राईलाई विदेशीभूमिमा अर्को ठुलो सम्मान !

म्यूजिक खबर
प्रकाशित: १० फाल्गुन २०७४, बिहीबार

फागुन १०, काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका इन्टरनेशनल पप स्टार उपाधी पाउन सफल मेघा स्टार ‘राई इज किङ’का रुपमा परिचित गायक राजेशपायल राई यतिबेला सांगीतिक कार्यक्रमका लागि ‘वल्र्ड टुर २०१८’मा व्यस्त छन् । विश्व भ्रमणमा रहेका राजेश गत शनिवार विश्वको दक्षिणपूर्वी पेसिफिक ओसियनमा रहेको मुलुक न्यूजिल्याण्डमा गुञ्जिए ।

न्यूजिल्याण्डमा पहिलोपटक कार्यक्रम गर्नका लागि पुगेका राजेशपायलले न्युजिल्याण्डको क्रिष्टचर्च सिटीमा रहेको चाल्र्स लुने हलमा भव्य सोलो कार्यक्रम गरेका थिए ।
उनको कार्यक्रम हेर्नैका लागि क्रिष्टचर्च सिटीकी मेयर लिआनी डेजाइल कार्यक्रस्थल पुगेकी थिइन् । उनले कार्यक्रममा राजेशपायललाई सम्मान मात्र गरिनन्, राजेशका गीतमा तालीले साथ पनि दिइन् । राजेशपायलका सहयोगीले फेसबुकमा लाइभ गर्दा मेयर लिआनी निकै खुशी देखिएकी थिइन् । भुट्निज समाज क्रिष्टचर्चले आयोजना गरेको कार्यक्रममा मेयर लिआनीले राजेशपायललाई खादा र सम्मानपत्रले सम्मान गरेकी थिइन् ।


सम्मान पाउनु अघि एकदुईवटा गीत गाएका राजेशपायलले सम्मान पछि भने गीतमार्फत बालबच्चादेखि अधवैशे उमेरसम्मका दर्शकलाई नचाउन भ्याए ।
उनले ‘दर्शन नमस्ते’, ‘नाइ नभन्नु ल’, ‘म त मर्छु कि क्या हो ठूली’, ‘सागर सरी चोखो माया’लगायतका दुई दर्जन बढी गीत सुनाएका थिए । राजेशलाई ‘सागर सरी चोखो माया’ गीतमा न्यूजिल्याण्ड बस्दै आएकी सत्य लिलाले स्वरमा साथ दिएका थिइन् ।

संस्थाका अध्यक्ष आकाश ड्रुग्बाले कार्यक्रम सोचे भन्दा भव्य र सभ्य बनेको बताए । कार्यक्रमकी संयोजकसमेत रहेकी सत्य लिलाले कार्यक्रममा कुनै पनि कमी कमजोरी हुन नदिएका कारण पनि कार्यक्रम उत्कृष्ट बनेको प्रतिक्रिया दिइन् । न्यूजिल्याण्डको कार्यक्रम सकेर राजेशपायल अष्ट्रेलिया गएका छन् । अष्ट्रेलिया पछि उनी दुबई, साइप्रस र कतारमा कार्यक्रम गर्नेछन् ।

तस्बिर: सुदिप पराजुली

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु