इन्दुलाई गायनमा सफल हुने ‘इशारा’ मिल्दै !

म्यूजिक खबर
प्रकाशित: १२ चैत्र २०७४, सोमबार

सविता पोखरेल


यतिबेला नेपाली सांगीतिक धरातलमा स्थापित गायिका बन्नका लागि संघर्षरत छिन् गायिका इन्दु बानियाँ । उसो त उनीमा सानै देखि नेपाली गीत संगीतप्रति विशेष प्रेम र चासो थियो । त्यहि प्रेमले हुनुपर्छ सानोछँदा मै गीतहरु गुनगुनाइरहन्थिन् विशेषतः अरुणा लामाका गीत भनेपछि भुतुक्कै हुन्थिन् । तर आफुलाई गायिका नै बन्ने बाटोमा भने हिंड्न अलि ढिलो भएको उनको बुझाई छ । परिवारलाई छोरीले लोकसेवा पढिदियोस् र सरकारी जागिर खाओस् भन्ने चाहना थियो । परिवारको यस्तै यस्तै चाहना र आफुले पनि परिवार सामु विद्रोह गर्न नसकेकाले सांगीतिक धरातलमा प्रवेश गर्न अलि ढिला भएको बताउँछिन् ।

दुर्गा शाही ठकुरीसँग विवाह बन्धनमा बाँधिए पश्चात भने उनले आफ्नो संगीतप्रतिको तरंगलाई कुण्ठीत बनाइरहनु परेन । नेपाली गीत संगीत र सिंगो कलाकारिता प्रति श्रीमान्को पनि गहिरो प्रेम रहेकाले श्रीमान्को सपोर्ट पाइन् । ‘घरमा गुनगनाउँदा मेरो आवाजमा एउटा गायिकाको स्वरमा हुनुपर्ने क्वालिटी उहाँले देख्नु भएछ र संगीतको शिक्षा लिन प्रोत्साहन दिनुभयो । श्रीमान्को सपोर्टले नै आज गायिकाको परिचय बनाउन संर्घसरत छु’ उनी भन्छिन् । यतिबेला इन्दु गायक तथा संगीतकार मनोजराज शिवाकोटीसँग संगीत शिक्षा लिंदै आएकी छिन् ।


इन्दुले ‘तिम्रो न्यानो त्यो काखैमा’ बोलको गीतबाट आफ्नो सांगीतिक करियर शुरु गरिन् । राम अविरलको शब्द तथा सन्तोष श्रेष्ठको संगीत रहेको उक्त गीतबाट नै उनको स्वरले निकै तारिफ पाउन सफल भयो । म्यूजिक खबर म्यूजिक अवार्डमा नव गायिका विधाको उत्कृष्ट पाँचमा पर्न सफल भएपछि म्यूजिक क्षेत्रमा थप हौसला समेत मिलेको इन्दु बताउँछिन् ।

त्यसपछि इन्दुको कर्णप्रिय आवाजले सजिएको ‘सबै गुमाएर बरु’ बोलको गीतको अडियो सार्वजनिक भएसँगैै उनको गायकीले निकै तारिफ पायो । रेखा कौशल रेग्मीको शब्द रचनामा रहेको गीतमा इन्द्र जी.सी.को संगित संयोजन रहेको उक्त गीत सुनेपछि बानियाँको गायकीमा जो कोही मन्त्रमुग्ध अवश्य बन्नेछन् ।

पछिल्लो समयमा प्रतिभाशाली उदयीमान गायिकाको पंक्तिमा दर्ज भएकी गायिका इन्दुको स्वर सजिएको अर्को गीत सार्वजनिक भएको छ –‘राम कसम चट्टै’ । गीतको म्युजिक भिडियो सार्वजनिक भए सँगै गीतले निकै चर्चा पाएको छ । यस गीतले अब गायनमा स्थापित हुने आशा लिएकी छन् उनले । हुन त संगीतको बाह्रखरी पढ्दै छु तर पनि मलाई यस गीतले स्रोतामाझ गायिकाको परिचय दिलाउनेछ भन्ने विश्वास लिएकी छु, उनले भनिन् ।


बिन्ध्यवासिनी म्युजिक प्रा.लि.को युट्यूव च्यानलबाट सार्वजनिक गरिएको गीतमा मनोजराज शिवाकोटीको शब्द, संगीत रहेको छ । उक्त गीतको म्युजिक भिडियो काजिस श्रेष्ठले निर्देशन गरेका छन् भने म्युजिक भिडियोमा पुष्प खड्का र अञ्जली अधिकारीको अभिनय निक्कै रोचक देखिन्छ ।
गीतको भिडियो सार्वजनिक भएसँगै इन्दुको चर्चामात्र बढेको छैन सफल पनि भएको छ । सोही गीतबाट इन्दु राप्ती म्यूजिक अवार्ड २०७४ का लागि सर्वोत्कृष्ट नवगायिका महिला सुगम संगीत विधाको उत्कृष्ट ५ मा पर्न सफल भएकी छिन् ।


गायन क्षेत्रमा प्रवेश गरेको छोटो समयमा र संख्यात्मक हिसाबले थोरै नै सिर्जना भएता पनि उनका हरेक गीतले चर्चा र सफलता पाउने गरेकै छन् । 
पछिल्लो समयमा कृष्ण पौडेलको शब्द र दिपक शर्माको संगीत रहेको ‘गाई चराउने पाखैमा’ बोलको गीत रेकर्ड गराएकी इन्दुको बाँचुञ्जेली नेपाली संगीतमा सक्रिय रहने र रहर योजना छ ।

–म्यूजिक खबर पाक्षिकबाट

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु