‘ईश्वर तैंले रचेर फेरी कसरि बिगारिस’ की गायिका कमला श्रेष्ठ रहिनन् ! भोली दाहसंस्कार गरिने !

म्यूजिक खबर
प्रकाशित: ६ चैत्र २०७४, मंगलवार

चैत्र ६, काठमाडौं ।

परदेशी बाबु आगनमा दिनु हुन्न वास,
सल्लाई हो जोवन कल्लाई हो,
सहि दिन्छु कुट बरु बोलिले नकुट,
सरर मलेवा, तारे भिरमा बाबियो लसरि,
ईश्वर तैंले रचेर फेरी कसरि बिगारिस आदि,

लगायतका कालजयी गीत गाउने गायिका कमला श्रेष्ठको असामयिक निधन भएको छ। कमलाको उपचारको क्रममा बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा १ बजेर ४० मिनेटमा निधन भएको उनको छोरा विनायकले जानकारी गराए।

उनलाई मधुमेह, उच्च रक्तचाप तथा मुटुसम्बन्धी रोगको समस्या थियो भने स्वास्थ्यमा समस्या आएपछि आइतबार बिहान ३ बजे अस्पताल लगिएको थियो। ‘जेठो दाइ क्यानडामा हुनुहुन्छ बुधबार मात्र नेपाल आउनुहुन्छ। त्यसपछि मात्र अन्तिम संस्कार गरिनेछ’, विनायकले भने– ‘अहिले उहाँको पार्थिव शरीर टिचिङ अस्पतालमा राखिएको छ।’

विसं २०२४ सालमा नौगेडीको माला मेरो”बोलको गीत गाएर रेडियो नेपालमा प्रथम भएकी थिइन् उनि। उनले मुना मदनमा गाएको गीत सर्बत्र चर्चामा रह्यो भने अन्य आधुनिक गीतहरु समेत एक से एक छन्। उनि रेडियो नेपालकी सम्मानित श्रेणी की गायिका हुन्।

नेपाली श्रोताकी प्रिय गायिका कमलाले बि.स. २०१७ सालदेखि रेडियो नेपालमा गीत गाउन थालेकी हुन्। उनि चलचित्र हिजो आज भोलि नामक चलचित्रमा नृत्यकारका रुपमा समेत रहिन । राष्ट्रिय नाचघरकी जागिरे कलाकार कमलाले गायन क्षेत्रमा अमुल्य योगदान यसै संस्था माध्यमबाट पुर्याएकी हुन्।

त्यसो त रेडियो नेपालमा उनका रेकर्डहरु प्रसस्त छन्। उनका अन्य चर्चित गीतहरुमा जाँदा जाँदा बाटो बिराएँ,तिम्रो विश्वासले,खेली बढी हुर्की,कसरि म भनु,म बाँच्ने उमेर,यो केटि कहाँको उदय पुरको,मुना मदनमा कसरि खायो आगोले दिदी स्वर सम्राट नारायण गोपाल संग युगल गायन आदि छन्।

उनका आमा बुवा- ईन्द्रमाया श्रेष्ठ,र रामबहादुर श्रेष्ठ हुन् भने श्रीमान नेपालका प्रसिद्द फुटबल खेलाडी तारा रत्न स्थापित हुन्। उनि नारायण गोपाल, गोपाल योञ्जन नातिकाजी लगायतका अग्रज श्रष्टाले समेत निकै मन पराइएकी गायिका हुन्। उनको जन्म बिस २००५ साल कात्तिक ५ गते भएको हो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु