एकल साँझका लागि सक्रिय हुँदै झरनाकुमार

म्यूजिक खबर
प्रकाशित: ५ फाल्गुन २०७०, सोमबार

काठमाडौं, ५ फागुन । हङकङमा रहेर आफ्नो कार्यव्यस्तताका बाबजुद पनि सञ्चार क्षेत्रमा सक्रिय रहँदै आएका झरना कुमार थापा अहिले विरही कार्की एकल साँझका लागि सक्रिय भएर लागिरहेका छन् । बाग्लुङ स्थायी घर भएका झरना कुमारले हङकङमा रहेर एसियन खबर डट कम संचालन गर्दै सञ्चारकर्ममा सक्रिय छन् भने अहिले विरही कार्की एकल साँझका लागि पनि उनी उत्तिकै सक्रिय भएर आर्थिक सहयोग जुटाउन लागि परेका छन् ।
चेपाङ बालबालिकाको सहयोगार्थ गरिन लागेको विरही कार्की एकल साँझका लागि उनले सहप्रायोजकका रुपमा एसियन खबर डटकमलाई अगाडि सारेका छन् भने अन्य आर्थिक सहयोग जुटाउन पनि सक्रिय भएर लागिपरेका छन् । एकल साँझका माध्यमले समाजसेवा गर्न पाउनु गर्वको कुरा भएको बताउँदै झरना कुमार आफूले सक्दो सहयोग गरेर चेपाङ वस्तीमा उज्यालो छर्ने अभियानलाई सफल बनाउनेमा तल्लिन रहेका छन् ।
विरही कार्की एकल साँझ आगामी फागुन २९ गते नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा सम्पन्न हुन गइरहेको छ भने यसलाई सुनखानी म्यूजिकले आयोजना गरेको हो । उक्त कार्यक्रममा गायक विरही कार्कीले आफूले जीवनमा गाएका चर्चित लोकगीतहरुलाई प्रस्तुत गर्नेछन् भने एकल साँझलाई अरनिको टेलिभिजन र नेपाल टेलिभिजन प्लसले प्रत्यक्ष प्रसारण गर्नेछन् । साथै राष्ट्रिय लोकसञ्चारकर्मी नेपालसँग आबद्ध रेडियोहरुले पनि एकल साँझलाई प्रत्यक्ष प्रसारण गर्नेछन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु