एकल साँझ गर्दै विमल डाँगी

म्यूजिक खबर
प्रकाशित: १० आश्विन २०७०, बिहीबार

गायक विमल डाँगी यतिबेला एकल साँझ गर्ने तयारीमा जुटिरहेका छन् । यही आश्विन १६ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन गइरहेको एकल साँझमा गायक डाँगीले करिब एक दर्जनभन्दा बढी गीतहरु प्रस्तुत गर्दैछन् । देउडा, सालैजो, पूर्वेली र पश्चिमेली गीतहरु गाउने तयारीमा जुटेका गायक डाँगीले १२ वटा एकल र अरु युगल गायन प्रस्तुत गर्नेछन् । विन्ध्यावासिनी म्यूजिकको आयोजनामा गर्न लागेको यस एकल साँझ कार्यक्रमका लागि गायक डाँगी यतिखेर व्यस्त बनिरहेका छन् भने एकल साँझका लागि अभ्यासरत रहेका छन् ।

महिला तथा बालबालिकाको सहयोगार्थ गरिन लागेको यस बिमल डाँगी एकल साँझ कार्यक्रमका लागि यतिबेला आर्थिक संकलनको कार्य भइरहेको छ । सहयोगी हातहरु डाँगीको कार्यक्रमका लागि अघि बढिरहेका छन् । सामाजिक क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले गरिन लागेको यस कार्यक्रमका लागि विमल डाँगीको स्वर शब्दमा सजिएका गीतहरुले गञ्जयमान हुनेछ । यतिबेला महिला तथा बालबालिकाको सहयोगका लागि करिब चार लाखभन्दा माथि रकम उठिसकेको छ भने अन्य रकमका लागि पनि गृहकार्य जारी रहेको गायक डाँगीले बताए ।
गायक विमल डाँगी डोल्पादेखि काठमाडौंसम्म आइपुग्दाको अवस्थाबाट धेरै माथि उठिसकेका छन् । अध्ययनको क्रममा काठमाडौं छिरेका गायक डाँगीले त्रिपुराकोट मन्दिरमा बोलको गीतबाट गायन यात्रा सुरु गरेको भन्दा फरक पर्दैन । उनको पहिलो रेकर्डेड गीत त्रिपुराकोट मन्दिरमा नै थियो । ०५९ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका गायक डाँगीले करिब ३ सयको हाराहारीमा गीत गाइसकेका छन् भने १८ वटा एल्बम प्रकाशित गरेका छन् । देशपरक, मायाप्रेम र सामाजिक भावका गीत गाउने गायक डाँगीले गाएका धेरै गीतहरु चर्चायोग्य पनि छन् । ०६१ सालमा घर बगायो बस्याछु धन्सारमा बोलको गीत रेडियो नेपालमा उत्कृष्ट बन्न सफल भयो । त्यसो गायक डाँगीले ०६० सालमा पानसमा बत्ती बालेको गीत बजारमा ल्याएपछि उनलाई गायन यात्रामा पछि फर्केर हेर्नु परेन । पानसमा बत्ती बालेको गीतले मायाप्रेममा फसेकाहरुको कथालाई जसरी यथार्थतामा परिणत गराउँदै लग्यो त्यसरी नै गायक डाँगीलाई पनि उचाइतर्फ लम्काइरह्यो । सांगीतिक भविश्यको मार्गमा उचाइ खोज्दै हिंडिरहेको बेलामा पानसमा बत्ती बालेको गीत उनको जिन्दगीको सार्थक यात्रामा सहयोगी बन्न सफल भयो ।
त्यसो त उनले नमस्तो डोल्पा चलचित्रसमेत निर्माण गरेका छन् । उनको नमस्ते डोल्पाले पनि राम्रै सफलता पाएको थियो । अशान्तिको हट्या बादल, बनचरिलाई, सारङ्गी रेट्दा, फापरको पिठो, कालिन्चोकी माइ, तिमी गयौ अर्कैको डोलीमा जस्ता सफल गीत पस्किसकेका गायक डाँगीले देउडा, पूर्वेली, काठे र पश्चिमेली भाकाका गीतहरुका अलावा उनले मौलिकता बोकेको धेरै गीतहरु गाइसकेका छन् । गायनकै क्रममा देशविदेशको यात्रासमेत गरिसकेका गायक डाँगी नेपाली लोकगीतप्रेमीहरुका लागि प्रिय गायकका रुपमा पनि चिनिन्छन् । उनको स्वरको मिठास, शब्दको चयन र शब्द लेखनमा पनि उनका कलमहरु चलिरहेकै छन् । समाजको यथार्थतामा गीतलाई उतार्दै अघि बढेका गायक विमल डाँगीले पहिलो एकल साँझ गरिसकेपछि अहिले दोस्रो एकल साँझका लागि दौडिरहेका छन् । एकल साँझका माध्यमले गर्न लागेको समाजसेवाले सार्थकता पाउनेमा गायक डाँगी ढुक्क छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु