ओमविक्रमलाई बचाउन टुँडिखेलमा कलाकारको कुम्भमेला

म्यूजिक खबर
प्रकाशित: २७ चैत्र २०७४, मंगलवार

२७ चैत, काठमाडौं । दुवै मृगौलाले काम गर्न छाडेपछि अमेरिकामा उपचार गराइरहेका पप सम्राट ओम बिक्रम बिष्टको सहयोगार्थ टुँडिखेलमा कलाकारहरुको कुम्भमेला सम्पन्न भएको छ । गायक ओम बिक्रम बिष्ट फन्ड राइजिङ्ग प्रोग्राममा विशिष्ट कलाकारदेखि अनुज कलाकारसम्मको उपस्थिति रहेको थियो । गायक राजेश हमालको संयोजनमा भएको उक्त कार्यक्रम रिबेल इभेन्ट्सको आयोजना र बिग नाइट्स इभेन्ट्सको ब्यबस्थापनमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा कलाकारहरुले गायक बिष्टलाई सम्झदै उहाँको स्वास्थ्यलाभको कामना सहित प्रस्तुति दिएका थिए ।


टुँडिखेलमा दीप श्रेष्ठ, ज्योति घिमिरे, कुमार बस्नेत, कोमल वली, सन्जय श्रेष्ठ, शिव श्रेष्ठ, देव रत्न, कर्ण दास, सचिन रौनियार, भीम तुलाधर, जेम्स प्रधान, करिश्मा मानन्धर, रेजिना उप्रेती, धिरज राई, मिङ्मा शेर्पा, महादेव त्रिपाठी लगायत दर्जनौं कलाकारहरुले गायक विष्टलाई बचाउनका लागि सांस्कृतिक कार्यक्रममार्फत सहयोगको अपिल गरेका थिए ।

उपचारको क्रम जारी रहेको र सरकारले खासै चासो नदिएको हुँदा यस्ता फण्ड राईजिङ कार्यक्रमहरु गरेर सहयोग गर्ने आँट गरिएको हो कार्यक्रमका संयोजक राजेश हमालले जानकारी दिए । केहि समय अगाडी अमेरिकाको न्युवर्कमासमेत रेबल इभेन्ट्स र नेपाल अमेरिकन कलाकार एसोसिएसनको संयुक्त आयोजनामा फण्ड राइजिङ कार्यक्रम सम्पन्न गरेर नेपाल आएका हमालले गायक विष्ट बचाउ अभियान संचालन गरिरहेका छन् । अमेरिकामा भएको कार्यक्रमबाट रु ७ हजार १ सय ८९ डलर उठेको थियो । सो रकमको १ हजार डलर संगीतकार पूर्ण गुरुङ्गलाई हस्तान्तरण गरेको थियो भने बाँकी ६ हजार १ सय ८९डलर पप गायक ओम बिक्रम बिष्टलाइ हस्तान्तरण गरेको गायक हमालले जानकारी दिए ।


रेबलले टुडिखेलमा आयोजना गरेको उक्त कार्यक्रममा गायक राजेश हमालले भने “जिउँदो रहुन्जेल कुनै रोग लागेको छ भन्ने कसैलाई चासो छैन, जब कोहि कलाकारको मृत्यु हुन्छ तब रुवाबासी चल्छ । सकिन्छ भने स्रष्टा र कलाकारको सम्मान जिउँदोमा नै गरिदिनुस् मरेपछि हैन ।” ओम बिक्रम बिष्ट बिशेष इभेन्टहरुमा व्यस्त हुने गर्दथे । हाल स्वास्थ्य स्थिति नाजुक अबस्थाकै कारण उनि अस्पतालको बेडमा मृत्युसंग लडिरहेका छन् । अमेरिका पुगेको केहि समय बित्न नपाउदै ओम बिक्रम बिष्टलाइ मृगौलाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । बिष्टको लगातार उपचार भैरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु