ककनीमा साहित्य यात्रा

म्यूजिक खबर
प्रकाशित: १७ चैत्र २०७०, सोमबार

ककनी (नुवाकोट), १७ चैत । राजधानीबाट त्रिशूली बजार जाँदा करिब २५ किमि उत्तरपश्चिम दिशामा पर्ने पर्यटकीयस्थल ककनीमा शनिबार साहित्यकार तथा पत्रकारले साहित्यिक यात्रा सम्पन्न गरे ।
त्रिशूली वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको ‘ककनी साहित्ययात्रा–२०७०’लाई नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल(टान) र नेपाल पर्वतारोहण सङ्घले सहयोग गरेका थिए । कार्यक्रमको मुख्य संयोजन प्रतिष्ठानका सदस्यद्वय श्यामराज पाठक र भैरवी ढुङ्गानाले गर्नुभएको थियो ।
समुद्र सतहबाट करिब दुई हजार मिटर अग्लो सो स्थानबाट गणेश, लाङटाङदेखि अन्नपूर्ण र धवलागिरि हिमालसम्म फैलिएको हिमशृङ्खला, नुवाकोटको अग्लो राहुचुली पहाड, गुराँस, सल्ला आदि वनस्पति, नागबेली परेका लिखु र तादी नदी, थानसिंह फाँट देख्न सकिन्छ । तामाङ जातिको बाहुल्य रहेको ककनीमा रेन्बो ट्राउट माछा, मुला र च्याउको पनि उत्पादन हुन्छ ।
राजधानीबाट गएका प्राध्यापक, भाषाविद्, साहित्यकार, इतिहासविद्, संस्कृतिविद् र पत्रकारले पुरानो रानीपौवा बजार, ककनीस्थित थाइ एयरवेजको घोप्टेभिर दुर्घटनाकोककनी स्मारक उद्यान र ऐतिहासिक वसन्ती वाग(गगनसिंहकी प्रेमिकाको घर)को अवलोकन गरे भने कोही भुइँकाफल खान र गुराँस टिप्न व्यस्त देखिन्थे । सहभागीहरू कोही तस्बिर लिन र कोही हिमालको अवलोकन तथा कोही घुमघाममा रमाइरहेका थिए ।
यात्रामा साहित्यकार चन्द्रप्रसाद भट्टराई, बाबुराम लामिछाने, रामप्रसाद पन्त, रामेश्वर मातृदास, तारा सुवेदी, विमल भौकाजी, विप्लव ढकाल, विपीन किरण, विमला तुम्खेवा, जयन्ता पोखरेल, गीता कार्की, हरिमाया भेटवाल, प्रोल्लास सिन्धुलीय, स्वप्निल स्मृति, अभय श्रेष्ठ, भावेश भुमरी, छम गुरुङ, थरेन्द्र बराल, हेम प्रभास र मणिराज सिंह, नुवाकोटका वासुदेव गुरागाईं, हरिप्रसाद पाण्डेय, रेशमबहादुर पाँडे, शङ्करलाल श्रेष्ठ, श्याम रिमाल, धर्तीचन्द्र यात्री, वैरागी जेठा, यशोदा अधिकारी, उमेश पाण्डे, विद्या सापकोटा, राजकुमार पुत्ला, सङ्गीता पनेरु, जनक घिमिरे, सुमित्रा पौडेल, शिवप्रसाद आचार्य, विष्णु तारुके र नवदीप श्रेष्ठ, पत्रकार तेजकुमार श्रेष्ठ, उपेन्द्र केसी, शन्तराम बिंडारी र सीता पोखरेल, प्रतिष्ठानका उपाध्यक्ष मोदनाथ सादा, सचिव कृष्णकिसु न्यौपाने, कोषाध्यक्ष राजेन्द्रमान डङ्गोल तथा सदस्य कृष्णदेव रिमाल, प्रेमराज सिलवाल, पुरु लम्साल, कौशला लामिछाने र प्रकाश सिलवाललगायत १०० जनाको सहभागिता थियो । उनीहरूलाई स्थानीय नेता भाग्यश्री लामा, तारागाउँ विकास समिति आदिले स्वागत गरेका थिए ।
साहित्यकारले ककनी डाँडामा आयोजित कार्यक्रममा कविता, गीत, गजल र हास्यव्यङ्ग्य प्रस्तुत गर्नुभएको थियो । त्यस्तै चित्रकलाकार डा रामकुमार भौकाजीले ककनीको स्थलगत चित्र निर्माण गरी सार्वजनिक गर्नुभएको थियो ।
सो अवसरमा साहित्यकार बुँद राना, प्रा डा गार्गी शर्मा, डा निर्माेही व्यास, युवराज मैनाली, इतिहासविद् प्रा दिनेशराज पन्त, टानका कार्यकारी अधिकृत गङ्गासागर पन्त, प्रतिष्ठानका अध्यक्ष श्रीहरि फुयाँल र महासचिव आरएम डङ्गोलले ऐतिहासिक, सांस्कृतिक एवम् प्राकृतिकस्थलको भ्रमण गरी साहित्यकारले तिनको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिष्ठानले यसअघि विसं २०६७ मा नुवाकोट दरबार–बेत्रावती –देवीघाट साहित्ययात्रा र २०६८ मा चिम्टेश्वर साहित्ययात्रा आयोजना गरेको थियो । विसं २०१९मा कलाकार लैनसिंह बाङ्देल, गेहेन्द्रमान अमात्य, साहित्यकार सिद्धिचरण श्रेष्ठ आदिले यहाँ आई स्थलगत रुपमा कला र साहित्य सिर्जना गरेका थिए । काठमाडौँ विजयअघि पृथ्वीनारायण शाहले ककनी र शिवपुरीमा मोर्चा लगाएका थिए ।

kakani2 kakani1

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु