कतारमा देउसी–भैलो

म्यूजिक खबर
प्रकाशित: ८ कार्तिक २०७१, शनिबार

काठमाडौं, ८ कार्तिक । यसपालिको दीपावली अर्थात् तिहारमा कतारमा रहेका नेपाली दाजुभाईको घर–घर÷कोठा कोठामा देउसी–भैलो कार्यक्रम हुँदैछ । नेपालीहरुको महान चाड तिहारलाई विदेशी माटोमा पनि रमझमका साथ मनाउने उद्देश्यले बाग्लुङ समाज कतारले घरदैलो देउसी भैलो कार्यक्रम गर्न लागेको हो । उक्त देउसी भैलोमा सहभागी हुन लागेकी चर्चित लोकगायिका देविका केसीले भनिन्, ‘विगतका वर्षमा पनि यहाँ देउसी भैलो कार्यक्रम हुन्थ्यो । तर, यसरी घरघरमा गएर देउसी खेल्ने गरिएको थिएन ।’ उनले थप्दै भनिन्, ‘तर यसपालि नेपालको गाउँघरमै जसरी नेपालीको घरदैलोमा देउसी खेल्ने कार्यक्रम बनाएका छौं ।’
देविकाका अनुसार अगस्ट २३, २४ र २५ तारिख तीन दिन देउसी भैलो खेल्ने कार्यक्रम तय भएको छ । यो कार्यक्रममा राष्ट्रिय कलाकार भने देविका मात्र सहभागी हुनेछिन् भने अन्य कतारमै बस्दै आएका नेपाली तथा कलाकार कार्यक्रममा सहभागी हुनेछन् । केही सातादेखि कतारमै बस्दै आएकी गायिका देविकाले अनलाइनमा कुरा गर्दै भनिन्, ‘यसपालि त कतारमा पनि तिहार रमाइलो हुने भयो ।’ यी गायिकाले दसैं पनि विदेसमै मनाएकी थिइन् । बेल्जियममा रहेका नेपालीसँग यसपालिको दसैं मनाएकी देविकाले कतारमा देउसी भैलो खेलेर तिहार मनाउन पाउँदा आफू उत्साहित रहेको बताइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु