कलाकारको जिन्दगी

म्यूजिक खबर
प्रकाशित: १२ बैशाख २०७४, मंगलवार

म्यूजिकखबर डेक्स

कलाकारको जिन्दगी बाहिरबाट देख्दा सौखिन हो भने भित्र आफ्नै पीडामा डुबुल्की मारेको हुन्छ । बाहिर जति वाही वाही भए पनि उनीहरुको भित्री जिन्दगी कसैलाई थाहा हुँदैन । अभावैअभावमा पिल्सिएको जिन्दगीभित्र कलाकार एउटा सामाजिक रुपमा चर्चित बनिरहेको हुन्छ । समाजको ऐनाका रुपमा कलाकारलाई लिइन्छ तर ऐना फुट्यो भने कस्तो हुन्छ भन्ने कुरा सबैले अनुमान गरेकै कुरा हो । समाजको सकारात्मक बाटोमा कलाकार हिंड्नुपर्छ भन्ने सोच सबैमा हुन्छ । एउटा सेलीब्रेटी बनिसक्दा पनि कलाकारको आफ्नो पारिवारिक जिन्दगी भने तहसनहस भइरहेको हुन्छ । पारिवारिक पीडाभित्र आँसु लुकाउँदै स्टेजमा हाँस्नुपर्ने बाध्यतामा हुन्छ कलाकार । कहिले तल त कहिले माथि अनि कहिले चर्चा त कहिले फ्लपको श्रेणीमा कलाकार दौडिरहेको हुन्छ ।

1
आजभोलि एउटा गीत बजारमा निकै चर्चा छ ‘कलाकारको जिन्दगी’ । यसभित्र कलाकारको एउटा वास्तविकता रहेको देखिन्छ । गीतभित्र कलाकारको जिन्दगीको उतार चढावलाई प्रस्तुत गरिएको छ । कलाकार कहिले हिट कहिले फ्लप, कहिले यति कमायो, कहिले सुको नभएर भट्टीमा बास छ भन्ने गर्छन् । कहिले रोयल्टी नपाएको तनाव, कम्पनीको हालीमुहालीको तनाव, गफैगफमा जिन्दगी बितेको छ । त्यही जिन्दगीको यथार्थ धरातलमा ‘कलाकारको जिन्दगी’ चलेको भेटिन्छ । जसमा सुगम पोखरेलको स्वर रहेको छ भने गिरिश खतिवडा र यमबुद्धले ¥याप हानेका छन् । ठूला भनेकैबाट धोका खानुपरेको कुरा यस गीतभित्र प्रस्तुत गरिएको छ । तर समाजले देखेको कलाकार भित्र जे भए पनि जिन्दगी कलाकारितामा नै समावेश गरेको कुरालाई पनि सकारात्मक तरिकाले प्रस्तुत गरेका छन् । यमबुद्ध अर्थात अनिल अधिकारीको भौतिक शरीरले यस क्षेत्रबाट विदा लिइसकेको छ तर यसभित्र प्रस्तुत भएका दुई स्रष्टा सुगम पोखरेल र गिरिश खतिवडासँग प्रत्यक्ष भेटेर गरिएका केही कुराहरुले प्रष्ट पार्छ कलाकारको जिन्दगी कस्तो हो भन्ने ।

गायक सुगम पोखरेल चल्ती र चर्चित गायक हुन् । उनको फ्यान फलोअर छुट्टै छ । आधुनिक पप गायनमा सुगम पोखरेललाई नचिन्ने कमै होलान् । पछिल्लो समयको उनको चलचित्र प्रेमगीतको ‘म यस्तो गीत गाउँछु’बाट त झन् गायनको यात्राको बाटोलाई मोडिदिएको छ । गायक पोखरेलका अनुसार यो कलाकारको जिन्दगीभित्र आफ्नो गीत जसरी प्रस्तुत भएको छ यथार्थ धरातलमा भएको महसुस भएको बताउँछन् । उनको गीतलाई ¥यापका दुनियाँको दुई पुस्ता गिरिश खतिवडा र यमबुद्धको प्रस्तुतिले पूर्णता दिलाएको छ । ¥यापका माध्यमले कलाकारको जिन्दगीका धेरै कुराहरु समेट्न सकिएको गायक पोखरेलले बताएका छन् । कलाकारको बारेमा सायद कसैले पनि यस्तो गीत निर्माण भएका छैनन्, यो सायद पहिलो नै होला पोखरेलले बताए । कुनै अतिरञ्जित गर्नका लागि होइन, यो यथार्थता हो । अब यसमा गिरिशको महत्वपूर्ण भूमिका रहेको छ भने अनिलले पनि धेरै मेहनत गरेको छ तर साथमा अझ अनिल भइदिएको भए अझै सफलता भएको महसुस हुन्थ्यो ।

¥यापको क्षेत्रमा अघिल्लो पुस्ताका चर्चित ¥यापर गिरिश खतिवडा आफूलाई चित्त बुझेकोले यो गीतमा फिलिङ्समा ¥याप दिएको बताए । उनले कलाकारको जिन्दगीभित्रका शब्दहरुले आफ्नो मन छोएको हुँदा एउटा कलाकार कसरी जिन्दगी गुजारिरहेको छ भन्ने यथार्थभित्र गीत तयार भएको गिरिशले बताए । गीत रेकर्ड भएको लामोसमय बित्दा पनि भिडियो गर्न नपाएको तीनैजना एकठाउँमा जुट्न नसक्दानसक्दै यमबुद्धले भौतिक शरीरलाई धर्तीबाट विदा दिए । उनको अभावमा पनि यो गीत तयार गरिएको बताए । श्रद्धाञ्जलीस्वरुप यो गीत आएपछि कलाकारको जिन्दगीको यथार्थ धरातल प्रष्ट भएको बताएका छन् । कलाकारको जिन्दगी गीतजस्तै उदाहरणमा सुगम पोखरेल, गिरीश खतिवडा र यमबुद्ध भए पनि उनीहरुको सिर्जनाले कलाकारको धरातल प्रष्ट पारेको हो । सीमितमा यो लागू नहोला, कति व्यवसाय गर्नेहरु यो क्षेत्रमा लगानी गरिरहेका छन् भने कति रेमिट्यान्स यो क्षेत्रमा खर्चिएको अवस्था छ । तर कला र गला प्रस्तुत गर्नेहरु भने सधैं तड्पिरहेको अवस्था देखिन्छ ।
कुनै कलाकार आज पूर्व छ भोली पश्चिम पुग्छ । कोही गीत चर्चामा हुन्छ कहीँ जान पाउने अवसर बन्दै बन्दैन । कसैका गीत बिक्री हुन्छ मालामाल हुन्छ तर कही रोडमै सीमित भइरहेको हुन्छ । गीत हिट भइरहेको कलाकार चिया खाने पैसा नपाएर दिन बिताइरहेको अवस्था पनि छ । एउटा गीत बल्लतल्ल निर्माण ग¥यो लगानीसहित कम्पनीलाई बुझायो तर गीत हिट भइदिन्छ कलाकारको हातमा शून्यता मिल्छ । कलाकारितामा दशकौं विताइसकेका कलाकारको भविश्य हेर्दा पनि औषधी किन्ने पैसा नभएर मृत्युबरण गरेका घटनाहरु पनि हाम्रो सामु छ । दाहसंस्कारका लागि दाउरा किन्ने पैसा खोज्नुपर्ने अवस्था पनि धेरैको देखिएको छ । कला छउन्जेल रमाइलो दिँदै हिंड्दा पारिवारिक रुपमा धुजाधुजा भएको जिन्दगी कलाकारको भेटिएको छ । दुई चार दिन चले पनि सधैं चल्नका लागि भने असहज परिस्थिति सिर्जना भएको घटनाहरुले अब सरकारले केही भूमिका खेलिदिएर नीति नियम बनाइदिए हुन्थ्यो भन्नेमा छन् कलाकारहरु । नीति नियम पनि छ तर प्रतिलिपि अधिकारको सदुपयोग गरेर कलाकारले रोयल्टी लिन पनि सकेका छैनन् भने सरकारलाई उचित रुपमा कर तिर्न पनि सकेका छैनन् ।

गीत चल्दा उसको कमाइ कति भयो होला भनेर अनुमान गर्नेहरु उ सडकमा हुँदा के भएर होला भन्ने प्रश्न गर्दै गर्दैनन् हाम्रो समाजले । समाज एकातिर दौडिएको छ कलाकार अर्कै बाटोमा । जुनसुकै भूगोलबाट आएर पनि आफ्नो क्षेत्रको कला संस्कृतिलाई प्रस्तुत गर्दै देशको कलासंस्कृतिलाई धनी बनाउन कलाकार लागिपरेका छन् तर सोचेजस्तो भविश्य नदेखेपछि अन्धकारमय जिन्दगी जीउनुमा नै रमाउनुबाहेक अरु केही छैन । कलाकारितामा लागेर धेरै मनहरु विचलित भएका छन् । धेरै पलायन भएका छन् भने केही आदर्शमा बाँचिरहेका छन् । तर ती आदर्श गर्नेहरुको पारिवारिक जीवन सहज बन्न नसकेको अवस्था पनि छ । भोली के होला, परिवारको भविश्य के होला ? सबैको नमस्कार र तालीले वाही वाही पाउँदा रित्तो गोजी कतिदिनसम्म टिक्छ भन्नेमा धेरै जनाको यात्रा तय भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु