कलाकार सङ्घको २९ औं स्थापना दिवस

म्यूजिक खबर
प्रकाशित: २७ भाद्र २०७४, मंगलवार

२५ भाद्र २०७४, काठमाडौं । नेपाल चलचित्र कलाकार सङ्घले २९ औं स्थापना दिवस कार्यक्रम सम्पन्न गरेको छ । अनामनगरस्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गरी २९ औं स्थापना दिवस कार्यक्रम सम्पन्न गरेको हो । यस अवसरमा वृहत कार्यक्रम गर्ने योजना भए पनि स्थापना दिवसको पूर्व सन्ध्यामा ग्लोबल नेपाली फिल्म अवार्डमा सहभागिताका लागि सङ्घका अध्यक्ष रामकेशर बोगटी अमेरिका जानुपरेकोले ठूलो आयोजना गर्न नसकिएको कुरा जानकारी गराइएको थियो । हरेक बर्षको भाद्र २३ मा सङ्घले विविध कार्यक्रमहरुका साथ स्थापना दिवस मनाउँदै आएको थियो ।


सङ्घका पूर्व अध्यक्ष तथा सल्लाहकार कृष्ण मल्लले सङ्घकी संस्थापक अध्यक्ष स्व। शान्ति मास्केको तस्बिरमा माल्यार्पण गरी कार्यक्रमको औपचारिक आरम्भ गरेका थिए ।
०४५ सालमा भुइँचालो गएर खासगरी नेपालको पूर्र्वी क्षेत्रमा धनजनको ठूलो क्षति भएको थियो । त्यो बेला राहत सङ्कलन र वितरणका लागि हाम्रो संस्था अभियानको अफिसमा केही कलाकारहरु भेला भएर छलफल ग¥यौं । त्यो संगठित समूहले राहत सङ्कलन र वितरणमा धेरै ठूलो उपलव्धी हासिल गरेपछि हामीमा एक प्रकारको उत्साह जाग्यो । हामीले संगठनको आवश्यकता महसुस ग¥यौं र ०४५ साल भाद्र २३ गते संस्थाको स्थापना गरियो, पूर्व अध्यक्ष मल्लले भने । कलाकारहरुले राजनीतिक ध्रुविकरण भन्दा अलग रही सानातिना वैमनष्य त्यागेर पेशागत हितका लागि एक हुनुको विकल्प नरहेको बताउँदै मल्लले अवार्ड जसले र जहाँ गरे पनि यसले चलचित्र क्षेत्रको विस्तारका लागि ठूलो भूमिका निभाउने बताए । यसैगरी कार्यक्रममा सङ्घका पूर्व अध्यक्ष नवल खड्काले आफ्नो कार्यकालमा भएका र हुँदै गरेका कामहरु के भईरहेको छ ? भनि राखेको जिज्ञाशामा वर्तमान अध्यक्ष रामकेशर बोगटीले जवाफ दिएका थिए ।

हालै अमेरिकामा सम्पन्न ग्लोबल नेपाली फिल्म अवार्ड समारोहमा छक्का पन्जा चलचित्र समूह र कलाकार सङ्घका लागि स्थानीय चलचित्र कलाकार सङ्घ च्याप्टरको सहकार्यमा बाढी पीडितहरुको सहयोगार्थ सङ्कलित रकमको बारेमा समेत कार्यक्रममा जानकारी गराईएको थियो । प्राप्त जानकारी अनुसार त्यहाँ ५ हजार ४ सय डलर सङ्कलन भएकोमा नेपाली रुपैया २ लाख ४० हजार कलाकार सङ्घ मार्फत राहत वितरण गरिने र बाँकी रकम छक्का पन्जा समूहलाई हस्तान्तरण गरिने भएको छ । सो स्थापना दिवस कार्यक्रममा सङ्घका पूर्व अध्यक्षहरु, वर्तमान कार्यसमितिका पदाधिकारीहरु लगायत केही पत्रकारहरुको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु