कुसुमको ‘नव कुसुम’ सार्वजनिक !

म्यूजिक खबर
प्रकाशित: १४ जेष्ठ २०७५, सोमबार

जेष्ठ १३, काठमाडौं । प्रवासी गायिका कुसुम दाहालको एल्बम् सार्वजनिक भएको छ । डेनमार्क बस्दै आएकी कुसुम दाहालले आफूले गाएका पाँच वटा गीतहरुलाई समावेश गरी ‘नवकुसुम’ नाम दिएर एल्बम् सार्वजनिक गरेकी हुन् । पछिल्लो समयका चर्चित संगीतकार भूपु पाण्डेद्वारा संगीतवद्ध सम्पूर्ण गीतहरुलाई पाँच भिन्न भिन्न गीतकारहरुले रचना गरेका हुन् । एल्बम्मा डा. कृष्णहरि बराल, भविन्द्र नेम्वाङ, मनोज केसी ‘समय’, पूर्णबहादुर बस्नेत र गोविन्द लम्सालका गीतहरु रहेका छन् । हालका लागि भविन्द्र नेम्वाङको गीतलाई गृष्मा भट्टराईले म्युजिक भिडियो निर्माण गरेकी छिन् ।


निराजन प्रधान र आशा गौतम फिचरिङ रहेको गीतलाई कविराज गहतराजले निर्देशन गरेका हुन् भने छायांकन सौरभ लामाको रहेको छ । त्यस्तै भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । डेनमार्क र नेपालका बाल मन्दिर, दरबार मार्ग र डेजाभु क्लबमा छायांकन भएको गीत निकट भविष्यमै सार्वजनिक हुने भएको छ । म्युजिक भिडियोको निर्मातामा नवराज भट्टराई रहेका छन् ।

डेनमार्कलगायतका देशहरुका लागि नेपाली राजदूत युवनाथ लम्सालले आइतवार आयोजित कोपनहेगनस्थित एक समारोहमा उक्त एल्बम्को विमोचन गरेका हुन् । कार्यक्रममा एन आर एन ए का अध्यक्ष यमलाल सुवेदी, जनसम्पर्क समितिका वीरेन्द्र सिंह कार्की, विभिन्न राजनैतिक दलका भातृ एवं भगिनी संघ, संगठनहरु, विभिन्न साँस्कृतिक मञ्चहरु, पत्रकार एवं अतिथि गणहरुको उपस्थिति रहेको थियो । एल्बम विमोचन समारोहमा गायिका कुसुम दाहालले एल्मब्मै समावेश दुई गीतहरु सुनाएकी थिइन् । कार्यक्रमको सञ्चालन देवश्री कोइरालाले गरेकी थिइन् ।
गीत निकट भविष्यमै परञ्जय फिल्मस्को युट्युब च्यानलबाट हेर्न सकिने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु