केसी र थापाको सपना चक्नाचुर

म्यूजिक खबर
प्रकाशित: १७ आश्विन २०७०, बिहीबार

चलचित्रका अभिनेता भुवन केसी र अभिनेत्री रेखा थापा पार्टीले प्रत्यक्षबाट दिने टिकट दिन्छ भनेर हल्ला गर्दै हिडेको भए पनि अन्नतः पार्टीले उनीहरुलाई दिने भनेको टिकट अर्कैलाई दिएपछि उनीहरुको सपना चक्नाचुर भएको छ ।
अभिनेता भुवन केसीलाई एमालेले काठमाडौं– १ बाट टिकट दिने भने पनि अन्ततः उनको चर्को आलोचना पार्टीभित्र भएपछि उनको ठाउँमा विद्या न्यौपानेलाई टिकट दिने पार्टीको निर्णय भइसकेको निकट स्रोतले जनाएको छ । केसी एमालेमा दुई वर्षअघि मात्र प्रवेश गरेका थिए । एमालेले टिकट नदिए केसीले राप्रपा नेपालमा जाने भनेर हल्ला पनि राम्रै चलेको थियो । अन्ततः राप्रपा नेपालले यसअघि नै उक्त क्षेत्रबाट उम्मेदवारहरुको घोषणा गरिसकेको छ भने एमालेले उनलाई टिकट नै नदिने भएको छ ।
त्यस्तै अभिनेत्री रेखा थापाले केहीसमयअघि मात्रै एमाओवादी पार्टी प्रवेश गरेर अध्यक्ष प्रचण्डको हातको टीका ग्रहण गरेकी थिइन् । हुन त थापा माओवादीको आमहड्तालका क्रममा अध्यक्ष प्रचण्डसँग नाचेदेखि उनको सबै क्षेत्रमा चर्चा हुँदै आएको थियो । तर पार्टी प्रवेशपछि उनी एकाएक टिकट पाउने भन्दै हल्ला गरेर हिंडे पनि अन्नतः पार्टीको उम्मेदवारको लिस्टमा उनको नाम अटाउन सफल भएन । प्रत्यक्षतर्फ पर्सा क्षेत्र नं १ बाट सिफारिसमा परेकी रेखा थापा अन्ततः टिकट नपाएर उनको ठाउँमा बलिराम साहलाई उम्मेदवारका रुपमा पार्टीले टिकट दिएको छ । १२ वर्षे युद्धदेखि हालसम्म पार्टीभित्र क्रियाशील रहेका व्यक्तिहरुलाई टिकट नदिई नवप्रवेशीहरुलाई टिकट दिन लागेको भन्दै पार्टीभित्र विरोध भएपछि थापालाई पनि टिकट दिन नमिलेको पार्टी स्रोतको भनाई छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु