क्यामेरा देखेपछि डर लाग्थ्यो

म्यूजिक खबर
प्रकाशित: २० माघ २०७२, बुधबार

अभिनयको दुनियाँमा पाइला चाल्दै गरेका सज्जन हमाल वास्तवमै सज्जन मोडलका रुपमा चिनिन्छन् । उनले आफ्नो अभिनयको क्यारिअर सुरुगर्दाका दिनहरु सम्झँदै भनें– ‘रहर थियो तर क्यामेरा अगाडि परेपछि डर लाग्थ्यो ।’ उनले इमान्दारीपूर्वक बोलेको कुराले पनि उनको नाम जस्तै व्यवहार छ भन्ने पुष्टि हुन्छ । यतिबेला उनले करिब दुई दर्जन म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् । विदेश जानुभन्दा आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोच उनीभित्र छ । हुन त उनी उच्च व्यवसायिक घरानाका युवा हुन् । जोश जाँगर भएको बेलामा मुलुकभित्रै केही गर्नुपर्छ भन्ने स्वभाव उनीभित्र भएकै कारण गीतसंगीत उद्योगमा उनको लगाव देखिएको होला ।

sajjan hamal 1
भीमपोखरा बाग्लुङका सज्जनको पारिवारिक वातावरण भने राम्रै छ । घरका सबै कमाउनेतर्फ उन्मुख भए पनि उनको सोचाइ भने विपरीत बन्यो । धन कमाउनु मात्र ठूलो कुरा होइन रहेछ भन्ने उनले बुझे । धनभित्र मन बस्न सक्दैन र मन हुनेसँग धन नहुन पनि सक्छ भन्ने उनको धारणा हो । उनको परिवारका सदस्य विदेशतिर व्यवसाय गर्दै आइरहेका छन् तर उनीभित्र भने सांगीतिक माहौलले बास गरेको छ ।
उनको अभिनयको यात्रा भने राजन ठकुरी लय र शब्दमा रहेको फणिन्द्र ठकुरी स्वरमा रहेको ‘बचन घाउ दुख्छ निरमाया’ बोलको गीतबाट नै थियो । उक्त गीतको म्यूजिक भिडियोमा पहिलोपटक क्यामरा अगाडि अनुहार देखाउँदा निकै लाज र डर लागेको उनी बताउँछन् । हुन पहिलोपटक काम गर्दा सबै क्षेत्रमा नयाँ अनुभव त भइहाल्छ तर पनि रहरै रहरमा अभिनयको पाटोलाई रोजेका सज्जन पहिला जति लाज र डर मान्थे अहिले भने व्यवसायिक मोडलका रुपमा नै परिचित भइसकेका छन् । पछिल्लो समयमा हमाल म्यूजिकको अध्यक्ष पदमा रही गीतसंगीतको क्षेत्रमा व्यवसायिक जमर्को गरिरहेका सज्जनले कम्पनी संचालनको छोटो समयमा दुई दर्जनभन्दा बढी गीतसंगीतको बजार व्यवस्थापन गरिसकेका छन् ।

sajjan hamal
अभिनयको यात्रामा लम्किरहँदा उनलाई मोडल हो भनेर चिनाउने गीत भने विष्णु खत्रीको स्वरमा रहेको ‘घर बनाउन आउनु’ बोलको म्यूजिक भिडियो नै थियो । त्यसपछि धेरै आशा गरेको म्यूजिक भिडियोमा उनले राजन ठकुरीको ‘बाटो मोड्ने छैन’ लाई लिएका छन् । उनी भन्छन् – ‘म सुरुवातमै छु, त्यसैले अझै मेहनत गर्न बाँकी छ, म एउटा विद्यार्थी मात्र हुँ ।’

hamal sajjan
रहरै रहरैमा मोडलिङ क्षेत्रमा लागेका सज्जन अभिनयको दुनियाँलाई एउटा नाटकजस्तै सम्झन्छन् । रमाइलोभित्र रमाउनु पर्छ भन्ने स्वभाव उनीभित्र छ तर मोडलिङमा गीतको भावअनुसार अभिनय गर्नुपर्दा कहिलेकाहीँ रमाइलोभन्दा बाहिर गएर अभिनय गर्नुपर्ने अनुभव पनि उनीसँग छ । रमाइलो अनि चुनौतिपूर्ण क्षेत्रका रुपमा उनले मोडलिङलाई लिने गर्छन् । त्रिचन्द्र क्याम्पसमा बिएससीमा अध्ययनरत रहेका सज्जन रमाइलोले नै जिन्दगी चल्दैन तर रमाइलोकै क्षेत्रको विकासमा भने सबै मिलेर लाग्नुपर्ने बताउँछन् ।

sajjan

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु