‘क्यामेरा नै ब्वाइफ्रेन्ड जस्तो लाग्थ्यो’

म्यूजिक खबर
प्रकाशित: १५ पुष २०७४, शनिबार

सुमन पण्डित/ म्यूजिकखबर

काठमाडौं /म्यूजिक भिडियो दुनियाँ रमाइलो भए पनि भित्री रुपमा निकै संघर्षशील रहेछ मोडलिङ । पछिल्लो समय धेरै नयाँ मोडलहरु म्यूजिक भिडियोको दुनियाँमा फरक फरक रुपमा भित्रिरहेका छन् तर मोडल गीत राई भने सदाबहार रुपमा आफूलाई प्रस्तुत गर्दै हिजोदेखि आजसम्म उस्तै रुपमा परिचित छन् । हिजोको तुलनामा आज निकै सहज बन्दै गइरहेको भए पनि भिडियोमा आफ्नो कला प्रस्तुत गर्ने तरिका भने अझै सुधार्नु पर्ने देखिन्छ मोडल राईले भनिन् ।


शंकर बिसीले मोडलिङमा अवसर दिएर यो दुनियाँमा रमाउन पुगेकी हुन् । मुखै तितो बनायो तीते करेलीले, झिमझिम सानु नझिम्क्याउ परेली, पछ्यौरी लेउ बैना जस्ता दुईसय भन्दा बढी भिडियोमा अभिनय गरिसकेकी गीता राईलाई बजारमा अलि फरक रुपमा चिन्ने गर्छन् । उनी एउटा राम्रो नृत्यङ्गना पनि हुन् ।

सानैदेखि नृत्यमा सौखिन उनलाई गाउँमा गीता मात्र भनेर चिन्थे तर मोडल भइसकेपछि उनले खेलेका भिडियो हेरेर गाउँका साथीहरुले मोडल गीता, कलाकार गीता भन्दै सम्बोधन गरेको उनी सम्झिन्छन् । उनको कलाकारितालाई देखेर घरमा पनि निकै खुशी हुनुभयो । काठमाडौंमा जन्मिएर यतै हुर्केकी उनको अभिनय, नृत्य देखेर साथीहरु खुशी हुन्छन् । स्कुल पढ्दादेखि नै नृत्य प्रस्तुत गर्दै आएकी गीतालाई साथीहरुले मल्टी ट्यालेन्टका रुपमा सम्बोधन गर्थे । सबैको प्रशंसाले आफूलाई पनि खुशी बनाएको अनुभव सुनाउँछिन् उनी ।

कलाकार भइसकेपछि समाजले हेर्ने दृष्टिकोण फरक पाइन्छ नी भन्ने प्रश्नमा गीता राई भन्छिन्– ‘त्यो त हेर्ने दृष्टिकोणमा पनि फरक पर्छ । म कलाकार हुँ भन्ने कुरा कलाकारले पनि बुझ्नु प¥यो । एउटा असल, स्वाभिमानी, लगनशील, निपूर्ण कलाकारलाई समाजले पक्कै पनि राम्रो दृष्टिले नै हेर्छ । कसैले गरेको सानो गल्तीले समग्र उद्योगलाई नै खराब भन्नु चाहिँ राम्रो हुँदैन ।’ समयअनुसार कोल्टे फेर्नु पर्छ तर आफ्नो कला संस्कृति, भेषभूषा अनुसार मौलिकता पस्किनु सबैको कर्तव्य हो, उनले भने ।

पछिल्लो समय टु पिसमा लोकदोहोरीमा नाच्नेहरु पनि आइसकेका छन् । तिनीहरुको कलालाई देखेर उनी पनि छक्क पर्छिन् । कथाले माग्यो या निर्देशकले माग्यो त्यो थाहा भएन । टु पिस लाउनै हुँदैन भन्ने चाहिँ होइन तर गीत अनुसार आफ्नो संस्कृति भुल्नु चाहिँ हुँदैन मोडल राईले भनिन् । सधैंभरि आफ्नो काममा विश्वास गर्ने मोडल हुन् गीता राई । कलाकारितामा विभिन्न हल्लाहरु चल्छन्, रोमान्सका कुराहरु आउँछन्, पारिश्रमिक नदिएको कुराहरु पनि आउँछन् तर उनीभित्र भने ती कुनै पनि कुरा आएनन् । विहान उठ्यो सुटिङतर्फ लाग्यो, दिनभर सुटिङ सक्यो बेलुका पारिश्रमिक लियो फर्कियो उनको दिनचर्या यसरी नै बित्यो । कुनै सांस्कृतिक कार्यक्रमहरुमा जाँदा पनि उनी पारिश्रमिक लिएर पुग्थिन् प्रस्तुति सकेपछि सिधै घरतिर फर्कन्थिन् ।
उनलाई सुटिङका लागि जाडो महिला धेरै मन पथ्र्यो । किनभने छोटो दिन हुने सुटिङ चाँडो सकिने हुँदा रमाइलो लाग्ने गथ्र्यो रे । निर्देशकले एक्सनकट गर्दा कहिल्यै पनि गाली खानु परेन । क्यामेरासँग फेस गर्दै जाँदा सहज हुँदै गयो र क्यामेरा मेरो ब्वाइफ्रेन्डजस्तो बन्यो । साथीसँग प्रेमीसँग हिंडेको जिस्केको जस्तै लाग्न थाल्यो क्यामेराका अगाडि अभिनय गर्दा राईले भनिन्– ‘तर वास्तविक ब्याइफ्रेन्ड भने नभएको बताउँछिन् ।’ कुनै पनि केटाहरुले जिस्क्याउने आँट नै गरेनन् । खै किन हो सबैले रेस्पेक्ट गरेर बोले ।

अब पनि निरन्तर कलाकारितालाई नै आत्मसात लिने उनको सोच छ । तर नयाँ नयाँ आउनेका लागि पनि अवसर दिनुपर्छ, मलाई मिल्ने कथामा मात्र म खेल्नेछु, मोडल राईले भनिन् । मैले गरेको स्ट्रगलले मलाई पुगिरहेको छ भने पहिला आफ्नो कला नै राम्रो हुनुपर्छ भन्ने लाग्छ । पछिल्लो समय पैसा हालेर कलाकार बन्ने हल्ला सुन्दा उनलाई अचम्म लाग्छ । पैसाका लागि मान्छे कुद्ने गर्छन् तर नामका लागि कुदियो भने पैसा पनि पछिपछि आउने गर्छ । मैले त पैसा लिएरै काम गरेँ, अहिले दिएर गरेको सुन्दा आश्चर्य लाग्छ, उनले भनिन् ।

मान्छेले देख्दा कलाकारिता सजिलो पेशा भन्छन् तर मलाई लाग्छ निकै पीडादायी पेशा हो कलाकारिता । विहान ५ बजे उठेदेखि भोकभोकै घाममा काम गर्नुपर्ने हुन्छ । त्यसैले सजिलो टीभीमा आउँदैमा सजिलो हुँदैन, सबैमा मेहनत चाहिन्छ । म कलाको पूजारी हुँ जस्तो लाग्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु