खड्ग गर्बुजा एकल लोकगायन हुँदै

म्यूजिक खबर
प्रकाशित: ८ बैशाख २०७४, शुक्रबार

बैशाख ८, शुक्रबार । लोकगायक खड्ग गर्बुजा आगामी बैशाख १६ गते नेपाल प्रज्ञा प्रतिष्ठानबाट एकल लोकगायनमा प्रस्तुत हुने भएका छन् । आजबाट लोकगायनका लागि औपचारिक रुपमा बाद्यवादकहरुसँग गायनको अभ्यास सुरु गरेका गर्बुजाले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आफूले २१ वटा गीतसहित एकल लोक गायन गर्न लागेको बताएका हुन् । म्याग्दी कलाकार समाज काठमाडौंको आयोजनामा हुन लागेको मोना आइ.ई.सी. खड्ग गर्बुजा एकल लोक गायन कार्यक्रममा बोल्दै गायक गर्बुजाले आफूले मौलिक लोक संस्कृतिको लागि केही भए पनि टेवा पुगोस् र आगामी दिनमा हराउँदै गएको मौलिक लोकसंस्कृतिलाई पुनः सम्झना दिलाओस् भन्नका लागि लोक गायनको आवश्यकता महसुस गरेको बताए ।

khadga_garbuja
म्याग्दीको मराङ गाविसमा २०२६ साल माघ २५ गते जन्मिएका खड्ग गर्बुजाले शास्त्रीय संगीतको समेत ज्ञान हासिल गरेका छन् । उनले त्यो रानी बनको तिरतिरे धारो, हेर्दा हेर्दै कान्छीले सोले डाँडा काट्यो बरिलै, छ फूल बनैमा, सुन मुरलीलाई, जस्ता सालैजो, कौरा, यानीमाया, ठाडो भाका, रोइला, शिरफूल भाका, साहिलो भाका जस्ता गीत गाएर मौलिक लोक गायनलाई विश्वमा रहेका नेपालीमाझ चिनाएका छन् । १५ जनाभन्दा बढी वाद्यवादकका साथ आफूलाई एकल गायनमा प्रस्तुत गर्दै गरेका गर्बुजाले आफ्नो लोकगायनले पछिल्लो समय नेपाली लोकसंस्कृतिमा देखिएको मौलिकपनको अभावलाई सम्झाउने र पुनः मौलिकतामा फर्कनेहरुलाई उत्प्रेरित गर्ने बताएका थिए । गर्बुजाले आगामी बैशाख १६ गते हुने एकल गायनलाई सम्पूर्ण मिडिया, तह र तप्काबाट सहयोग मिल्ने विश्वास व्यक्त गरेका थिए । कार्यक्रम म्याग्दी कलाकार संघका अध्यक्ष बिल पूर्जा मगरको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रम संघका सचिव राम गगनले संचालन गरेका थिए ।

dipak sharma

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु