खरेललाई ‘लाइफटाइम एचिभमेन्ट’, महतलाई मरणोपरान्त सम्मान

म्यूजिक खबर
प्रकाशित: २७ आश्विन २०७१, सोमबार

चितवन, २७ असोज । स्थानीय रेडियो कालिका एफएमद्वारा दुई दर्जनभन्दा बढी विधामा म्युजिक अवार्ड वितरण गरियो । एफएमको बाह्रौँ वार्षिकोत्सवको अवसरमा आइतबार साँझ भएको दसौँ म्युजिक अवार्ड कार्यक्रममा दुई दर्जनभन्दा बढी कलाकारलाई अवार्ड दिएर सम्मान गरिएको हो । यस वर्ष वरिष्ठ चलचित्रकर्मी यादव खरेललाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ भने यस्तै सवारी दुर्घटनामा निधन भएकी गायिका मञ्जु महतलाई मरणोपरान्त सम्मान प्रदान गरिएको छ ।
एफएमका अध्यक्ष तथा संविधानसभाका सदस्य विक्रम पाण्डेले खरेललाई दोसल्ला ओढाएर लाइफटाइम एचिभमेन्ट अवार्ड वितरण गरेका थिए । खरेलले १७ वटा गीति एल्बम निकाल्नुभएको छ भन्ने करिब दर्जन नेपाली चलचित्रमा निर्देशन गरिसकेका छन् । उनी चलचित्र निर्माता सङ्घका संस्थापकसमेत हुन् । सो अवसरमा चलचित्रकर्मी खरेलले कला क्षेत्रको विकासका लागि अवार्डबाट हौसला प्रदान गर्ने बताए ।
कार्यक्रममा लोकदोहोरीमा तीर्थ सापकोटा, स्थानीय कलाकारमा भुवन प्यासी, लोकदोहोरी शब्दतर्फ शिरिष देवकोटा, लयमा राम्जी खाँड, महिला गायनमा मञ्जु पौडेल र पुरुषमा पशुपति शर्माले अवार्ड चुम्न सफल भएका थिए । आधुनिकतर्फ सङ्गीतमा राजकुमार बगर, गायन महिलामा माण्डवी त्रिपाठी, पुरुषमा प्रमोद खरेल र गजलमा आनन्द कार्कीले अवार्ड हात पारे । पपतर्फ गायिका सञ्जना श्रेष्ठ, गायकमा कमल खत्री र सङ्गीतमा लोकेश गुरुङले अवार्ड चुम्न सफल भए । चलचित्रको शब्दमा डा.कृष्णहरि बराल, सङ्गीतमा वसन्त सापकोटा, गायिकामा मिलन अमात्य, गायकमा शिव परियार तथा युगल गीतमा रजिना रिमाल र युवराज चौलागार्इं लगायतले अवार्ड प्राप्त चुम्न सफल भए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु