गन्तव्यबाट यात्रा आरम्भ गर्ने गायिका, रमा

म्यूजिक खबर
प्रकाशित: २७ जेष्ठ २०७४, शनिबार

जेठ २७, काठमाडौं । सांगीतिक धरातलको गन्तव्यमा पुग्ने उद्देश्यले २०७१ को वैशाखमा ‘गन्तव्य’ एल्वम मार्फत यात्रा आरम्भ गरिन् गायिका रमा अर्यालले । पूर्वि नेपालको इलाममा जन्मिएर झापामा हुर्किएकी रमा, यात्रा गरे न गन्तव्यमा पुग्न सकिन्छ भन्ने सोचले यतिबेला संगीतमा रमाइरहेकी छिन् । उनको माइतीमा नै संगीतको माहौल थियो । सबै दाजु दिदी स्थानीय कार्यक्रमहरुमा गीत गाउने, मादल बजाउन अग्रसर हुनुहुन्थ्यो । रमा पनि संगीतको प्रेमबाट अलग थिइनन् । घरमा राम्रो गाउन सक्ने उनले लाजका कारण विद्यालयमा गाउन अग्रसर भइनन् । कलेजमा भने ग्रुपिङमा गीत गाएर सुनाएपछि साथीहरुले उनको स्वरको खुबै प्रशंसा गर्थे ।rama aryal1

विवाह पश्चात घरपट्टी पनि उनले संगीत अनुरागी परिवार पाइन् । अझ श्रीमान् नविन पोखरेलको संगीत र कलाप्रतिको मायाको त कुरा गरिसाध्य छैन । रमाले गायिकाको छवी बनाउनु अघि नै उनका श्रीमान् म्यूजिकसँग जोडिसक्नु भएको थियो म्यूजिक भिडियोको अभिनय मार्फत । संगीतका पुजारी श्रीमान्को सपोर्टले नै उनले गायिकाको परिचय बनाउन सफल भइन् । उनी भन्छिन्– ‘मैंले आफू भित्र रहेको गायन प्रतिभालाई चिन्न सकिरहेकी थिइन । घरमा मैले गुनगुनाएको श्रीमानले सुनेपछि मलाई स्थापित गायिका बन्ने लक्षण देख्नु भएछ । मैले मलाई जति चिनें, त्यो भन्दा बढी मेरो श्रीमानले मलाई चिन्नु भएछ । मलाई नै गायिका बन्न सक्छु भन्ने आत्मविश्वास थिएन । तर मेरो श्रीमानले ममा एउटा गायिकामा हुने सम्पूर्ण गुण देखेर यसतर्फ मलाई प्रोत्साहन दिनुभयो । अहिले पनि मेरो सुर लागेको नलागेको उहाँले ठ्याक्कै थाहा पाउनुहुन्छ ।’ त्यसपछि रमा संगीतकार दिपक शर्मासँग संगीत शिक्षा लिन थालिन् ।

RAMA ARYAL

घरमा बाथरुम सिंगर भएर खुम्चिएकी रमाले यतिबेला कुशल गायिकाको परिचय बनाइसकेकी छिन् । संगीत सिकाइकै क्रममा उनले गीतहरु रेकर्ड गराइन्, अनि ७ वटा गीत समावेश भएको ‘गन्तव्य’ तयार पारिन् । गन्तव्यमा गुञ्जिएका उनको स्वरले राम्रै चर्चा समेत पायो । ‘तिम्रो के राशि’ र ‘कहाँ लाग्छ’ले राम्रै चर्चा पनि पाए । उनले ‘तिम्रो के राशी’ गीतबाट म्यूजिक खबर म्यूजिक अवार्ड नै चुमिन् । जसले गर्दा गायिका रमालाई गायनमा अझ हौसला मिल्दै गयो । संगीतका बरिष्ठ साधकहरुले समेत उनको खुलेरै तारिफ गरे । सांगीतिक यात्राको आरम्भमा नै गन्तव्य निकालेकी उनलाई सांगीतिक यात्राको सुखद इशारा मिल्यो । तर, समय बलवान अनि चलायमान हुन्छ । त्यही समयमा उनी स–परिवार विदेशको बसोबास गर्न बाध्य भइन् । जसले गर्दा यात्राको शुरुवातमै उनको सांगीतिक करियरमा केहि धक्का लाग्यो । ४ वर्षसम्म विदेशीभूमि कतारलाई कर्मथलो बनाइन् । घरगृहस्थी चलाउँदै, स्थानिय सांस्कृतिक कार्यक्रमहरुमा स्टेजमा उक्लिएर केहि प्रस्तुति दिंदैमा उनले चित्त बुझाउनु प¥यो ।

rama aryal singer music

संगीतप्रतिको लगावले उनलाई विदेश बसाइलाई अझ लम्ब्याउन सकिनन् । पारिवारिक व्यवस्थापन गर्दै यतिबेला उनी नेपालमै छिन् । संगीत त उनको नसा नसामा छ । यसर्थ अहिले पनि उनी संगीत साधक मनोजराज शिवाकोटीसँग सांगीतिक ज्ञान लिइरहेकी छिन् । स्रोताहरुको आग्रहका कारण उनी गन्तव्य–२ एल्बमको तयारी गरिरहेकी छिन् । जसका लागि ४ वटा गीतहरु तयार भइसकेका छन् । श्रीमान् नविनले लेखेको ‘तिमी हौ नी मलाई’ बोलको गीतमा गायक मनोज शर्मासँगै उनले स्वर दिएकी छिन् । जसमा दिपक शर्माको शब्द रहेको छ । यस्तै अरुण तिवारीको शब्द तथा हरि लम्सालको संगीत रहेको ‘यहाँ दुःख त सबैले झेलेकै हुन्छन्’ बोलको गीतमा पनि उनले गायक स्वरुपसँग उनले स्वर दिएकी छिन् । यी गीतबाट उनी निकै नै आशावादी रहेको बताउँछिन् ।

Rama-aryal1

धरासयी बनिरहेको नेपालको संगीत उद्योगमा नयाँ कलाकार आउँछन्, एक–दुई गीत गाएपछि हराउँछन् । तर रमा सांगीतिक दुनियाँमै रमाइरहने बताउँछिन् । ‘यो क्षेत्रमा व्यक्तिगत उचाई मिलिरहेको छ भने हराउने कुरै भएन नी’ उनि भन्छिन्– ‘कहिलेकाहिं यो क्षेत्रमा आउनलाई ढिलो पो भयो कि जस्तो पनि लाग्छ, तर फेरि विद्यमान सांगीतिक परिस्थिति हेर्दा ढिलो आए पनि विलम्ब नै भयो भन्ने अनुभुति हुँदैन रे उनलाई । उनि भन्छिन् –‘आफुभन्दा अग्रजका अनुभुति सुन्दा त ठिकै गरेछु जस्तो लाग्छ । हाम्रै आँखा अगाडि पनि यस्ता कलाकार हुनुहुन्छ जसले आफ्नो जीवनको सबैभन्दा महत्वपूण समय यहि क्षेत्रलाई समर्पण गर्नुभयो, कतिपयले त झन् सम्पूर्ण भौतिक जीवन यहि क्षेत्रप्रति समर्पित गर्नुभयो । तर यसको बदलामा के पाउनु भयो त उहाँहरुले ? आज उहाँहरुको जीवन कति कष्टप्रद छ ? सोच्दा पनि म भावविव्हल हुन्छु । एउटा भेटघारमा एकजना बरिष्ठ संगीतकारले भन्नुहुन्थ्यो यो क्षेत्रलाई सम्पूर्ण ठानेर समर्पित हुने सर्जक भनेको श्रीमती र बालबच्चालाई यातना दिने सर्जक हो । उहाँको उचाइमा पुगेको संगीतकारको स्थिति यस्तो छ भने सायद म पनि पहिलदेखि नै यो क्षेत्रमा सक्रिय हुन्थें भने मैंले पनि मेरो परिवारलाई अन्याय गरिरहेकी हुन्थें होला जस्तो लाग्छ । ढिलै भएपनि आएकी छु, केही गरेरै छाड्छु भन्ने आत्मविश्वास छ ।

सविता पोखरेल/म्यूजिक खबर पाक्षिकबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु