गन्धर्वको नाममा पुरस्कार स्थापना

म्यूजिक खबर
प्रकाशित: १५ मंसिर २०७०, शनिबार

काठमाडौं । सारङ्गी सम्राटका रुपमा परिचित भएका स्वर्गीय जंगबहादुर गन्धर्वको नाममा पुरस्कारको स्थापना गरिएको छ । दलित कलाकार संघ नेपालले राजधानीको मिडिया इन्टरनेशनलको हलमा एक कार्यक्रमको आयोजना गरी ‘सारङ्गीवादक जंगबहादुर गन्धर्व स्मृति पुरस्कार’को घोषणा गरेको हो । संघका अध्यक्ष संगीतकार एवं गायक झलक संगीतम्को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वर्गीय गन्धर्वको पाँचौं पुण्य तिथीको अवसर पारेर श्रद्धाञ्जली अर्पण कार्यक्रमसमेत आयोजना गरिएको थियो । एमालेका उपाध्यक्ष वामदेव गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा बोल्दै गौतमले उक्त स्मृति कोषका लागि २५ हजार रुपैयाँ दिने घोषणा गरेका थिए । त्यस्तै सरकारबाट पनि आफूले सकेसम्म सहयोग गर्न पहल गर्ने बताउँदै गौतमले जंगबहादुर जस्तो व्यक्तित्वलाई सबैले स्मरण गर्नुपर्ने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै नेकपा–माओवादीका तर्फबाट प्रतिनिधित्व गर्दै आएका साहित्यकार इश्वरचन्द्र ज्ञवालीले पनि जंगबहादुरको स्मरण गर्दै उनका सारङ्गीका धूनहरुले पक्कै पनि नेपाली कला साहित्यमा महत्वपूर्ण भूमिका खेलेको बताएका थिए । कार्यक्रममा दलित कलाकार संघ नेपालले चालेको कदमप्रति सहमति जनाउँदै स्मृति कोषका लागि विभिन्न व्यक्ति एवं संघ संस्थाबाट सहयोग प्रदान गरिएको थियो ।
कार्यक्रममा स्व.गन्धर्वप्रति श्रद्धाञ्जली अर्पण गर्नका लागि विभिन्न संघ संस्था एवं कलाकारहरुको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु