गायक वसन्त सुनार रहेनन्, नेपाली समुदायद्वारा सहयोगको अपिल

म्यूजिक खबर
प्रकाशित: २९ जेष्ठ २०७४, सोमबार

सुजन पण्डित,

ह्युस्टन, टेक्सस । नेपालमा बागलुंग गलकोट घर भई विगत चार वर्षदेखि अमेरिकाको टेक्सस स्थित ह्युस्टनमा बस्दै आएका गायक वसन्त सुनारको MD Anderson Cancer Center ह्युस्टनमा उपचारकै क्रममा यही जुन ८, २०१७, बिहीबारका दिन मृत्यु भएकोछ। दर्जनौं सुमधुर गीतहरुलाई स्वर/सङ्गीत दिएका गायक वसन्तका ‘तिमीलाई भेट्न आउनेछु’ ‘घुम्टेमा हावा सरर , चाँदनी रात तिमीलाई नै ‘लगाएतका गीतहरू कर्णप्रीयछन्।

Basanta-Sunar

वसन्तको उपचारका बेलादेखि नै सहयोगको अपिल गरिरहेको Nepalese Association of Houston (NAH) र अन्य समाजसेवीहरुले उनको मृत्युपछि पनि आवश्यक सहयोगको लागि अपिल गरेकाछन्। यसैबिच नेपाली समाज ह्युस्टनका अध्यक्ष ज्योति घिमिरेले एक शोक सन्देश जारी गर्दै स्वर्गीय वसन्त सुनारप्रति हार्दिक श्रद्धान्जली र परिवारजनमा समवेदना व्यक्त गरेकाछन् । साथै यो दुखद परिस्थितिका बावजुद वसन्तको अन्तिम इच्छा अनुसार उनको पार्थिव शरीर नेपाल लैजान र नाबालक छोराछोरीहरुलाई आवश्यक सहयोग गर्न Nepalese Association of Houston ले आफ्नो वेब साइट मार्फत वसन्त सुनार सहयोग अभियान चलाएकोछ। NAH को वेबसाइटमा राखिएको लिंक http://nahtx.org/cause/help-cancer-patient-basanta-sunar मार्फत सक्दो सहयोग गर्न समेत अध्यक्ष ज्योति घिमिरेले अपिल गरेकाछन्।

 

 

ह्युस्टनमा भर्खरै मात्र अस्तित्वमा आएको युवाहरूको संस्था Nepalese Heritage Union (NHU) ले पनि आफ्ना सदस्य र नेपाली समुदायलाई उनीहरूले शुरुगरेको फण्डरेज अभियानको लिंक https://www.gofundme.com/basantasunwar मार्फत सहयोगको लागि अपिल गरेकोछ। NHU का महासचिव डिसोज न्यौपानेका अनुसार NHU का सदस्यहरूले आ-आफ्नो सामाजिक सञ्जाल पेज मार्फत समेत सहयोग लागि अपिल गरेकाछन्।

basant-sunuwar

क्यान्सर उपचार सुरु भैसकेपछि छोरा भेट्न भनेर सात महिना अघि अमेरिका आएका वसन्तका बाबु-आमाले नेपाल फर्कँदा बाकसमा बन्दा छोराको पार्थिव शरीरसंगै फर्कनु पर्ला भन्ने कहिल्यै सोचेका थिएनन्। समवेदना प्रकट गर्ने सन्दर्भमा वसन्तको नर्म्याण्डी, ह्युस्टन स्थित निवास जाँदा उनको वृद्ध आमा-बुवा जवान छोरालाई गुमाउँदाको पीडाले कति आहत थिए भन्ने कुरा शब्दमा सायदै व्यक्त गर्न सकिएला।

वसन्त बितेको चारदिन भैसक्यो तर उनका आमा-बुवा केही खान सकिरहेका छैनन्। तीनजना नाति-नातिनाको अब के होला भन्ने चिन्ताले स्व. वसन्तका ७४ वर्षीय पिता भिमबहादुरलाई निकै सताएकोछ। छोराले बित्नु अघि सम्म पनि ‘बुवा म त अब ढल्छु, पक्का हो, तपाईँ चाहिँ सम्हालिनु होला, मेरा तीन छोराछोरी तपाईँकै जिम्मा भो, तिनीहरूको ख्याल गर्दिनु होला’ भन्दै थियो, यसो भन्दै गर्दा वसन्तका बुवाले आफूलाई सम्हाल्न सकिरहेका थिएनन्।

भाइलाई क्यान्सर भएको सुनेपछि नेपालबाट आत्तिंदै आएकी दिदी पवित्रा सुनारलाई पनि भाइलाई यति छिट्टै गुमाउनु पर्ला भन्ने पटक्कै लागेको रहेनछ। ‘परिवारको तर्फबाट गरिएको हरसंभव प्रयासले समेत भाइलाई बचाउन सकिएन’ भाइलाई गुमाएको पीडाले भक्कानिइन् पवित्रा। अमेरिकी आवासीय भिसा अन्तरगत तीनै जना छोरा-छोरी पनि हालसालै अमेरिका आइपुगेकाछन् । दुईछोरी र एक छोराका बाबु वसन्त बितेर गएपछि अमेरिका मै बस्दै आएकी उनकी अर्की दिदी धनकुमारी नै ती बच्चाहरूको अभिभावक भएकीछ्न्। चारबर्ष देखि बाबुसंग बिछोडिएर हालसालै मात्र बाबु भेट्न पाएका स्वर्गीय वसन्तका छोराछोरी बाबुको न्यास्रो मेट्न नपाउँदै टुहुरा भएकाछन्।

नेपाली गीत-सङ्गीतलाई माया गर्ने आशालाग्दा कलाकारलाई ४० वर्ष पनि नपुग्दै क्यान्सरका कारण गुमाउनु पर्दा ह्युस्टनको नेपाली समुदाय एकदमै मर्माहत भएकोछ’, वसन्त सहयोग अभियानका एक सक्रिय नेपाली राम कुँवरम्यूजिक खबरसँग बताउँदै थिए। राम कुँवर, सतीश त्रिपाठी, यज्ञ पाण्डे, राम उपाध्याय (स्यानएन्टनियो) लगाएतकाहरुले NAH, NHU लगाएतका सङ्घ-संस्थाहरू र परिवारका सदस्यसंग समन्वय गर्दै स्वर्गीय वसन्तका परिवारलाई अधिकतम सहयोग पुय्राउने प्रयास गरिरहेकाछन्।

basant-sunuwar2

आफ्ना तीन छोरा-छोरीको राम्रो भविष्यका आफ्नै जीवनकालमा केही गर्न नसकेको पीडा भेट्न जानेहरुसंग व्यक्त गरिरहने वसन्त गत आठ महिना देखि क्यान्सर उपचारमा थिए। जीवनको अन्तिम अवस्थामा पुग्दै गर्दा उनलाई भेट्न जाने आफन्त/शुभचिन्तकहरुसंग उनको एउटै निवेदन थियो कि उनको मृत शरीरलाई नेपाल मै लगियोस् र नेपालको माटोमा नै विलीन हुन दिईयोस्। उनको त्यही चाहनालाई पुरा गर्नकै लागि ह्युस्टनको नेपाली समुदायले सहयोग अभियान चलाएकोछ।

 

स्वर्गीय वसन्तको आत्माले शान्ति पाओस्। उनका नाबालक छोराछोरीको पढाई र जिविकोपार्जनको लागि सहयोग जारी राख्न म्यूजिक खबर परिवार समेत नेपाली समुदायमा हार्दिक अपिल गर्न चाहन्छ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु