गायक सागर बोहराको निधन

म्यूजिक खबर
प्रकाशित: ४ मंसिर २०७४, सोमबार

४ मङ्सिर , काठमाडौं । लोकदोहोरी गायक सागर बोहराको निधन भएको छ । उनका भतिजहरु विदेश जान लागेको बेला एकचोटी भेटुँ भनेर कोठामा जाँदा कोठाको ढोका खुलै भएको र उनी सुतिरहेकै अवस्थामा मृत भेटेका थिए । यतिबेला उनको शवलाई प्रहरीहरुले मुचुल्का उठाउने कार्य भइरहेको गायक गणेश जिसीले म्यूजिकखबरलाई जानकारी दिए ।


फोक्सो, लिभर र प्रेसरको समस्याले ग्रसित भएको फेला पारेपछि गायक गणेश जिसी, जुनु पुन लगायतले उपचारका लागि काठमाडौं ल्याएका थिए ।  केही समय अघि मात्र काठमाडौंको धापासीस्थित ग्राण्डी हस्पिटलमा उपचार गराएपछि सामान्य रुपमा फर्किएका गायक बोहराले काठमाडौंको गणेशस्थान नजिकै डेरा लिएर बस्दै आएका थिए । उनको स्वास्थ्यस्थिति सामान्य रुपमा आएपछि बसपार्कमा कामसमेत गर्न थालेको गायक गणेश जिसीले बताए । उनका अनुसार गायक बोहरा एक्लै भएका कारण पुनः मादकपदार्थ सेवन गर्न थालेको हुँदा निधन हुन पुगेको हुनसक्ने बताएका छन् ।

 

गायक बोहराका कहिले माया लाउँदै, न्याउली जस्तै रुन्छु, अर्कैले सिन्दुर भरेको, बुटवल पोखरा लगायत जस्ता चर्चित गीतहरु बजारमा छन् । सुमधुर स्वरका धनी गायक बोहरा लामोसमय गाउँमा नै गुमनाम भएर बसेका थिए । गायक बोहराप्रति म्यूजिक खबर परिवार हार्दिक श्रद्धान्जली अर्पण गर्दछ साथै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु