गीतकार बलुको सृष्टिका विम्व सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २४ भाद्र २०७४, शनिबार

२४ भाद्र २०७४, काठमाडौं । अमेरिकामा बस्दै आएका गीतकार बि.एम गुरुङ ‘बलु’को आधुनिक गीति एल्बम ‘सृष्टिका बिम्व’ सार्वजनिक भएको छ । वरिष्ठ गीतकार किरण खरेलको प्रमुख आतिथ्यतामा गायक प्रेमध्वज प्रधान, संगीतकार राजु सिंह लगायतले एल्बम सृष्टिका विम्वलाई सार्वजनिक गरेका थिए ।


बिन्ध्यबासिनी म्युजिक प्रालिको आयोजनामा राजधानीको नयाँ बानेस्वरस्थित इन्द्रेणी फुडल्याण्डमा भएको उक्त कार्यक्रमलाई सोहि एल्बमका संगीतकार राजेश थापाले स्वागत मन्तब्य दिँदै एल्बम तयार पार्दाका भोगाइहरुलाई प्रस्तुत गरेका थिए ।
त्यस्तै संगीतकार राजु सिंहले एल्बमको समीक्षा गर्दै एल्बमभित्रका सम्पूर्ण गीतहरु राम्रा बनेको बताएका थिए । सिंहले गीतहरु राम्रा सिर्जना भएका र गायक गायिका एवं संगीतकारहरुको श्रेणी हेर्दा पनि एल्बम उत्कृष्टताको सूचिमा देखिएको बताएका थिए । त्यसैगरी कार्यक्रमका विशेष अतिथि वरिष्ठ गायक प्रेमध्वज प्रधानले सृष्टिका विम्वले नेपाली गीतसंगीतमा छुट्टै छाप छोड्न सफल हुने बताउँदै सदाबहार रुपमा यसको चर्चा मिल्ने बताएका थिए ।


कार्यक्रममा सभापतिको आसनबाट बोल्दै विन्ध्यवासिनी म्यूजिकका संचालक सुवास रेग्मीले वरिष्ठ व्यक्तित्वहरुको हातबाट लोकर्पण भएको ‘सृष्टिका विम्व’ एउटा स्तरीय गीतिसंग्रह बनेको बताएका थिए । उपस्थित सबैलाई शुभकामना दिँदै एल्बमलाई आफूले सकेको रुपमा बजार व्यवस्थापनमा जोड दिने बताएका थिए । कार्यक्रमको संचालन भने नरेश भट्टराइले गरेका थिए भने कार्यक्रममा एउटा गीतको म्यूजिक भिडियो समेत देखाईएको थियो ।
सृष्टिका विम्वभित्र चोखो माया, न त तिम्रो, खै कसरी बाँचुला, सपना पनि देख्छु, लुकेर हे¥यौ र असिनाले बसन्तमै जस्ता गीतहरु समावेश गरिएको छ । उक्र गीतहरुमा बि.बि अनुरागी, महेश खड्का, तारा प्रकाश लिम्बु, राम सिटौला, राजेश थापा र डी आर अटुको संगीत रहेको छ । उक्त गीतहरुलाई राजेशपायल राई, स्वरुपराज आचार्य, प्रमोद खरेल, दिपक लिम्बू, ताराप्रकाश लिम्बू, मिलन अमात्य, सुनिता थेगिम, अमृता लिम्बूको स्वरमा तयार पारिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु