गीतकार राजेन्द्र थापालाई लाइफटाइम एचिभमेण्ट, ‘म हुरी’ र ‘संसार मायामा’लाई तीन ‘हिरो हिट्स एफएम अवार्ड’

म्यूजिक खबर
प्रकाशित: २३ माघ २०७३, आईतवार

गीतकार राजेन्द्र थापालाई लाइफटाइम एचिभमेण्ट

माघ २३, काठमाण्डौ । संगीत क्षेत्रमा क्रियाशील रहेको ‘हिट्स एफएम म्यूजिक अवार्ड’को २० औं संस्करण सम्पन्न भएको छ । आर्मी अफिसर्स क्लबमा आयोजना भएको समारोहमा लामो समयसम्म गीति लेखनबाट नेपाली गीत सङ्गीतको क्षेत्रमा योगदान पु¥याउँदै आएका गीतकार राजेन्द्र थापालाई लाइफ टाइम एचिभमेण्ट अवार्डले सम्मानित गरियो । गीतकार थापालाई बरिष्ठ गीतकार तथा यादव खरेल र हिट्स नेपालका अध्यक्ष राजीवराज भण्डारीले लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरेका थिए।

Rajendra thapa- yadav Kharel

लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएपछि कार्यक्रममा बोल्दै गीतकार थापाले आफूले ८ वर्षको उमेरदेखि नै कविता लेख्न थालेको ११÷१२ वर्षको उमेरदेखि रेडियोमा कविता भन्न थालेको बताए। ‘सानो उमेर हुँदा आफूसँग प्रतिभा भए पनि अनुभव नभएकाले आफूभन्दा अग्रजसँग मिलेर काम गर्थें भने अहिले आफूसँग अनुभव भएकाले आफूभन्दा कम उमेरका भाइबहिनीहरूसँग मिलेर काम गर्छु। त्यसैले म सफल भएको जस्तो लाग्छ’ –उनले भने।

‘म हुरी’ र ‘संसार मायामा’लाई तीन ‘हिरो हिट्स एफएम अवार्ड’

गीत संङ्गीतका १६ विधाहरुमा उत्कृष्ट ठहरिएका स्रष्टा तथा सिर्जनाहरुले ‘हिट्स एफएम म्यूजिक अवार्ड २०७३’ चुम्न सफल भएका छन् । लोकप्रिय गायक रामकृष्ण ढकालको स्वर रहेको ‘म हुरिमा दियो’ गीतले तीन विधामा हिरो हिट्स एफएम अवार्ड जितेको छ । वर्षकै सर्वोत्कृष्ट गीत बनेको ‘म हुरिमा दियो’बाट रामकृष्ण ढकालले सर्वोत्कृष्ट स्वर, रमेश विजीले सर्वोत्कृष्ट शब्द रचनाबाट अवार्ड चुम्न सफल भएका हुन् ।ram-krishna-dhakalयस वर्षमा आयोजना भएका प्राय अवार्डहरुमा सर्वोत्कृष्ट चलचित्र गीतको अवार्ड उचाल्दै सङ्गीतकार अर्जुन पोखरेल हिट्स एफएम अवार्ड ‘म यस्तो गीत गाउँछु’ बाट अवार्ड आफ्नो पोल्टामा पार्न सफल भए ।

‘संसार मायामा अड्छ भने’ बोलको गीत पनि तीन विधामा नै सर्वोत्कृष्ट भई अवार्ड पाउन सफल भएको छ । यस गीतले युगल गायनको अवार्ड सुजाता उपाध्याय र उदितनारायण झालाई दिलायो भने यसै गीतबाट उत्कृष्ट सङ्गीतकारको अवार्ड आनन्द राईले उचाल्न सफल भए भने संगीत संयोजन विधाका लागि महाराज थापा उत्कृष्ट घोषित भई अवार्ड उचाले ।

अप्रिल रसले ‘त्यो हावा’ मार्फत यस वर्षको अब्बल प्रतिभा बन्ने अवसर पायो भने सर्वोत्कृष्ट महिला गायन पप विधामा निक्की कार्कीले ‘जेट उडाउँछु’ गीतका लागि अवार्ड जितिन् । पुरुष गायन पप विधामा भने अल्मोडा राना उप्रेतीले ‘फेन्टास्टिक वन्डरफुल’ बाट सर्वोत्कृष्ट घोषित भए ।

कार्यक्रममा यसै वर्ष संगीत क्षेत्रले गुमाएका पण्डित होमनाथ उपाध्याय, पन्नाकाजी, रत्नबहादुर खड्गी, रुबी जोशी, खेमराज गुरुङ र सुनील बर्देवाको पनि सम्झना गरिएको थियो ।

पोहोर साल हिटस् एफएमफ अवार्डमा प्रस्तुति दिँदा नै ह्वाट द फंक ब्यान्डको ‘हाम्रो फंकी दाजु।।।’ ले निकै ताली पाएको थियो । यही गीतले समूहलाई यसपालि सर्वोत्कृष्ट समूह गायन र सर्वोत्कृष्ट रक संगीत सिर्जनाको ट्रफी दिलायो । समूहका निराकार याकथुम्बाले आफ्नो समूह र श्रोतालाई धन्यवाद दिए । ‘गुराँसै फुले हो’ का लागि अञ्जान बाबुले सर्वोत्कृष्ट लोकगीतको अवार्ड पाए । सर्वोत्कृष्ट रक गायनमा सविन राई एन्ड द इलेक्ट्रिसको ‘तिमी नै हो’ अगाडि आयो भने एकल गायन महिला विधामा रजिना रिमाल ‘मुटु दुख्यो’ गीतका लागि भाग्यमानी ठहरिइन् । गीति संग्रह विधामा ‘अभिवादन’ का लागि रक गायक एड्रियन प्रधान उत्कृष्ट बने ।

कार्यक्रममा द काठमाडौं क्याटस् एन्ड द डर्टी बुगी ब्रास ब्यान्डले कन्दरा समूह, निमा रुम्बा र नेपथ्यका गीत प्रस्तुत गरेका थिए । राजेशपायल राई, शिव परियार, प्रमोद खरेल, मौसमी गुरुङ, श्रेया सोताङ, नट्टु एन्ड द एसओएस ब्यान्डले पनि गीत सुनाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु