गुरुङ फिल्म अवार्डमा गणेश उत्कृष्ट संगीतकार

म्यूजिक खबर
प्रकाशित: २३ फाल्गुन २०७२, आईतवार

गुरुङ चलचित्रको बीस वर्षे इतिहासमा पहिलो पटक सम्पन्न भएको पहिलो गुरुङ फिल्म अवार्ड २०७२ मा गायक तथा संगीतकार गणेश गुरुङ उत्कृष्ट संगीतकार एवं गीतकार घोषित भए । गुरुङ समुदायको मातृभाषामा निर्माण भएको चलचित्र अस्मिताबाट गायक तथा संगीतकार गुरुङले उत्कृष्ट संगीतकारको अवार्ड चुम्न सफल भएका हुन् । गत हप्ता सम्पन्न भएको उक्त अवार्डमा गायक गुरुङकै संगीतमा रहेको प्हीरुमाला चलचित्रको गीतबाट गायिका रिमा गुरुङले पनि उत्कृष्ट गायिकाको अवार्ड चुम्न सफल भइन् ।

अवार्ड कार्यक्रममा २०६० देखि २०६५ सम्म र २०६५ देखि २०७० सम्म गरी दुई समयावधिका गुरुङ भाषी चलचित्र र गुरुङ विषयवस्तुमा निर्मित नेपाली चलचित्र गरी समुहगत रुपमा पुरस्कृत गरिएको थियो । अवार्ड कार्यक्रममा ७० अवार्डबाट चलचित्रकर्मी र चलचित्रहरु सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा गुरुङ चलचित्रको निर्देशनमा लामो समयदेखि क्रियाशील रहँदै आएका निर्देशक प्रितम गुरुङलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो । कार्यक्रमलाई सफल बनाउनका लागि गृहमन्त्री शक्ति बस्नेत, अभिनेता राजेश हमाल, अभिनेत्री झरना थापा, नम्रता श्रेष्ठ, नविन सुब्बा, अमृत सुनुवार, युवराज मास्की लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

ganesh grg

Ganesh Gurung – File Photo

गण्डक क्षेत्रमा गाइने दोहोरी, सालैजो, कौडा लगायतका गीतमा शब्द, संगीत एवं स्वर दिइसकेका गायक गणेश गुरुङ यतिबेला युकेमा सांगीतिक कार्यक्रमहरुमै व्यस्त हुँदै आएका छन् । कलाकारितामा आफूलाई समर्पित गर्दै आएका गुरुङले दर्जनौं गुरुङ भाषाका चलचित्र एवं गीतमा शब्द लेखेका छन्, संगीत दिएका छन् भने स्वरसमेत भरेका छन् । सुमधुर स्वरका धनी गायक गुरुङले आफ्नो भाषीय पहिचानसहित नेपाली भाषामा पनि दर्जनौं गीत गाइसकेका छन् । आफूले गरेको कामबाट अवार्ड चुमिसकेपछि गायक गुरुङले म्यूजिकखबरसँगको कुराकानीमा भने ‘अवार्डले मलाई थप जिम्मेवारी सुम्पिएको छ । मेरो सांगीतिक करिअरमा उर्जा थपेको छ, अब मलाई राम्रो भन्दा राम्रो सिर्जना गुर्नपर्छ भन्ने महसुस भएको छ ।’ अवार्ड आयोजकलाई धन्यवाद दिँदै गुरुङले भने ‘मेरो कामको कदर भएको छ यो अवार्ड सम्पूर्ण चलचित्रका युनिटले प्राप्त गरेको हो ।’ गुरुङ चलचित्र अस्मिताबाट संगीतकार र गीतकारको अवार्ड चुमेका गायक गुरुङलाई म्यूजिक खबर डटकम परिवार हार्दिक बधाई ज्ञापन गर्दछ ।

gurung award gurun film award

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु