चन्द्र ज्योति र राजकुमार बगरको गुनासो

म्यूजिक खबर
प्रकाशित: २१ फाल्गुन २०७३, शनिबार

फागुन २०, काठमाडौं । गीतकार चन्द्रज्योति आलेको एकल रचना एवं संगीतकार राजकुमार बगरको एकल संगीतमा रहेको गीतिसंग्रह गुनासो सार्वजनिक गरिएको छ । वरिष्ठ गजलकार डा.कृष्णहरि बराल, संगीतकार संघका उपाध्यक्ष एवं प्राज्ञ शान्तिराम राई, गायिका संगीता राना लगायतले एल्बमको सार्वजनिक गरेका थिए । गीतकार चन्द्र ज्योति आलेले आफू पहिला गायिका भएको बताउँदै आधुनिकतर्फ गीतकारका रुपमा आएको बताएकी थिइन् । कृष्ण फिल्म्स् एण्ड एडभरटाइजिङका संचालक उज्ज्वल केसी बाबुराजाले उपस्थित सम्पूर्ण अतिथिहरुलाई स्वागत गर्दै एउटा राम्रो एल्बम बजारमा आएको बताएका थिए ।

gunaso_album (1)
आफ्नो गीति लेखनको अनुभव सुनाउँदै आलेले संगीतकार राजकुमार बगरसँग मिलेर सहकार्य गर्न पाउँदा खुशी भएको बताउँदै विभिन्न सामाजिक संघसंस्थामा काम गर्दागर्दै गायनको पाटो छाडेर अहिले गीतकार बनेको छु भनिन् । त्यस्तै संगीतकार राजकुमार बगरले गीतकारसँगको गुनासो एल्बम एक बर्षअघिदेखिको प्राजेक्ट भएको बताउँदै हङकङबाट नेपाल आएको बेलामा हतारहतार सकेर विमोचन गर्न सफल भएको बताएका थिए ।
त्यस्तै कार्यक्रममा संगीतको समिक्षा गर्दै प्राज्ञ शान्तिराम राईले राजकुमार बगर राम्रो गीतकारको रुपमा चिनेको भए पनि पछिल्लो समय राम्रा संगीतकारको रुपमा पाएको बताएका थिए । राईले उनीजस्ता स्रष्टाको समीक्षा गर्नु आफैंमा चुनौति भएको बताउँदै संगीतमा खोट लाउन ठाउँ नभएको बताएका थिए । त्यसैगरी गीतको समीक्षा गर्दै प्रमुख अतिथि डा.कृष्णहरि बरालले गायिका चन्द्र ज्योति आले गीतकार हुनुभएको र गीतकार राजकुमार बगर संगीतकार बन्नुभएको यस एल्बमभित्र एकसेएक गीतसंगीत निर्माण भएको बताएका थिए । गायिका आलेको गीतिलेखनको प्रशंसा गर्दै बरालले हरेक गीतका लाइनले आफैंमा अर्थ बोकेको बताएका थिए ।

gunaso album

गीतकार आले चन्द्र ज्योति आलेले लोकदोहोरी एल्बम साइली, साइखोले, छुटेको चेली, मायासँग बजारमा ल्याइसक्नुभएको छ । मगर संघ हङकङको अध्यक्ष एवं पूर्वी एशिया संयोजक, नेपाली महिला संघको वरिष्ठ सल्लाहकार, तनहुँ समाज हङकङको सल्लाहकार, हिन्स सोसाइटीको सदस्य, राइज देम अपको सल्लाहकार जस्तो पदमा रहेकी गीतकार आलेले आदिबासी चेली सम्मान, एनआरएन उमन अफ दी इयर, नेपाल महिला संघ उमन अफ दी इयर जस्ता सम्मान तथा विभिन्न संघसंस्थाबाट कदर पत्रहरु प्राप्त गरेकी छिन् । चलचित्रहरुमा अभिनयसमेत गरेकी गीतकार गायिका आलेले चलचित्र प्रतिबिम्वको निर्माणसमेत गरेकी छन् ।

gunaso_album (3)
एल्बम गुनासोभित्र तिमी रुँदा, पानी भर्ने पँधेरीमा, चाहे पुगुँ शिखरमा, तिम्रो माया पाउनलाई, आऊ दिदी बैनी हो, आखैंमा गाजल जस्ता ६ वटा गीत समावेश छन् । जसमा प्रमोद खरेल, संगीता राना, निखिता थापा, युवराज चौलागाई, नवराज थापा जस्ता गायक गायिकाको स्वर रहेको छ । एल्बममा रहेका गीतहरुको सम्पूर्ण संगीत संयोजनको काम भने कमल सौरागले गरेका हुन् । कार्यक्रम संगीत कला पत्रकार संघले आयोजना गरेको थियो भने संघकी सचिव राधिका अधिकारीले संचालन गरेकी थिइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु