चलचित्रमा लगानी सुरक्षित छैन

म्यूजिक खबर
प्रकाशित: १७ मंसिर २०७०, सोमबार

काठमाडौं । केही समय यता नेपाली चलचित्रको व्यापार छैन । अधिकांश चलचित्रले लगानी उठाइरहन सकेको छैन । प्रत्येक साता दुईदेखि चार वटासम्म नयाँ चलचित्र सिनेमा हलमा लाग्ने गरेको छ तर तीमध्ये केहीले मात्र लगानी सुरक्षित गर्न सकिरहेका छन् ।
त्यस्तै गएको शुक्रबार पनि दुई चलचित्र ‘उवर्सी’ र ‘कोही त छ’ सिनेमा हलमा लागे । यीमध्ये ‘उवर्सी’ को प्रचार बढी गरिएको छ भने ‘कोही त छ’ कुनै प्रचार विनै सिनेमा हलमा लागेको हो । तर कुनै प्रचारविनै प्रदर्शनमा ल्याएर पनि आफ्नो चलचित्रले राम्रो व्यापार गरिरहेको देखेर ‘कोही त छ’ का निर्माता राम श्रेष्ठ दंग परेका छन् । उनले भने, ‘प्रचार नै नगरी ल्याएको भए पनि चलचित्रप्रति दर्शक आकर्षित छन् । शुक्रबार यताको व्यापार हुर्ने हो भने सन्तोषजनक छ ।’
कथावस्तु राम्रो भएकै कारण आफ्नो चलचित्र दर्शकले मन पराइदिएको निर्माता श्रेष्ठको दावी छ । चलचित्र ‘कोही त छ’ वर्तमान नेपालको राजनीति घटना परिवेशमा आधारित छ । निर्माता श्रेष्ठले भने, ‘कोही त छ कुनै भागभंगी भएको चलचित्र होइन, यो चलचित्र सारा नेपालीका लागि बनाइएको हो । त्यसैले पनि दर्शकले मनपराइदिएका छन् ।’ उनका अनुसार आइतबार पनि विश्वज्योति सिनेमा हलमा ‘कोही त छ हेर्ने दर्शकको भिड थियो । यो चलचित्र राजधानीलगायत देशभरीका ४५ वटा सिनेमा हलमा प्रदर्शन भइरहेको छ । चलचित्रले दर्शक तानिरहेको भए पनि निर्माता श्रेष्ठको गुनासो छ, ‘प्रचार गर्ने बुद्धि नै आएन, यदी प्रचारप्रसार राम्ररी गरेको भए झनै राम्रो हुने थियो ।’ त्यसो त श्रेष्ठ कुनै व्यवसायिक निर्माता होइनन्, उनले पहिलोपटक चलचित्रमा लगानी गरेका हुन् । आफू नयाँ भएकाले पनि कसरी चलचित्र प्रमोसनमा ल्याउने भन्ने ज्ञानको कमिले गर्दा प्रचारमा चुकेको श्रेष्ठले बताए ।
चलचित्रमा झरना थापा, राजवल्लभ कोइराला र मुकेश आचार्यको मुख्य अभिनय छ । झरना र राजवल्लभ अभिनीत चलचित्र केही समयको अनतरालपछि लागेकाले पनि ‘कोही त छ’ दर्शकले रुचाएको निर्माता श्रेष्ठको दावी छ । चलचित्रको निर्देशन रामजी लामिछानेले गरेका हुन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु