चैत १८ मा रामकृष्ण ढकालको एकल साँझ

म्यूजिक खबर
प्रकाशित: १३ चैत्र २०७३, आईतवार

चैत १३, काठमाडौं । सुगम संगीतका चर्चित गायक रामकृष्ण ढकालको एकल साँझ आगामी चैत १८ गते राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा सम्पन्न हुन गइरहेको छ । विन्ध्यवासिनी म्यूजिकको आयोजनामा हुन गइरहेको ‘रामकृष्ण ढकाल एकल साँझ २०७३’ ले सामाजिक क्रियाकलापमा सक्रिय हुँदै आएको संस्था विन्ध्यवासिनी फाउन्डेसनको सहयोगार्थ प्रस्तुत हुने भएको छ । आधुनिक गायनका लोकप्रिय गायक ढकालको प्रस्तुतिलाई ब्याक अफ ब्याण्ड ‘द भ्वाइस’ का दश जना बाध्यवादकले साथ दिने जानकारी गराइएको छ । गायक ढकालले आफ्ना सर्वाधिक चर्चित २० गीतहरु एकल साँझमा प्रस्तुत गर्नेछन् । कार्यक्रमबाट जम्मा भएको मुनाफालाई सांगीतिक क्षेत्रमा सक्रिय रही सामाजिक सेवामा समर्पित रहेको संस्था विन्ध्यवासिनी फाउन्डेशनलाई दिने बताइएको छ ।

ramkrishna dhakal
गायक रामकृष्ण ढकाल एकल साँझको अवसरमा गाइएका गीतहरुबाट स्रष्टाको सिर्जना प्रयोग गरेवापतको रोयल्टीसमेत प्रदान गरिने आयोजक संस्था विन्ध्यवासिनी म्यूजिकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । आयोजक संस्थाका अध्यक्ष सुवास रेग्मीले पत्रकार सम्मेलनमा बोल्दै एकल साँझको खर्च कटाएर आएको मुनाफाबाट विन्ध्यवासिनी फाउन्डेशनलाई सहयोग गर्ने र स्रष्टाको सिर्जना प्रयोग गरेवापत संगीत रोयल्टी संकलन समाजको नियमअनुसार रोयल्टी प्रदान गर्ने बताएका छन् ।

dhakal sanjh
गीतसंगीतको क्षेत्रमा सम्बन्धित स्रष्टाहरुको सेवा र सहयोग गर्ने हेतुले स्थापना भएको विन्ध्यवासिनी फाउन्डेशनले कलाकर्मीको हकहित र समाजसेवामा कार्य गर्दै आइरहेको छ । फाउन्डेशनले पहिलो एकल साँझ ‘सत्य स्वरुप एकल साँझ’बाट उठेकको रकम भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई १५ लाख दिएको छ । दोस्रो एकल साँझ ‘विमल डाँगी एकल साँझ’ बाट उठेको रकमले डोल्पा र स्याङ्जामा दुई दुई जना बालबालिकाको कक्षा १० सम्मको अध्ययनको छात्रवृत्ति प्रदान गरेको छ । त्यस्तै संगीतकार कल्याणकारी कोषमा ५० हजार, संगीत व्यवसायी शिव पौडेलको मृगौला प्रत्यारोपणका लागि ३ लाख १० हजार, स्व.पत्रकार सूर्यकुमार क्षेत्रीको उपचारमा २५ हजार रुपैयाँसमेत सहयोग गरेको पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष रेग्मीले जानकारी गराए । त्यसैगरी संगीतका माध्यमले समाजसेवामा सक्रिय रहेका संगीतकर्मीको ढल्कँदो उमेरको सहाराका रुपमा संगीत आश्रमको परिकल्पना गर्दै स्याङ्जामा दुई सय रोपनी जग्गाको खोजीमा रहेको र जसअन्तर्गत ३५ रोपनी जग्गा फाउन्डेशनले लिइसकेको रेग्मीले बताए ।

त्यसैगरी फाउन्डेशनका सचिव परमानन्द खनालले रामकृष्ण ढकाल एकल साँझलाई सबैतिरबाट साथ र सहयोग जारी रहेको र यसलाई सकारात्मक रुपमाबाट सफल बनाउन सबैक्षेत्रबाट सहयोग मिल्नेमा विश्वास लिएको बताए । खनालले सामाजिक सेवामा हामी सबै एकजुट हुनुपर्ने बताउँदै फाउन्डेशन सम्पूर्ण संगीतकर्मी र संगीतकर्मका माध्यमले जोडिएका पत्रकार, संगीत व्यवसायी सबैको साझा घर भएको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु