जंगबहादुरलाई सांगीतिक संघको सहयोग

म्यूजिक खबर
प्रकाशित: २ मंसिर २०७०, आईतवार

२ मंसिर, २०७० म्यूजिकखबर
काठमाडौं । सारङ्गी सम्राट जंगबहादुर गन्धर्व सिकिस्त विरामी परेपछि उनको उपचारको लागि सहयोग जुटाउन थालिएको छ । सांगीतिक संघको आज आइतबार बसेको बैठकले सारङ्गीबादक गन्धर्वलाई रु.दश हजार सहयोग गर्ने निर्णय गरेको छ । संघले उनको आर्थिक स्थिति कमजोर रहेका कारण संगीतमा आबद्ध सबै संघसंस्थाहरुले सहयोग गर्नुपर्ने बताउँदै सांगीतिक संघबाट रु.दश हजार सहयोग गर्न पाएकोमा खुशी प्रकट गर्दै गन्धर्वको शीघ्र स्वास्थ्य लाभको कामना गरेको संस्थाका सचिव संगीतकार सन्तोष श्रेष्ठले बताए ।
निमोनियाको विरामी परी सिकिस्त भएका जंगबहादुरलाई स्टार हस्पिटलमा उपचार गराइरहेको समाचार म्यूजिक खबरले प्रकाशन गरेपछि सहयोगी हातहरु अघि बढ्न थालेको हो । उनका छोरा भुवनका अनुसार उपचारमा संलग्न डाक्टरहरुले स्वास्थ्य स्थिति केही सुधार भएजस्तो भएको भए पनि त्यसमै ढुक्क हुने स्थिति नरहेको बताएका छन् । काठमाडौंका प्राय ९० प्रतिशत स्टुडियोमा सारङ्गी बजाउँदै आएका गन्धर्वलाई उपचारका लागि सहयोगी हातहरुको जरुरत भएको परिवारस्रोतले बताएको छ । विगत लामो समयसम्म नेपाली गीतसंगीतमा क्रियाशील रहँदै आएका गायक तथा सारङ्गीवादक गन्धर्वलाई सहयोग गर्न चाहेमा उनका छोरा भुवन गन्धर्व (९८४९४५३००९) अर्थात् म्यजिक खबरको कार्यालय (९८५१००७४३०) मा सम्पर्क गर्न सक्नुहुनेछ । म्यूजिक खबर डटकम उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु