जनवादी र मायावादी गीत गाउँदै बद्री

म्यूजिक खबर
प्रकाशित: ११ आश्विन २०७१, शनिबार

काठमाडौं, ११ असोज । लोकगायनको क्षेत्रमा युवापुस्तामा छुट्टै पहिचान बनाउन सफल गायक बद्री पंगेनी यतिखेर दुबईमा जनवादी र मायावादी गीत गाउँदैछन् । बद्री पंगेनी विशेष साँझ नाम दिइएको एकल शो कार्यक्रममा गायक पंगेनीले आफ्नो स्वरमा सजिएका जनवादी गीतहरुदेखि लिएर मायाप्रेमका गीतहरुलाई दर्शक स्रोतासामु पस्किएका छन् । याक एण्ड यति रेस्टुरेन्टको आयोजनामा गायक बद्री पंगेनीले आफ्नो समधुर स्वरलाई यूएइमा रहेका नेपालीसामु पस्किएका हुने । बडादसैं नजिकिँदै गर्दा गायक पंगेनीको यो एकल कार्यक्रमले घर फर्कन लागेका नेपालीप्रति केही सन्देशसहित गाउँ फर्काएको छ भने घर फर्कन नपाएकालाई पनि नेपाली माटोको सुगन्ध पुनः सम्झाएको छ ।
गायक पंगेनीले ससुरालीमा जस्तो दोहोरी गीतदेखि सिरैको सिउँदोमा, अझै नी लोकतन्त्र आको छैन जस्ता दर्जनौं गीतहरु नेपालीहरुका सामु सुनाएका छन् । सेप्टेम्बर २५ र २६ तारिखका दिन आयोजना गरिएको उक्त कार्यक्रममा उपस्थित नेपालीहरुले उनलाई साथमा साथ दिँदै देशप्रति चिन्ता व्यक्त गरेका थिए । पछिल्लो समय गायनबाटै क्रान्ति गर्नुपर्छ र जनतामा नयाँ सन्देश छर्न पनि सक्नुपर्छ भन्ने सोचले अघि बढेका गायक पंगेनीले वास्तवमै जनताका खातिर उर्जावान् गीत प्रस्तुत गरेर सशक्त रुपमा अग्रसर गराउन सफल भएका छन् । राष्ट्रियताप्रति चिन्ता राख्ने गायक पंगेनी पहिला आफ्नो राष्ट्र हुनुपर्छ अनि मात्र हामी यो राष्ट्रका हुन सक्छौं भन्छन् । राष्ट्रले केही गरेन भन्ने होइन राष्ट्रका लागि केही गर्नुपर्छ भन्ने सोच बोकेर अघि बढेका गायक पंगेनी पछिल्लो समय देशविदेशका कार्यक्रमहरुमा पनि जनवादी, राष्ट्रवादी र मायाप्रेमका गीतहरुलाई प्रस्तुत गर्दै आइरहेका छन् । उनको यूएईमा भएका विशेष साँझमा पनि त्यही माया प्रेम, जनताका गीतहरु नै गुन्जिएका छन् ।

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु