‘जन्मेकै ठाउँको सपना देख्छु’: विनिता लामिछाने

म्यूजिक खबर
प्रकाशित: २६ जेष्ठ २०७४, शुक्रबार

जेठ २६, काठमाडौं । गीतसंगीतमा लाग्ने कोही पनि व्यक्ति पहिला नै गायक, गायिका नै बन्छु भनेर लाग्ने न्यून छन् । रहर सबैमा हुन सक्छ तर पेशाका रुपमा अरु नै सोच्ने र रहरै रहरमा संगीत क्षेत्रमा लागेर नाम, दाम कमाउनेहरु पनि धेरै छन् । त्यो रहरको विधाका रुपमा लिएकी गायिका हुन् विनिता लामिछाने ।

सौरपानी, ३ गोरखामा जन्मिएकी गायिका लामिछानेको सांगीतिक यात्रा भने कलेजको वेलकम कार्यक्रमबाट नै सुरु भएको हो । चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसमा २०६१ सालमा भएको वेलकम कार्यक्रममा गीत गाएपछि उनले अन्य प्रतियोगिताहरुमा पनि भाग लिँदै आइन् । पहिलो गोरखा महोत्सव, चितवन महोत्सव, रत्ननगर महोत्सव, टुबोर्ग दोहोरी, किङफिसर दोहोरी, खुलामञ्चमा आयोजना हुने ल्होसार दोहोरी प्रतियोगितामा भाग लिँदै दोहोरीको यात्रा तय गरेकी हुन् । धेरै प्रतियोगितामा भाग लिए पनि रत्ननगर महोत्सव दुई पटकसम्म पहिलो स्थान हासिल गर्न सफल भएकी थिइन् लामिछानेले । चितवनमा हुँदा प्रत्यक्ष दोहोरीका धेरै कार्यक्रममा उनले गीत गाइन् भने कालिका एफएम, सिनर्जी एफएममा हुने लाइभ दोहोरीमा उनी भिड्ने गर्थिन् ।

Lamichhane-Binita
उनले पहिलो पटक गीत गाउँदा सबैले तारिफ गरे । गोरखाको मान्छे तिमी त राम्रो दोहोरी गाउन सक्छौं भन्थे । शब्दचयन र स्वर पनि राम्रो रहेछ भन्थे तर आफूलाई कस्तो स्वर राम्रो हो भन्ने थाहा थिएन । सबैले तत्कालिन समयमा राम्रो भन्थे तर आफूलाई दोहोरी गायिका नै बनेर जीवन चलाउँछु भन्ने कहिल्यै मनमा थिएन, उनले भनिन् । पहिला सिरियस रुपमा यस क्षेत्रलाई लिएकै थिइनँ, प्रतियोगितामा भाग लिँदा मात्रै ध्यान दिइन्थ्यो । कसरी राम्रो गर्ने, जित्नका लागि कस्तो शब्द प्रयोग गर्ने भन्ने हुन्थ्यो । पछि मानव वेचबिखनसम्बन्धी, कमलरी प्रथा, सर्कसमा बालबालिका, वैदेशिक रोजगार, इन्डियामा बेचिएका चेलीको विषयमा विभिन्न कासामाजिक संस्थाको रिसर्चको गर्दै जाँदा पनि जुन विषयको रिसर्च गरियो त्यसमै गीत गाएर उनीहरुको मनलाई पनि केही क्षण भए पनि आनन्दित पार्दै जाँदा आफू गायनमै जानु पर्छकी जस्तो पनि लाग्थ्यो गायिका लामिछानेले भनिन् ।

मनमा गायन रुची बढ्दै थियो तर काम अर्कैतिर भयो । त्यतिबेला गायन भन्ने कुरा रहरको मात्रै थियो, अहिले थाहा भयो आफू सरहका साथीहरु गायनमै चम्किँदा यही क्षेत्रमै लाग्नुपर्ने रहेछ भन्ने, उनले भनिन् – ‘साथीहरु यही क्षेत्रबाट बाँचिरहेका छन् भने म पनि सफल हुन्थे जस्तो लाग्छ । पढ्दै र सामाजिक संस्थामा लाग्दा लाग्दै गर्दा गाएर बाँचिएला जस्तो पनि लागेन, आत्मसन्तुष्टिका लागि मात्रै गाइयो ।’

२०१३ मा मिलन लामाको शब्द, भाकामा जोर मादल घनन गीत रेकर्ड गरेपछि उनको गायनमा रेकर्डको यात्रा सुरु भएको हो । सामाजिक क्षेत्रमा काम गर्दागर्दै उनी युरोपतर्फ लागिन् । युरोपमा ६ वर्ष बसाईमा पनि उनले गाउने कामलाई निरन्तरता दिँदै आएकी छन् भने बेला बेलामा नेपाल प्रवेश गर्दै रेकर्ड गराउने काम चलिरहेको छ उनको ।

Binita Lamichhane1

युरोपको बसाईबाट केही समयका लागि नेपाल आएको मौका छोप्दै गायिका लामिछानेले पछिल्लो समयमा चार वटा गीत रेकर्ड गराएकी छन् । अर्जुन पोखरेलको संगीतमा मेरो मनै नेपाली छ आधुनिक, थानेश्वर गौतमसँग रोइला ठट्यौली लोकभाका, कुलेन्द्र वि.क.सँग तिमी झैं मायालु हुन्नन् सबै त दोहोरी रेकर्ड गराउन सफल भएकी छन् । शिव सुवेदीको शब्दमा रहेका यी गीतहरुको म्यूजिक भिडियोमा पनि उनी आफैं अभिनय गरेकी छन् । युरोपमा नेपाली सामान ह्याण्डीक्राफ्टको व्यापारमा युरोप छिरेकी गायिका लामिछाने अहिले नेपाल हाउसकी संचालिकाको रुपमा चिनिन्छिन् । व्यापारसँगै ब्यूटीपार्लरको व्यवसाय पनि संचालन गरिरहेकी छन् । युरोमा हुने विभिन्न सांगीतिक कार्यक्रम हुँदा सहभागी उनीभित्र पुराना दिनको स्मरण हुने गरेको छ ।

लोकदोहोरी प्रतिष्ठान युरोप शाखाको कोषाध्यक्ष समेत रहेकी गायिका लामिछानेलाई बेलाबेलामा नेपालीपनको अभाव हुन्छ हुने गरेको छ । नेपालको महत्व बढ्छ, मिस गरिन्छ तर मुलुकको अवस्था सधैं संक्रमणकालमा रहेर विकास हुन नसकेकोमा पनि चिन्तित छन् उनी । विदेशमा रहे पनि उनी सपना भने जन्मेको ठाउँको नै देख्ने गर्छिन् । आफू जन्मेको र हुर्केको ठाउँको अभाव मनमा भइरहन्छ, युरोपको विकासमा रमाए पनि आत्मा नेपालमै छ, गायिका लामिछानेले भनिन्– ‘जन्मेको, हुर्केको ठाउँ, मेलापात र स्कुले जीवन, वनजंगल गर्दाको क्षण सम्झिँदा त्यो बाल्यकालमै फर्कन पाए हुन्थ्यो जस्तो लाग्छ ।’

–म्यूजिक खबर पाक्षिकबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु