टलकजंग VS टुल्के : ट्रेलर र गीत सार्वजनिक (ट्रेलर हेर्नुस्)

म्यूजिक खबर
प्रकाशित: २५ आश्विन २०७१, शनिबार

काठमाडौं, २५ असोज । फिल्म ‘लुट’का निर्देशक निश्चल बस्नेत निर्देशित दोस्रो फिल्म ‘टलकजंग भर्सेस टुल्के’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रवार राजधानीस्थित राइजिङमलमा रहेको क्यू सिनेमाजमा फिल्मको ट्रेलर सार्वजनिक भएको हो ।
साहित्यकार बुद्धिसागरले सहजीकरण गरेको कार्यक्रममा फिल्म राम्रो बनेकोप्रति निश्चलको अघिल्लो फिल्मका निर्माता माधव वाग्ले ढुक्क देखिए । यसपल्ट वितरकको भूमिकामा रहेका उनले भने, ‘राजको छोरा जस्तो भएपनि राजकुमार नै हुन्छ ।’
अघिल्लो फिल्मले दिलाएको साख कायम राख्ने चुनौती निश्चलका सामू छ । तर, फिल्मको अन्तिम काम भइरहँदा निश्चल कन्फिडेन्ट देखिएका छन् । प्रविधि र परिस्थितिका कारण नेपालमा सोचलाई दुरुस्त उतार्न नसकिने अननुभन सुनाउँदै भने, ‘अघिल्लो फिल्ममा सोचको ६० प्रतिशत मात्रै फिल्ममा उतार्न सकिएको थियो, योपल्ट १० प्रतिशत थप भएर ७० प्रतिशत दिन सकिएको छ ।’
उक्त नाटकका लेखक खगेन्द्र लामिछानेले फिल्ममा रुपान्तरण मात्रै गरेका छैनन्, शिर्ष पात्र टुल्केको भूमिकामा पनि छन् । मञ्चीय मात्रै होइन, रेडियो नाटकमा पनि रुचाइएका लेखक खगेन्द्रको भित्री चाहना कलाकार बन्ने रहेछ । त्यो सपना अहिले आएर साकार भएको बताए । उनले भने, ‘फिल्मको टुल्के र मेरो संघर्षमा एक रुपता छ, म कलाकार बन्न चाहन्थेँ तर निर्देशकले मेरो लुक्स हेरेरै टार्थे ।’ मान्छेको क्षमता भन्दा अनुहार हेरेरै मूल्यांकन गर्ने नेपालीको परिपाटीलाई उनले ठट्यौलो तरिकाले प्रस्तुत गरे ।
चर्चित नाटकलाई फिल्ममा रुपान्तरण गरिएको ‘टलकजंग भर्सेस टुल्के’मा एउटा पात्रको संघर्षका कथा उनिएको छ । गण्डकी अञ्चलको भाषा र भेष छ फिल्ममा । फिल्ममा थारु युवतीको भूमिकामा रहेकी ऋचा शर्माले त्यो क्षेत्रको लवजका लागि आफूले मिहनत गर्नुपरेको बताइन् । भनिन्, ‘थारु गाउँमैं जन्मेहुर्केकाले लुक्स त्यस्तो बनाउन गाह्रो भएन, तर त्यो क्षेत्रको लवज निकाल्न अलि मिहनेत गरेँ ।’
त्यसैगरी फिल्म ‘साँघुरो’बाट आफूलाई प्रमाणित गरेका अभिनेता शुशांक मैनालीले थिएटरका कलाकारसँग काम गर्दाको रमाइलो अनुभव बाँडे ।
फिल्मका कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ नेपाली फिल्मकर्मीको आपसमा रहने गरेको कटुताप्रति चिन्तित देखिए । एकले अर्काको कामको प्रशंसा गर्न हिचकिचाउने मात्रै होइन, फिल्मवालाको साख समाजमा पनि कमजोर रहेको अनुभव पहिलो फिल्म निर्माणबाटै गरेको बताए । उनले भने, ‘सानो केक बनाएर त्यसैमा लुछाचुँडी गर्ने होइन, केक नै ठूलो बनाउन लागि परौं ।’
फिल्मको ‘नाँच न मैयाँ नाँच’ भन्ने आइटम गीत यसअघि नै रिलिज भइसकेको छ । मेनुका प्रधानले नाँचेको गीतले प्रशंसा बटुलेको थियो । फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, ऋचा शर्मा, रबिन्द्र सिंहलगायतको मुख्उ अभिनय छ । फिल्म कार्तिक १४ गते रिलिज हुँदैछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु