डनसँग मोडलको हिमचिम

म्यूजिक खबर
प्रकाशित: १६ फाल्गुन २०७०, शुक्रबार

काठमाडौंको सोह्रखुट्टेमा १४ पुसमा राधे भण्डारी नामका ‘दादा’ माथि तरबार प्रहार गरेर फरार रहेका अर्का ‘दादा’ दिनेश अधिकारी (चरी) ले चढ्दै आएको बा १० च ५९९३ नम्बरको गाडी पूर्व मिस टीन र समाजसेवामा सक्रिय खुश्बु ओलीको ललितपुर धापाखेलस्थित घरबाट प्रहरीले ९ माघमा बरामद गरेको थाहा भएको छ । ४ माघमा ललितपुर धापाखेल हाइटमा नेपाली कांग्रेसका कार्यकर्ता मीनकृष्ण्ँ महर्जन र मिलन सिलवालमाथि भएको गोली प्रहारको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले ‘चरी’को गाडी ओलीको घरबाट बरामद गरेको हो । मोटरसाइकलमा आएका दुई व्यक्तिले महर्जन र सिलवाललाई गोली प्रहार गर्दा उनीहरु घाइते भएका थिए । ‘चरी’ ले घटना गराएको आशंकामा खोजी गर्दा उनी चढ्ने गरेको भक्स वागन गाडी खुश्बुको घरमा फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका एक प्रहरी अधिकृतले बताए । उनले भने, ‘घटना भएको तीन दिनअघि चरीले गाडी उनकी साथी खुश्बु ओलीको घरमा छाडेर हिंडेका रहेछन् ।’
करीब रु.९० लाख बराबरको सोही गाडी चढेर धादिङबाट काठमाडौं आउँदा ‘चरी’ माथि २२ असार २०७० मा राधे भण्डारीको समूहले नैकापमा गोली प्रहार गरेको थियो । गोली उनको दाहिने हातको पाखुरामा लागेको थियो । आफूमाथि भएको आक्रमणको बदला लिन १४ पुसमा उनले राधे माथि आक्रमण गराएका थिए । चारवटा मोटरसाइकलमा गएको समूहले राधे भण्डारीलाई लखेटेर तरबार प्रहार गरी घाइते बनाएका थिए । प्रहरीका अनुसार ललितपुरको गोली प्रहारका पीडितले ‘चरी’ को नाम नलिएकाले उनको संलग्नता पुष्टि भइसकेको छैन । सो घटनामा विभिन्न अपराधमा फरार रहेका अर्का ‘दादा’ रमेश बाहुनको संलग्नता रहेको आशंका छ । एमाले धादिङ क्षेत्र नम्बर १ का उपाध्यक्ष समेत रहेका दिनेश अधिकारी (चरी) हाल भारत हुँदै सिंगापुर पुगेको बताइन्छ । राजेन्द्र श्रेष्ठको नाममा रहेको बा १० च ५९९३ नम्बरको गाडी डेढ वर्षअघिदेखि ‘चरी’ ले नै चढ्दै आएका थिए । यसबारेमा हिमाल ले खुश्बु ओलीसँग सम्पर्क गर्दा उनले गाडी आङ्खनो घरबाट प्रहरीले लगेको बताउँदै दिनेश परिवारकै सदस्य जस्तो भएको बताइन् । प्रहरीले गाडी लैजाँदा विदेशमा रहेकी उनको भनाइ थियो, ‘मेरो घरबाटै प्रहरीले गाडी लिएर गएछ । प्रहरीले लैजाने भनेपछि मेरो बुबाले नै गाडी दिनुभएको हो ।’

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु