डिजिटल फिल्म सम्बन्धि पाँच दिने कार्यशाला सम्पन्न

म्यूजिक खबर
प्रकाशित: ४ बैशाख २०७१, बिहीबार

पोखरा । चलचित्र निर्देशक समाजको आयोजनामा पोखरामा भएको पाँच दिने ‘डिजिटल फिल्मिङ’ सम्बन्धि कार्यशाला मंगलबार सकिएको छ । नेपाली फिल्म उद्योगका महानायक राजेश हमालले उद्घाटन गरेर शुरु भएको कार्यशालालाई मंगलबार पश्चिमाञ्चल क्षेत्रीय प्रहरी प्रमुख बमबहादुर भण्डारीले क्ल्याप हानेर समापन गरेका थिए । समापन कार्यक्रममा बोल्दै पश्चिमाञ्चल क्षेत्रीय प्रहरी प्रमुख भण्डारीले प्रविधिको विकाससंगै नेपाली फिल्म पनि अपडेट हुँदै जानुपर्नेमा जोड दिए । संगसंगै नेपाली फिल्मले नेपालको पर्यटन प्रबद्र्धनमा पनि विशेष ध्यान दिनुपर्ने आवश्यकता उनले औँल्याए । ‘नेपाल प्राकृतिक रुपमै फिल्मको लागि बनेको एउटा स्टुडियो जस्तो छ ।’ उनले भने–‘नेपाली फिल्मकर्मीहरुले यसलाई सदुपयोग गर्नुपर्ने देखिन्छ ।’

कार्यशालामा सहभागि भएका पाका फिल्म निर्देशक लक्ष्मीनाथ शर्माले डिजिटल प्रविधिमा फिल्म बनाउनका लागि पाँच दिनसम्मको सिकाई निकै महत्वपुर्ण रहेको बताए । ‘हामीलाई डिजिटल प्रविधिको विषयमा कार्यशालाले धेरथोर सिक्न सघाएको छ ।’ उनले भने–‘आगामी फिल्म गर्नका लागि हामीला ई सजिलो भएको छ ।’ डिजिटल क्यामेराको प्रयोगको बारेमा अन्य फिल्म निर्देशकले पनि सिक्नुपर्नेमा उनले जोड दिए । नेपाल चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले कार्यशालाबाट सिकेको प्राविधिक ज्ञानको आधारमा फिल्मको स्तरोन्नतीतर्फ निर्देशकहरु लाग्नुपर्ने बताए । उनले प्रविधिको सहि प्रयोगले मात्रै फिल्मलाई राम्रो बनाउन सकिने बताउँदै हरेक निर्देशकले यस्तो ज्ञान लिन जरुरी रहेको उल्लेख गरे ।

नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डिसीले पाँच दिने कार्यशाला निकै फलदायी भएको सुनाए । डिजिटल प्रविधि भित्रिएको लामो समय भएपनि यसको सहि प्रयोग नजान्दा नेपाली फिल्मको स्तर बढ्न नसकेको उल्लेख गर्दै उनले कार्यशाला पश्चात यसमा सकारात्मक लक्षण देखिने विश्वास दिलाए । पाँच दिने कार्यशालाको सहजीकरण हलिउडबाट आएका दुईजना प्रशिक्षकहरुले गरेका थिए । जस्टिान डि ओ निल र जेम्स ईभान एगर्टनले पाँच दिने कार्यशाला निकै राम्रो भएको प्रतिक्रिया दिए । ‘प्रशिक्षार्थीहरुले निकै मेहेनत गरेर सिकेका छन्, कार्यशाला अवधीभर उनीहरुले देखाएको चासोले फिल्मप्रतिको उनीहरुको लगाव देखाउँछ ।’ प्रशिक्षकहरुले बताएका छन् । समापन कार्यक्रमको संचालन भने समाजका कोषाध्यक्ष सुमन दाहालले गरेका थिए ।

digital film workshop digital film workshop2 digital film digital film workshop4 digital film workshop1

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु