डेढ दर्जन गीतसँगै गुन्जियो अन्जुको एकल साँझ

म्यूजिक खबर
प्रकाशित: २४ भाद्र २०७४, शनिबार

२४ भाद्र २०७४, काठमाडौं । सदाबहार गायिका अन्जु पन्तको आज सम्पन्न एकल साँझमा डेढ दर्जन गीतहरु गुन्जिए । अन्जुको स्वर सुन्नका लागि आतुर स्रोताहरु नेपाल प्रज्ञा भवनको हलमा खचाखच थिए । बस्ने ठाउँ नपाएर हलमा हिंड्ने बाटोसमेत थिएन । गायिका पन्तलको आफ्नै नाममा खोलिएको फाउन्डेसन र म्यूजिक रेकर्डिष्ट एसोसिएसनको संयुक्त आयोजनामा भएको उक्त एकल साँझ कार्यक्रममा बेलुका ४ः३० बाट भनिए पनि एक घन्टा ढिलो गरी सुरु भएको थियो । तर अन्जुको स्वर सुन्नका लागि टिकट किनेर प्रतिक्षामा रहेका संगीतप्रेमीहरु भने करिब चार घन्टा लामो समय सँगै भएर साथ दिइरहेका थिए ।


बग्गीमा चढेर आएकी कोकीलकण्ठी गायिका अन्जुले हल प्रवेश गर्दा निलो र सेतो रंगको मिश्रित सारी अनि रातो रंगको बुट्टे ब्लाउज लगाएकी थिइन् । उनले त्यहि ड्रेसमा ८ वटा गीत प्रस्तुत गरेकी थिइन् । करिब २१ जना बाद्यवादकहरुसँगै प्रस्तुत भएकी गायिका पन्तले म मरे पनि मेरो देश…बोलको गीतबाट एकल साँझको पर्दा खोेलेकी थिइन् ।

त्यसपछि लगातार – कसले चो¥यो मेरो मन, तिमी बिना एक पल, म यस्तो गीत गाउँछु, पल पल रोएँ जिन्दगीमा, तिम्ले पराई ठानेपछि, मन मनै योगी बनाउ –भजन, यस्तो पनि हुँदो रैछ, गीतहरु गाएकी थिइन् । उनले गीत गाइरहँदा दर्शक दिर्घाबाट सम्मानीत, प्रेमील साथ पाइरहेकी थिइन् । दर्शकहरु ताली बजाएर यो भाव प्रकट गरिहेका थिए ।

दोश्रो चरणमा साँझको ७ बजे रातो गाउनमा नेटको आउटर लाएर थप सुन्दरता सहित स्वरको जादु पस्किन अन्जु स्टेजमा प्रवेश गर्दा दर्शकहरु थप रोमाञ्चीत बनिरहेका थिए । उनले यसपछि गीत अनुसारको शारीरिक हाउभाउले समेत आफ्नो प्रस्तुतिलाई उत्कृष्ट बनाएकी थिइन् । यस चरणमा उनले ९ वटा गीतहरु गाएर दर्शकलाई मन्त्रमुग्ध पारेकी थिइन् ।

सागर सरी चोखो माया, कहाँ भेटिएला, मेरा आशक्तिका भावना, नबिर्से तिमीलाई नपाएँ तिमीलाई, तिमी कस्को हुने होला, तिमी बिना एक पल पनि, तिर्खा लाग्यो पानी खाएँ, गोर्खा पल्टन, सुर्के थैली लगायतका गीतहरु प्रस्तुत हुँदा दर्शकदीर्घाबाट वाही वाही मिलेको थियो ।


गायिका पन्तले आफूले पहिलोपटक एकल साँझ गरिरहँदा धेरै गल्ती भइरहेको हुन सक्ने बताउँदै क्षमा माग्दै प्रस्तुति दिइरहेकी थिइन् । जति उनले प्रस्तुति दिँदै गइन् उनलाई दर्शकदीर्घाबाट उत्तिकै हौसला मिलिरहेको थियो । गायिका पन्तलाई कोरसमा चार जना गायिकाहरुले साथ दिएका थिए भने नेपाली तारा सिजन ३ का सुरेश लामाले स्वरमा साथ दिएका थिए ।


अन्जु पन्त फाउन्डेशन र म्यूजिक रेकर्डिष्ट एसोसिएसनको संयुक्त आयोजनामा भएको यस एकल साँझबाट आएको आम्दानीलाई समाजसेवामा लगाउने आयोजक संस्थाको तर्फबाट अध्यक्ष दीप तुलाधरले बताए । अध्यक्ष तुलाधरले रेकर्डिष्टहरु पनि एकजुट भएर अगाडि बढ्नुपर्छ भन्ने भावनाका साथ संस्था गठन भएको बताउँदै गायिका पन्तको एकल साँझ गर्न पाएकोमा खुशी प्रकट गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु