लक्ष्मीनाथ विशिष्ट, शान्तिप्रियलाई वरिष्ठ, फूलमानलाई युवा पुरस्कार, दीपाश्री र विनोदलाई सम्मान

म्यूजिक खबर
प्रकाशित: २७ मंसिर २०७४, बुधबार

२७ मंसिर, काठमाडौं । ड्रिमवल्र्ड अफ फिल्म मेकर्स प्रा.लि.ले पूर्व घोषणा गरे अनुसार पाँच जना चलचित्रकर्मी एवं पत्रकारलाई श्याम–सुनिता मुखिया चलचित्रकर्मी पुरस्कार एवं सम्मान प्रदान गरेको छ । काठमाडौंमा आज एक कार्यक्रमको आयोजना गरी उक्त सम्मान एवं पुरस्कार प्रदान गरिएको हो । श्याम–सुनिता मुखिया चलचित्रकर्मी विशिष्ट पुरस्कार वरिष्ठ लेखक तथा निर्देशक लक्ष्मीनाथ शर्मालाई प्रदान गरिएको छ । त्यस्तै सोही कार्यक्रममा श्याम–सुनिता मुखिया वरिष्ठ चलचित्रकर्मी पुरस्कार वरिष्ठ पत्रकार एवं गीतकार शान्तिप्रियलाई प्रदान गरियो भने उक्त कार्यक्रममा श्याम–सुनिता मुखिया युवा चलचित्रकर्मी पुरस्कार रङ्ग पत्रकार फूलमान वललाई प्रदान गरिएको छ ।

पुरस्कारका अलावा सोही कार्यक्रममा जलदीबल्दी यतिखेरकी चर्चित निर्देशक दीपाश्री निरौला र ओस्कार फिल्म कलेजका प्रिन्सिपल विनोद पौडेललाई सम्मान गयिो । कार्यक्रममा सभापति सुनिता मुखियाले पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरुलाई टीका लगादिएकी थिइन् भने कार्यक्रमका विशेष अतिथि सुनिल मुखियाले पुरस्कृत तथा सम्मानितहरुलाई माला अर्पण गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि चेतन कार्कीले पुरस्कृत तथा सम्मानितलाई प्रमाणपत्र प्रदान गरेका थिए । सोही अवसरमा लक्ष्मीनाथ शर्मा तथा शान्तिप्रियलाई प्रमाणपत्र सहित १५५५५÷– को थैली पनि हस्तान्तरण गरिएको थियो भने फूलमान बललाई १११११÷– प्रदान गरिएको थियो । सम्मानितद्वय दीपाश्री निरौला र विनोद पौडेललाई प्रमाणपत्र तथा दोसल्ला सहित सम्मानित गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कार्कीले कार्यक्रमको गरिमाप्रति मन्तव्य प्रकट गरेका थिए । सम्मानले व्यक्तिको मूल्याङ्कन हुने र सही व्यक्ति छनौट समेत गरिएको कार्कीले बताए । कार्यक्रममा विशिष्ट अतिथिहरु नेपालको पहिलो चलचित्रका त्रिमूर्ति अभिनेत्रीहरु भुवन चन्द, बसुन्धरा भुसाल तथा चैत्यदेवीले कार्यक्रमलाई शुभकामना प्रदान गर्दै आयोजक सवनम मुखियाको समेत प्रसंशा गरेका गरेका थिए । सोही कार्यक्रममा अतिथिको आसनबाट बोल्दै लेखक÷निर्देशक निर्देशक मोहन निरौला तथा प्राविधिक तथा निर्देशक प्रदीप उपाध्यायले कार्यक्रमको निरन्तरताको कामना गरेका थिए । कार्यक्रममा आयोजक संस्थाकी सदस्य सचिव एवं नेपालकै पहिलो छायाँकार सवनम मुखियाले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमबारे प्रष्ट पारिन् । केही अघिदेखि नै यसरी सम्मान एवं पुरस्कारको सुरुवात गर्न नखोजे पनि विभिन्न पारिस्थितिले नमिलेको तर अब नियमित सम्मान एवं पुरस्कार गरिएको बताइन् ।

कार्यक्रममा सम्मानपछि बोल्दै दीपाश्री निरौलाले पहिलो महिला छायाँकारका रुपमा सवनम मुखियालाई नै सम्मान गर्नुपर्ने भन्दै आफूलाई लगाइदिएको माला लगाइदिएकी थिइन् भने आफूलाई कला क्षेत्रमा ल्याउने र स्थापित गराउने लेखक निर्देशक मोहन निरौलालाई सम्मान स्वरुप आफूले लगाएको दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् । सम्मानित र पुरस्कृतहरु व्यक्तित्वहरुले आफूलाई सम्मानीत एवं पुरस्कृत गरेकोमा संस्थाप्रति आभार प्रकट गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु